घाइते हुँडारको उद्दार गरी उपचार



घाइते अवस्थामा भेटिएको हुँडारको उपचार गर्दै पशु स्वास्थ्यकर्मी । तस्विरः नरेन्द्र केसी/नेपाल समाचारपत्र

दाङ । पश्चिम दाङको एक गाउँमा भेटिएको घाइते हुँडारको घोराहीमा उपचार शुरु गरिएको छ ।

तुलसीपुर उपमहानगर ८ कटकुइयामा मंगलवार विहान अन्दाजी ६÷७ बर्षको पोथी हुँडार घाइते अवस्थामा भेटिएको थियो । घाइते अवस्थामा जंलबाट गाउँमा आएको हुँडारलाई गाउँलेहरुले नियन्त्रणमा लिएर गोठमा राखेका थिए । घाइते हुँडारले कसैमाथि आक्रमण नगरोस् भनेर उनीहरुले गोठमा राखेका हुन् ।

स्थानीयवासी र प्रहरीले जिल्ला वन कार्यालयमा सूचना गरेपछि सेक्टर वन कार्यालय तुलसीपुरका प्रमुख मुकुन्द अधिकारीको नेतृत्वमा घोराहीका सशस्त्र वन रक्षकसहितको टोली घाइते हुँडारको उद्दार गर्न गएको थियो । वन कार्यालयको टोलीले आपतकालीन उद्दार केजमा राखेर घोराही ल्याएपछि जिल्ला पशु सेवा कार्यालयमा उपचार शुरु गरिएको छ । हुँडारको टाउकोमा चोट लागेको छ भने बायाँ आँखा झरेको छ ।

प्राथमिक उपचार भइरहेको र यहाँ उपचार संभव नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा पु¥याइने जिल्ला वन कार्यालयले जनाएको छ । यही उपचार भए यसलाई बर्दिया राष्ट्रिय निकुञ्ज या काठमाडौंको चिडियाखानामा राख्न उपयुक्त हुने हुँडारका अनुसन्धानदाता चिरञ्जीवी खनालले जानकारी दिनुभयो । चोरी शिकारीको क्रममा गोली हानिएको हुनसक्ने उहाँले बताउनुभयो ।

यसको एकिन संख्या थाहा नभए पनि नेपालमै सबैभन्दा धेरै हुँडार दाङमा पाइने आफ्नो अध्ययनले देखाएको खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्