बालिका मारेको अभियोगमा युवक पक्राउ



नासभिल्ले, (एजेन्सी)
अमेरिकाको नासभिल्ले निवासी एकजना पुरुषलाई बिहीबार एकजना तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा गिरफ्तार गरिएको छ। मेट्रो नासभिल्ले प्रहरीले क्रिस्टोफर जे.रिली नामक ती २६ वर्षीय व्यक्तिले गत शनिबार लेलानी रोज स्टेभन्स नामक ती बालिकालाई हेरचाह गर्ने क्रममा हत्या गरेको दावी गरेको छ।

बालिकाको टाउको र शरीरका अन्य भागलगायत शरीरभित्र चोट लागेको बताइएको छ। प्रहरीका अनुसार उनकी आमाले शनिबार रातिसेन्ट थोमस हस्पिटल वेस्टमा ल्याइपुर्याएको लगत्तै उनलाई एम्बुलेन्समा राखेर भ्यान्डरविल्ट चिल्ड्रेन्स हस्पिटलमा लगिएको थियो।

उनको आइतबार अपरान्ह भ्यान्डरविल्टमा मृत्यु भएको थियो। प्रहरीका अनुसार बालिकाकी आमाले बच्चा स्याहार्ने मान्छे खोज्न नसकेकाले आफ्नो साथी रिलीलाई शनिबार अपरान्हदेखि साँझसम्म बच्चा हेरिदिन आग्रह गरेकी थिइन्। तर राति १० बजे घर पुग्दा उनले लायानीलाई अचेत अवस्थामा फेला पारेकी थिइन्। तर रिलीले प्रहरीसमक्ष लायानीलाई लडेर चोट लागेको बयान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्