कांग्रेस जिल्ला सभापतिहरू सक्रिय, राष्ट्रिय भेलाका लागि प्रस्ताव तयार



रामकृष्ण चापागाईं, काठमाडौं
असारको पहिलो साता हुने कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेलामा संविधानसम्मत ढंगले पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मूल्यांकन पद्धति र संगठनात्मक व्यवस्थासम्बन्धी ठोस प्रस्ताव तयार पार्न तयारी स्वरूप जिल्ला सभापति नियमित छलफलमा जुटेका छन्। असारको पहिलो साता मकवानपुरको हेटौंडामा हुने सभापतिको भेलाले पार्टी विधान संशोधनको मस्यौदासमेत तयार पार्ने भएको छ।

असार ५, ६ र ७ गते हुने जिल्ला सभापतिको भेलाबाट तयार पारिने प्रस्तावका बारेमा छलफल गर्न मंगलबार पनि प्रदेश नम्बर ३ अन्तर्गतका जिल्ला सभापतिको बैठक बसेको थियो। कांग्रेस केन्द्रीय कार्यालयले समेत भेलामा गाउँ, वडा तथा नगर र महासमिति सदस्यको समेत सल्लाह र सुझावअनुसार प्रस्ताव तयार पार्न जिल्ला सभापतिलाई निर्देशन दिएको छ। जिल्ला सभापतिले नयाँ संविधान गठन भएको नयाँ संरचनामा तत्काल महाधिवेशन गरी पार्टीको नयाँ सांगठनिक संरचना बनाइने प्रस्ताव तयार गर्दै छन्।

काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार साविककै क्रियाशील सदस्यलाई आधार मानेर नयाँ गठन भएको ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचनबाटै नयाँ कार्यसमिति गठन गरिनेछ।
तदर्थ समिति र टिके प्रथालाई अन्त्य गरी १४औं महाधिवेशनसम्मका लागि भए पनि तहगत रूपमा नयाँ कार्यसमिति गठन गरी पार्टी संगठनलाई सशक्त रूपमा चलायमान बनाउँदै अघि बढाइने भन्दै जिल्ला सभापतिहरू छलफलमा जुटिरहेका छन्।

नयाँ संरचना सबैमा निर्वाचनमार्फत नै नेतृत्व छानी अघि बढ्दा एकपटक स्थानीय तहसम्म संगठन चलायमान हुने र धेरै नेता तथा कार्यकर्तामा जिम्मेवारीबोध उत्पन्न हुने काभ्रे जिल्लाका सभापति आचार्य बताउनुहुन्छ।

यस अघि १३औं महाधिवेशनमा चुनिएका महाधिवेशन प्रतिनिधिबाटै प्रदेश कार्यसमिति गठन गर्ने बारेमा पनि जिल्ला सभापतिले प्रस्ताव तयार पार्दै छन्। १४औं महाधिवेशनसम्म काम गर्ने गरी सातै प्रदेशमा प्रदेश समिति गठन विषयका साथै साधारण सदस्यको नामसमेत परिवर्तन गर्ने विषयमा सभापतिको छलफल अघि बढेको छ।

जिल्ला सभापतिहरूले साधारण सदस्यको सट्टा प्रारम्भिक वा आधारभूत सदस्य नाम राख्ने र पार्टीको सबै निकायमा अभिलेखीकरण राख्ने प्रस्ताव तय गर्दै छन्। साथै सभापतिको भेलामा क्रियाशील सदस्यता पनि दुई किसिमको बनाउने प्रस्ताव आउने भएको छ। अहिले रही आएको क्रियाशील सदस्यबाहेक अर्को विशिष्ट सदस्य बनाउने सभापतिहरूको प्रस्ताव छ।

कस्तालाई विशिष्ट सदस्य बनाउने भन्ने बारेमा मापदण्ड तयार पार्नुपर्ने भन्दै जिल्ला सभापतिहरूले छलफल अघि बढाएका छन्। पार्टीको विभिन्न पदमा बसेर जिम्मेवारी निर्वाह गरेको, विभिन्न आन्दोलनमा सक्रियताका साथ सहभागी भएको, गत स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा सक्रियताका साथ कार्य गरेको, छुवाछुत, महिला हिंसाजस्ता कुनै अभियोग नलागेको जस्ता मापदण्ड तयार पारेर विशिष्ट सदस्य प्रदान गरिने प्रस्ताव पनि जिल्ला सभापतिको भेलाले तयार पार्न लागेको बताइएको छ। निर्वाचनको माध्यमबाट ५ जना क्रियाशील सदस्य बराबर १ जना विशिष्ट सदस्य हुने गरी प्रस्ताव लैजान लागेको प्रदेश ३ का जिल्ला सभापतिहरूले बताएका छन्।

जिल्ला सभापतिहरूले प्रतिनिधित्व प्रणालीमा पनि हेरफेर गर्ने गरी प्रस्ताव तयार बनाउँदै छन्। पहिले क्षेत्रीय प्रतिनिधिका रूपमा एउटा गाउँबाट १० जना आउने व्यवस्था थियो भने यसलाई कायम राखी क्लस्टर थप्ने प्रस्ताव तयार बनाउँदै छन्।

किसान, मजदुरबाट, १८ वर्षदेखि २५ वर्ष समूहबाट, ६० वर्षभन्दा माथिको समूह जस्ता क्लस्टर छुट्टाएर प्रतिनिधित्व प्रणाली परिवर्तन गरिने प्रस्ताव भेलामा लैजान लागेको जिल्ला सभापतिहरूले जानकारी दिएका छन्। विशिष्ट आमन्त्रित सदस्य १० बराबर १ जना खुला निर्वाचनको माध्यमबाट आउने प्रस्ताव पनि तयार हुँदै छ।
जिल्ला सभापतिहरूको भेला प्रभावकारी र व्यवस्थित बनाउन स्थानीयस्तरमा विभिन्न समितिसमेत गठन भइसकेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ। स्थानीयस्तरमा गठन भएका समितिहरूको संयोजकसमेत तोकिसकिएको छ।

स्थानीयस्तरमा गठन भएको प्रचार समितिमा प्रदीप कोइराला, सांस्कृतिक एवं अतिथि समन्वय समितिमा आनन्द पराजुली, मञ्च व्यवस्थापनमा गोपीलाल विश्वकर्मा, स्वयंसेवक समितिमा अर्जुन तिवारी, सचिवालय एवं मिडिया समितिमा बुद्ध लामा, स्वास्थ्य समितिमा राजीव सुवेदी, आवास व्यवस्थापनमा भरत पराजुली, खाद्यान्न प्रबन्ध समितिमा रामबाबु बानिया र प्रदेश संयोजन समितिमा विष्णुप्रसाद लामिछानेलाई संयोजक तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्