पूर्व कप्तानको “कप्तान १९९८” विमोचन



नेपाल समाचारपत्र

काठमाडौं

पाली क्रिकेटको पहिलो पुस्ता क्रिकेटर एलबी क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’ को शुक्रबार काठमाडौंमा विमोचन गरिएको छ । विमोचन कार्यक्रममा एलबीबारे पूर्व क्रिकेटर र त्यससम्बन्धीका व्यक्तित्वहरुले एलबीका बारे आ–आफ्ना धारणा राखेका थिए । कितावका लेखक एलबीले भारतको पश्चिम बंगालदेखि नेपालगञ्ज हुँदै राष्ट्रिय टीमबाट खेल्दाको भोगाई, महिला क्रिकेटको शुरुवात र क्यानको राजनीतिका बारेमा पुस्तकमा समावेश गरिएको छ । सो पुस्तकले नयाँ पुस्तालाई समेत प्रेरणा दिने विश्वास लिएको छ ।

सो कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेले एलबी महिला क्रिकेटका पिता नै भएको बताउनुभयो । ‘२०६४ सालमा भैरहवामा नेपालगञ्ज र रुपन्देहीका बीचमा मैत्रीपूर्ण म्याच हुँदा एलबीले नै बोलाएर म हेर्न गएको थिए । नानीहरु साना साना थिए । यी साना नानीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्छन् कि सक्दैनन् भन्ने मलाई शंका लागेको थियो । तर, खेल हेरेपछि मेरो शंका दूर भयो, —पाण्डेले भन्नुभयो ।

पाण्डेले थप्नुभयो— ‘त्यहाँ खेल हेरेपछि मैले नेपाली नानीहरुलाई अन्तर्राष्ट्रिय खेलाउनु पर्छ भन्ने सोचे । सन् २००७ मा पहिलो पटक मलेसियामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो भएर नेपाली नानीहरुले देशको नाम उच्चो बनाए ।’

नेपाली क्रिकेटका जिउँदो इतिहास मानिने पाण्डेले बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्दै गर्दा त्यसको श्रेय एलबी क्षेत्रीलाई जाने बताउनुभयो ।

यस्तै एलबीपछिका कप्तान पवन अग्रवालले कलैयामा आयोजित सत्यनारायण मेमोरियल कपमा नै एलबीलाई चिनेको बताउनुभयो । ‘भारतमा खेलेर आएको खेलाडी बहुत राम्रो खेल्छ भनेर सत्यनारायण मेमोरियालमा एलबीको तारिफ भएको थियो, । अग्रवालले एलबीसंघर्षको अर्को इतिहास हो र अहिलेका युवा खेलाडीलाई ‘कप्तान १९९८’ पढ्न सल्लाह दिनुभयो ।

पूर्व कप्तान विनोद दासले एलबी क्षेत्रीको आत्मकथाले आफूहरुलाई पनि निरन्तर हिम्मत र आँट आउने बताउनुभयो ।

क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले खेलाडीको यो दोस्रो आत्मकथाले समग्र क्रिकेटको चिनारी प्रस्तुत गर्ने बताउनुभयो । क्रियटिभ बुक्सले यसअघि ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा प्रकाशित गरेको थियो । खेलकुदबाहेक समृद्धिको बाटो, पाइला पाइला उपन्यास र आर्थिक सम्बन्धी शून्यदेखि करोडपति प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्