कामपा सुरु ग-यो स्मार्ट पार्किङ



ईश्वरराज ढकाल, काठमाडौं
काठमार्डौैँ महानगरपालिका (कामपा) ले आइतबारदेखि नयाँ सडकको धर्मपथ र बिशालबजार अगाडि स्मार्ट पार्किङ सुरु गरेको छ । पहिलो चरणमा दरबारमार्ग र नयाँ सडक क्षेत्रमा उक्त पार्किङ शुरु गरेको महानगरपालिकाले क्रमशः प्युखा, खिचापोखरी, धर्मपथ, पाको, दरबारमार्ग क्षेत्रमा बिस्तार गरिने बताएको छ ।

उक्त महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले योजनामा रहेका सबै पार्किङ सञ्चालनमा आएपछि एकपटकमा करिव ८ सयवटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने जानकरी दिनुभयो ।

महानगरपालिकाका अनुसार ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टमबाट सञ्चालन हुनेछ । नयाँ सडक जानुअघि उपभोक्ताले मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।

६ वर्षपछि पुनः सःशुल्क पार्किङ

ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगीले सवारी चालकलाई सहयोग गर्नेछन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधिलाई आवाजसहित रेकर्ड गरेर राख्न सक्छन् ।

उक्त प्रणालीबाट पार्किङ स्थान बुकिङ गर्न पार्क केटीएम मोबाइल एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । यो एप्लिकेसन एन्ड्रोइड र आईओएस दुवै सिस्टमका मोबाइलमा उपलब्ध हुनेछ । यो एप्लिकेसनमा पार्किङ गर्ने ठाउँको उपलब्धताका विषयमा जानकारी दिइनेछ । यसै सूचनाका आधारमा पार्किङ गरिने सवारीको प्रकार (२ वा ४ पाङ्ग्रे) को बटम थिचेर जानकारी दिनुपर्छ । आफूले पार्किङ गर्न चाहेको ठाउँ छानेपछि आफूले चाहेकोमा बुकिङ गर्न सकिन्छ ।

दुईपाङ्गे र चारपाङग्रेका लागि प्रतिघण्टा क्रमशः २५ र ८० रुपियाँ लाग्नेछ ।
मेयर विद्यासुन्दर शाक्यले पीओएस मेसिनबाट क्युआर कोडसहितको बिल प्रिन्ट गरेर आइतबार उक्त सेवा शुभारम्भ गर्नुभयो । सार्वजनिक निजी साझेदारी कार्यक्रम (पीपीपी) महानगरले ह्विल्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा सेवा शुरु गरेको हो । उहाँले स्थानीय र सरोकारवालासँगको लामो समय छलफलपछि सेवा सञ्चालन गरिएको बताउनुभयो ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्कीले स्मार्ट पार्किङमा गरिने अभ्यास, स्मार्ट सहरी व्यवस्थापनमा सिकाइ हुने विश्वाश गर्दै भन्नुभयो– ‘अहिले मोडलको रुपमा दुई क्षेत्रलाई छनोट गरेका छौ, यो मोडल सफल भएपछि अन्य क्षेत्रमा विकास गर्नेछौं ।’

६ वर्षपछि पुनः सःशुल्क पार्किङ
काठमाडौँ महानगरपालिकाले ६ वर्षपछि पुनः सःशुुल्क पार्किङ सुरु गरेको छ । महानगरवासी ठगिएको र पार्किङ ठेकेदारले मनपरी शुल्क असुलेको आरोप लगाउँदै कामपाले २०७० साल माघमा महानगरका ७३ स्थानमा उक्त पार्किङको व्यवस्था हटाएको थियो ।

कामपा प्रहरी प्रमुख डीएसपी धनपति सापकोटाले आइतबारदेखि नया सडक र दरबारमार्गमा सःशुल्क पार्किङ सुरु गरिएको स्पष्ट पार्दै क्रमशः थप ८३ स्थानमा उक्त व्यवस्था लागू गरिने जानकारी दिनुभयो । कामपाका अनुसार एकदुई दिनभित्रमा थप ५ स्थान र केही दिनपछि ५० भन्दा बढी स्थानमा पार्किङ खोल्ने तयारी भइरहेको छ ।

राजधानीको पार्किङलाई व्यवस्थित बनाउन नयाँ पार्किङ खोल्न लागिएको बताउँदै उहाँले थप्नुभयो– ‘हामीले कहाँ कसरी पार्किङ र कति संख्यामा सवारी साधनलाई पार्किङ स्थल दिने भन्ने विषयमा छलफल गरिरहेका छौ, निर्णय हुनासाथ खुला गर्नेछौ ।’

प्रतिक्रिया दिनुहोस्