३३ केजी सुन प्रकरण, २८ जनाविरुद्ध आज मुद्दा दायर हुने



सरोज यादव, विराटनगर
३३ केजी सुन प्रकरण र सनम शाक्य हत्या अभियोगको अनुसन्धान गरिरहेको प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले आज बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान मिति सकिनु ३ दिनअघि नै मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने भएको हो।

उक्त सुन तस्करी प्रकरणमा हालसम्म २८ जना पक्राउ परेका छन् भने मुख्य आरोपी चूणामणि उप्रेती ‘गोरे’ सहित २१ जना फरार छन्। जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले प्रहरीले मिसिलको नक्कल बुझाएपछि अभियोग–पत्र तयार पार्ने काम भइरहेको जानकारी दिनुभयो।

प्रहरीले आइतबार नै मिसिलको नक्कल बुझाएको थियो। सोमबार र मंगलबार बिदाका कारण देखाउँदै प्रहरीले आइतबार नै मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले फारार रहेका गोरेसहित पक्राउ परेका २८ जनाविरुद्ध संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्ने भएको हो। बुधबार मुद्दा दाएर गर्नुपर्ने अन्तिम म्याद भएकाले पक्राउ परेका र फरारविरुद्ध अभियोग दायर गर्ने बताइएको छ।

गत फागुन १८ गते सुन तस्करको समूहले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेको थियो। हत्यापछि धरान हुँदै फागुन १९ गते विराटनगर आएको तस्कर समूहका टेकराज मल्ल ठकुरीले कुदाएको स्करपियोबाट शाक्यको शव फेला परेको थियो।

घटनामा संलग्न मोहन काफ्ले र कृष्ण भनिने नरेन्द्र कार्कीलाई इटहरीबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीन जना विरुद्ध गत फागुन १९ गते मुद्धा दायर गरेको मोरङ प्रहरीले आइतबार सम्म २८ जनालाई पक्राउ गरिसकेको छ।

आइतबार बहालवाला प्रहरी नायब उपरीक्षक प्रजित केसी विरुद्ध तीन दिन म्याद थप गरेको प्रहरीले सोही दिन अभियोग तयार पार्नका लागि मुद्धाको मिसिल सरकारी वलिकको कार्यालयलाई बुझाएको हो।

सुन तस्करीमा चुणामणि उप्रेती ‘गोरे’ लाई सघाएको आरोपमा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौलासहित बहालवाला प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय रायत, प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खडका पक्राउ परिसकेका छन्। बहालवाला ५ प्रहरीसहित विमानस्थल, एयरल्यान्सका कर्मचारी र तस्करका भरियासहित २८ जना प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्