पूर्वराष्ट्रपति लुला सुरक्षाकर्मीको नियन्त्रणमा



ब्रासिलिया । ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।  ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समय सीमाभित्र उनले आत्मसमर्पण नगर्नु भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

 

झण्डै १२ वर्ष पुरानो विषयलाई लिएर लुलाले भ्रष्टाचारसम्बन्धी मुद्दा झेल्दै आएका छन्  भने त्यसलाई उनले अस्वीकार गरेका छन् ।  आउँदो अक्टोबरमा हुने भनिएको राष्ट्रपतीय निर्वाचनलाई मध्यनजर गरेर उनी विरुद्धको भ्रष्टाचारको मुद्दा आएको बताइएको छ ।

 

भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दामा लुलामाथि सरकारी तबरबाट अनुसन्धान भइरहेको छ । एउटा सरकारी भवन निर्माणसम्बन्धी सम्झौतामा उनले आफ्नो पक्षको कम्पनीलाई दिलाउने कार्यमा संलग्न भएको आरोप उनलाई लागेको छ ।

 

ब्राजिलको वर्कर्स पार्टी पिटीले पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वराष्ट्रपति लुलालाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदबार बनाउने घोषणा गत जनवरीमै गरेको थियो ।ब्राजिलमा आगामी अक्टोबरमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने तय गरिसकिएको छ ।

 

निर्वाचन पूर्वका सर्वेक्षणले आफ्ना प्रतिस्पर्धीका विरुद्धमा लुलाले नै सुविधाजनक र स्पष्ट जीत हासिल गर्ने देखाएका छन् । उनको सहभागिता बिनाको निर्वाचनको थोरै पनि कल्पना गर्न नसकिने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्