फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने अवस्थाको अन्त्य जरुरी



काठमाडौैं, (नेस)
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरू फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्दतीको अन्त्य हुनुपर्ने बताउनुभएको छ।
संघीय संसद्का सांसदलाई कानुन तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाका बारे जानकारी दिन बुधबार संसद् भवन बानेश्वरमा आयोजित अभिमूखीकरण कार्यक्रमको उद्घाटनमा बोल्दै उहाँले सांसदलाई कानुन निर्माणमा सक्रिय बनाउन जनताका अन्य कामलाई सरकारले सहजीकरण गरिदिनुपर्ने बताउनुभएको हो।

‘सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ भन्ने देखाएको छ’, उहाँले भन्नुभयो– ‘जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र भ¥याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्।’

उहाँले जनताको काम बोकेर आउने सांसदको काम एकै ठाउँबाट हुन सकेमा सुशासनको नमुना त्यहीं हुने बताउनुभयो। अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार धेरै कानुन बन्न बाँकी रहेको बताउँदै कानुनको मस्यौदा समयमा तयार नपारेर संसद् र सांसदले अपजस खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गर्नुभयो।

त्यसैगरी सदन नचलेको समयमा चाहिएका पुस्तक पढ्न पाउने सुविधा भएकाले सिंहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सांसदलाई सुझाव दिनुभयो। संघीय संसद् भवन नयाँ बानेश्वरमा चल्ने २ दिने अभिमूखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको छ।
अभिमूखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद् सचिवालयको आधारभूत जानकारी, कानुन तर्जुमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानुन निर्माणलगायतका विषयमा प्रस्तुति हुनेछ।

प्रतिक्रिया दिनुहोस्