चुनावी समीक्षा सूक्ष्म गतिमा, बैठक अझै केही दिन लम्बिने



नेपाल समाचारपत्र
काठमाडौं
हालै सम्पन्न तीन चरणको निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि निर्वाचनको विस्तृत समीक्षा गर्न शुक्रबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने भएको छ। बैठकमा अहिलेसम्म २२ जना केन्द्रीय सदस्यले मात्र आफ्नो धारणा राख्न भ्याएका छन्।

पहिलो दिन तीन जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने दोस्रो दिन शनिबार ८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। चैते दशैंका कारण आइतबार बैठक स्थगित गरिएको थियो।

सोमबार बिहान नौ बजेदेखि बैठक आवान गरे पनि ढिलो मात्र बैठक शुरू भएको थियो। प्रतिनिधिसभा बैठकका कारण ४ जना केन्द्रीय सदस्यले धारणा राखेपछि दिउँसो तीन बजेपछि पुनः बस्ने गरी स्थगित भएको बैठक पुनः बसेकेको थियो। सोमबारको बैठकमा डा. शेखर कोइराला, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगानालगायत ११ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए।

बैठकको शुरूको दिन प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नारायण खड्काले बोलेका थिए भने दोस्रो दिन नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडु, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुेको कारणबारे स्पष्ट पारेका थिए। बैठकमा केन्द्रीय सदस्य डा. डिला संग्रौला, रमेश लेखक, लक्ष्मी परियार, सरिता प्रसाईं, जीवन परियार, रामकृष्ण यादव, गोविन्द भट्टराईले र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले पार्टी सुदृढीकरणका लागि समीक्षा गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले निर्वाचनमा पराजय भोग्नुपरेको मुख्य कारण नेतृत्वको कमजोरीलाई मुख्य जिम्मेवारी भएको बताएका थिए। पार्टी आन्तरिकरूपमा गुट उपगुटमा विभाजित भएर अत्यन्त कमजोर अवस्थामा पुगेको भन्दै उनीहरूले आरोप प्रत्यारोपमा अल्झनुभन्दा पनि आगामी कार्यदिशाका बारेमा स्पष्ट खाका आउनुपर्ने बताएका थिए।

कांग्रेस केन्द्रीय
समिति बैठक

केही सदस्यले भने आरोप–प्रत्यारोप गरेर मात्र नहुने भन्दै आफ्नो पदीय जिम्मेवारी र भूमिकाअनुसार सबैले जिम्मेवारी लिनुपर्ने जिकिर गरेका थिए।

सोमबारको बैठकमा लिखित धारणा राख्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले क्षेत्र र जिल्लाले निर्वाचनको समीक्षा गर्दा विभेद र मनमुटाव हुन सक्ने भन्दै १ सय ६५ क्षेत्रमै केन्द्रले प्रतिनिधि पठाएर सूक्ष्म ढंगले समीक्षा गरिनुपर्ने माग राख्नुभएको भएको थियो।

उहाँले पदाधिकारीहरू थपेर समस्या समाधान गर्ने सोच स्वीकार्य नहुने भन्दै वैशाख महिनाभित्र महासमिति बैठकको मिति तोक्न पनि आग्रह गर्नुभएको थियो। सभापति शेरबहादुर देउवाले २ महिनामा गर्ने काम २ वर्षसम्म पनि गर्न सक्नुभएको छैन भन्दै उहाँले अब पदाधिकारीको मनोनयन र विभाग गठनको कुनै अर्थ नहुने र नमान्ने बताउनुभएको थियो।

केन्द्रीय सदस्य कोइरालाले संविधानसभाबाट जारी गरिएको संविधानलाई नै च्यालेन्ज गर्ने गरी युरोपियन युनियनले गम्भीर र आपत्तिजनक प्रतिवेदन सार्वजनिक गरेर नेपाललाई जातीय द्वन्द्वमा लैजान लागेको बताउँदै यसले कतै नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको खेल मैदान त बन्दै छैन भन्ने प्रश्न गर्नुभएको थियो।

केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीभित्र गुट–उपगुट मौलाउँदै जानु, नीति र निष्ठाभन्दा पद र शक्ति सञ्चयलाई बढावा दिनुजस्तो कार्यले पार्टीलाई अत्यन्त कमजोर बनाएको र कार्यकर्तामा निराश उत्पन्न भएको बताउनुभएको थियो।

उहाँले भन्नुभयो– ‘चुनावको पराजयको आन्तरिक कारण मूलतः टिकट वितरण गर्दा बिनामापदण्ड, प्रभावकारी र पारदर्शी ढंगले वितरण गर्न नसक्नु हो भने हाम्रा चुनावी घोषणापत्र एवं एजेन्डा र रणनीति समयसापेक्ष जनतालाई आकर्षण गर्न नसक्नु पनि हो।’

निर्वाचन पराजयपश्चात् कांग्रेसभित्र यसको दोष कसले भोग्ने भन्ने विषयमा पार्टीभित्र तीव्र आलोचना शुरु भइसकेको अवस्थामा सबैले बिनाआग्रह र पूर्वाग्रह नयाँ ढंगले सोच्ने हो भने आ–आफ्नो पदीय जिम्मेवारी र भूमिकाअनुसार सबैले यसको दोष तथा जिम्मेवारी बहन गर्नै पर्ने उहाँको भनाइ थियो।

बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसले प्राविधिकरूपमा चुनाव हारे पनि लोकप्रिय मत भने नघटेको औंल्याउनुभएको थियो। आगामी दिनमा पार्टी संगठनलाई चुस्त दुरुस्त राख्दै अगाडि बढेमा आउँदो निर्वाचनमा कांग्रेसले गुमेको शाख फिर्ता गर्न सकिने र विजयी हुने भन्दै उहाँले सदनमा प्रमुख प्रतिपक्षको हैसियतमा आम जनताको मुद्दाहरूलाई जोडतोडकासाथ उठाउनुपर्ने पनि बताउनुभएको थियो। केन्द्रीय सदस्य लेखकले समसामयिक राजनीतिक विषयमा धारणा राख्दै युरोपियन युनियनको निर्वाचन परिवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनको आलोचना गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्