आन्तरिक विमानस्थलको स्थलगत अनुगमन



मोतीराम तिमल्सिना, काभ्रे
जिल्लाको बनेपा र धुलिखेल नगरपालिकाका विभिन्न स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलका रूपमा आत्तरिक उडान भर्ने विमानस्थल निर्माणका लागि स्थानहरूको स्थलगत अनुगमन गरिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र नागरिक उड्डयन प्राधिकरणको विज्ञ टोलीले बनेपा नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा पर्ने नागिडाँडा, धुलिखेल नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने ठुली चौर र धुलिखेल नगरपालिका वडा नम्बर ११ को चिसापानी ठुलीचौरमा रहेको जग्गाको स्थलगत अनुगमन गरेको हो। स्थलगत अनुगमन अगाडि प्राविधिक टोलीले सोही स्थानको सम्भाव्यता अध्ययन गरेको थियो।

‘त्रिभुवन विमास्थलको चापलाई न्यूनीकरण गर्न राजधानीनजिकको जिल्ला काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने उद्देश्यले स्थलगत अनुमगन गरिएको हो’,मन्त्री अधिकारीले भने– ‘दुई दिनभित्र अध्ययन समिति गठन गरी १५ दिनभित्र जिल्लाको कुन स्थानमा विमानस्थल बनाउन उपयुक्त छ, प्रतिवेदन पेश हुनेछ।’ सरकारले सोही प्रतिवेदनका आधारमा १ सय दिने कार्ययोजना र आगामी वर्षको बजेटभित्र समावेश गरी विमानस्थल निर्माणको काम छिटो हुने विधिबाट शुरु गर्ने मन्त्री अधिकारीले बताए।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले १६ वर्ष अघि बोकेको संकल्प जिल्लाको संमृद्धिका लागि विमानस्थल भन्ने नारालाई वर्तमान सरकारले आवश्यकताकै आधारमा काभ्रेपलाञ्चोक जिल्ला छनोट गरेकोमा सिड्डो जिल्लाबासीको तर्फबाट धन्यवाद दिएका थिए। सरकारको तर्फबाट र जिल्लाको नागरिकहरूको प्रतिनिधिको हिसाबले पनि विगतदेखि उठाएको मुद्दालाई तत्काल कार्यान्वयन गर्नुपर्ने राज्यमन्त्री बास्कोटाले बताए।

बनेपा नगरपालिकामा रहेको नागीडाँडा जान राजधानीबाट नजिक छ। बनेपा, पनौती र बाँस्डोल हुँदै तीनवटा सडकबाट पुग्न सकिने उक्त क्षेत्रमा १४ घर धुरी बसोबास रहेको छ भने ६ हेक्टर जमिन मात्रै अधिग्रहण गर्दा ३४ हेक्टर जमिनमा विमानस्थल निर्माण गर्न सकिन्छ। वातावरणका हिसाबले उपयुक्त, ट्राफिकिङ, सडक आवागमन, चौडाइ, कटिड्ड, फिलिङ गर्न कम खर्चिलो र चट्टान पनि कम भेटिने सम्भावना रहेको नागीडाँडामा स्थानीयहरूको पूर्ण समर्थन छ।

२० वटा जहाज राख्न सकिने गरी निर्माण गरिने उक्त विमानस्थलका लागि आवश्यक पर्ने १५ सय मिटर जमिनमा ८ सय मिटरको रनवे निर्माण गर्नुपर्छ। प्राविधिक हिसाबले समेत रुटको समस्या नभएको उक्त क्षेत्रमा विमानस्थल निर्माणका लागि उपयुक्त हुन सक्ने मन्त्री अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्