महारानीको ठट्टा, ट्रम्प र ओबामाको हेलिकोप्टरसँग तुलना



लन्डन, (एजेन्सी)
उनी विश्वकै महारानी हुन्। महारानी एलिजावेथ द्वितीयको सार्वजनिक सम्बोधन मात्र पनि दुर्लभ हुने गरेको छ। यस अर्थमा हामीले उनको सार्वजनिक भाषण कमै मात्र सुनेका छौं। उनी कुनै जोक पनि गर्छिन् भनेर सोच्न पनि गाह्रो छ। तर ९१ वर्षीया महारानीले एक अन्तर्वार्ताका क्रममा जोक गरेकी छिन्। त्यो पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति बाराक ओबामालाई पात्र बनाएर।

‘द क्विन्स ग्रिन प्लानेट’ नामक एक नयाँ वृत्तचित्रमा बेलायती शासकले आफ्नो दबिएको हास्य स्वभावलाई उजागर गरेकी छिन्। आप्mना पनाति–पनातिनीसँगको रमाइलो क्षण, क्रिसमस ट्रीमा झुन्ड्याइएका गहना टिप्ने र जलवायु परिवर्तनसम्बन्धी छलफलका क्रममा महारानीले ओबामा र ट्रम्पलाई लिएर ठट्टा गरेकी थिइन्। महारानीले उनीहरूको तुलना आवाज निकाल्दै गरेका दुई हेलिकोप्टरसँग तुलना गरेकी थिइन्।

‘हामी कुरा गर्न चाहिरहेको बेला किन तिनीहरू चक्कर काटिरहेका हुन्?’ सर डेविड अटेन्बर्गसँग बकिंगम प्यालेसको निजी बगैंचामा टहलिँदै गर्दा माथि आकाशमा उडिरहेका हेलिकोप्टरका आवाजलाई संकेत गर्दै उनले भनिन्– ‘राष्ट्रपति ट्रम्प, पूर्वराष्ट्रपति ओबामा जस्तो छ।’

विगतको भ्रमणका क्रममा राष्ट्रपति चढेका हेलिकोप्टरले बकिंगम प्यालेसको जमिनमा अवतरणका क्रममा त्यहाँका बोटबिरुवालाई नोक्सान पु¥याएका थिए, त्यसैले पनि उनको यो टिप्पणी आएको हुनसक्छ।

ओबामाले आफ्नो राष्ट्रपतीय कार्यकालमा कयौंपटक बेलायतको भ्रमण गरेका थिए। तर ट्रम्पको औपचारिक बेलायत भ्रमण भएको छैन। राष्ट्रपति ट्रम्प महारानी एलिजावेथबीच वास्तवमा व्यक्तिगत भेट नै भएको छैन। तर ट्रम्पलाई सन् २०१६ मा उनीसँग भेट्नका लागि आमन्त्रित गरिएको थियो। ट्रम्पले गत वर्ष बेलायतको भ्रमण सारेका थिए। त्यतिबेला उनले महारानीको स्वर्ण लेपित बग्गीमा यात्रा गर्ने आग्रह गरेको भन्ने हल्ला चलेको थियो।

ट्रम्पले जनवरीमा दिएको एक अन्तर्वार्तामा आफू अक्टोबरमा राजकीय भ्रमणमा जाने र महारानी एलिजावेथसँग भेट्ने बताएका थिए। ओबामाले आफ्नो कार्यकालमा दुईपटक महारानीसँग भेटेका थिए। द क्विन ग्रिन प्लानेट अप्रिल १६ सोमबार आईटिभीबाट प्रसारण हुने भनिएको छ। अमेरिकामा यो कहिले प्रसारण हुन्छ थाहा भएको छैन।

प्रतिक्रिया दिनुहोस्