स्थानीय उत्पादनको बजारीकरण गर्न गाँउमै हाट बजार



धनवीर दाहाल, रुकुम ।

स्थानीय स्तरमा उत्पादन गरिएका बस्तुहरुको बजारीकरण गर्नका लागी रुकुमको बाँफिकोट गाँउपालिका २ का स्थानीयले गाँउमै हाट बजार लगाउन थालेका छन् । वाँफिकोट गाँपालिका वडा नं. २, जिपुमा हाट बजार लगाउन थालिएको हो । किसानहरुले उत्पादन गरेको कृषि उपजहरुको बजारिकरण गर्ने उद्देश्यले जिपुमा हाट बजार सुरु गरिएको हो ।

रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित कृर्षि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रर्बद्धन (पहल) कार्यक्रमको सहजीकरणमा हाट बजार लागेको थियो । अब प्रत्येक महिनाको दोस्रो शुक्रवार यहाँ हाट बजार लाग्ने छ ।

हाट बजारले यहाँ उत्पादन भएका बस्तुहरु र कृषि जन्य पदार्थहरु विक्रि वितरण सहज हुने र प्रचार प्रसारमा टेवा पुग्ने स्थानीय देउसरा केसीले बताइन ।

पहिलो दिन लागेको हाट बजारमा यहाँका किसानहरुले बन्दा, टमाटार, बदाम, सिन्की, काउँली लगाएतका कृषि उपजहरु ल्याएका थिए ।

बिस्तारै हाट मेलाका फाइदाहरु र प्रचार भयो भने डोका, मान्द्रा लगाएतका सामग्रीहरु पनि आउने स्थानीयको अपेक्षा छ । यस हाट बजारवाट, पिपल, पोखरा, वाँफिकोट, स्यालापाखा लगाएतका वासिन्दाहरुले सहभागि हुने छन् ।

प्रतिक्रिया दिनुहोस्