शिवराजलाई शैक्षिक धरोहर बनाउन जोड



सीताराम चौधरी, चन्द्रौटा, कपिलवस्तु

शिवराज नगरपालिकालाई शैक्षिक धरोहरको रुपमा स्थापित गर्न भर्ना अभियानलाई तीब्र बनाउनुपर्ने नगरस्तरीय अनुगमन समिति संयोजक एवं नगर उपप्रमुख शिवकुमारी थारुले जोड दिनुभएको छ ।

विद्यालय उमेरका बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउन सबैलाई अभियानमा लाग्नुपर्ने अपिल गर्नुभएको हो । आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गरी अभियान आफैंबाट शुरुवात गर्नुपर्ने समेत उपप्रमुख थारुले विचार व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार भएमा विद्यार्थीको स्वतः आकर्षण बढ्ने उहाँले तर्क राख्नुभयो । भर्ना अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरुको पनि प्रत्यक्ष सहभागिता रहने उपप्रमुख थारुले बताउनुभयो । बालश्रम, बालविवाह एवं विद्यालयको वातावरण छात्रामैत्री नहुँदा भर्ना अभियान सतप्रतिशत हुन नसकेको बताउँदै यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा अध्यक्षताको आसनबाट बोल्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले विद्यार्थी भर्ना अभियान न्यूनीकरण मात्र होइन शून्य (०) मा झार्ने दाबी गर्नुभयो । नगरक्षेत्रका सम्पूर्ण विद्यालयको अनुगमन गरी वास्तविक समस्यालाई मध्यनजर गर्दै समाधान गर्ने सिस्टमको विकास गर्ने नगरप्रमुख अधिकारीले विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख अधिकारीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरसफाईलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । आयमूलक, ज्ञानमूलक र व्यवहारिक शिक्षामा जोड दिंदै अब शिक्षामा सामाजिक, शैक्षिक र आर्थिक परिवर्तनको खाँचो रहेको उहाँले जिकिर गर्नुभयो ।

“हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा«” यस वर्षको शिक्षाको मूल नारा सहित विद्यार्थी अभियानमा सबैलाई सक्रिय भएर लाग्न स्रोतव्यक्ति देवेश प्रताप सिंहले अपिल गर्नुभयो । अभियानबारे जानकारी दिंदै स्रोतव्यक्ति सिंहले भर्ना अभियान बैशाख २ गतेबाट शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो– “बैशाख १४ सम्म विद्यालयमा भर्ना गर्ने र बैशाख १५ देखि ३० गतेसम्म घरदैलो गरी छुटेका बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउन पहल गर्नुपर्छ ।”

शिवराज नगरक्षेत्रभित्र अझै ११४ बालबालिका विद्यालय पहुँचबाट टाढा रहेकाले घरघरमा पुगी भर्ना अभियानलाई सफल बनाउन शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले सुझाव दिनुभयो । शिवराज नगरपालिकालाई पूर्ण विद्यालय भर्ना नगरपालिका बनाउन विद्यालय भर्ना अभियानमा विद्यालयका शिक्षक, जनप्रतिनिधिहरु सक्रिय भई लाग्नुपर्ने शिक्षा शाखा प्रमुख विश्वकर्माले बताउनुभयो ।

नगरलाई पूर्ण विद्यालय भर्ना बनाउन विद्यालयको आफ्नो क्षेत्रभित्रका घरधुरीहरुको सर्वेक्षण गर्ने, विद्यालयमा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्ने, पाठ्यपुस्तक वितरण गर्ने जस्ता कार्यहरु गर्नु पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो –“विद्यालय भर्ना पछि ३० प्रतिशत बालबालिकाले विद्यालय बीचमा छाड्ने भएको हुँदा भर्ना गरेर मात्रै नहुने विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न विद्यालयले रचनात्मक कार्यक्रमहरु गर्नुपर्छ । आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकलाई स्थानीय तहबाट पाइने सेवासुविधा रोक्का गरिने हुँदा सबै अभिभावकले अनिवार्य आफ्ना बालबालिकालाई पढ्न विद्यालय भर्ना गर्नुपर्छ ।” देशभरि ४ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको र यस नगरपालिकामा पनि विद्यार्थीहरु अझै पनि विद्यालय पहँुचभन्दा बाहिर रहेकाले उनीहरुलाई विद्यालय भर्ना अभियान मार्फत विद्यालयमा भर्ना गर्नु पर्नेमा शिक्षा शाखा प्रमुख वि.क.ले जोड दिनुभयो ।

अभिमुखीकरणमा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले विद्यार्थी भर्ना गरेर मात्रै नहुने विद्यार्थीको सिकाइमा गुणस्तर वृद्धि, आवश्यक भौतिक संरचना, दक्ष जनशक्ति लगानी जस्ता कुरामा नगरपालिकाले ध्यान दिनुपर्ने जोड दिएका थिए । कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेनको सहयोग तथा शिवराज नगरपालिकाको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्