ईयूबाट प्लस्टिकका वस्तु प्रतिबन्धित हुने



ब्रसेल्स, (एजेन्सी)
युरोपेली संघ (ईयू)ले जलीय प्राणीको सुरक्षा तथा संरक्षणका लागि प्लास्टिकका वस्तुहरुको प्रयोगमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अघि सार्ने भएको छ । यस प्रस्तावअनुसार थुप्रै सार्वजनिकस्थलमा प्लास्टिकका वस्तुहरु जस्तै स्ट्र, कान कोट्याउने कपाससहितको पाइप, रिकापी तथा कप, बेलुन स्टिक एवं ड्रिंक घोल्ने स्टिक आदि प्रतिबन्धित गरिनेछन् ।

युरोपेली संघले सन् २०२५ भित्रमा पुनः प्रयोजनका लागि करिब सम्पूर्ण प्लस्टिकका बोटल संकलन गर्ने योजना पनि बनाएको छ । यो योजना लागू हुन युरोपेली संसद् र ईयूका २८ वटै सदस्य राष्ट्रबाट अनुमोदन गर्न आवशयक छ ।
ईयूले प्लास्टिका वस्तुहरू प्रतिबन्धित गरिएपछि ३४ लाख टन कार्बन डाइअक्साइड उत्सर्जन रोकिने, वातावरण क्षति नहुने र उपभोक्ताको खर्च जोगिने बताइएको छ । ईयूको प्रथम उपराष्ट्रपति फ्रान्स टिम्मरम्यान्सले भनेका छन्– ‘काम नलाग्ने प्लास्टिकका वस्तुहरु निःसन्देह ठूलो समस्या हो ।

सबै युरोपेलीहरूले मिलेर यो समस्याको समाधान गर्नुपर्दछ । यस प्रस्ताव कार्यान्वयन भएको खण्डमा एकपटक मात्र प्रयोग हुने प्लास्टिकका वस्तुहरु सुपरमार्केटमा देखिन छोडनेछन् । साथै हामी ती वस्तुका विकल्पका रूपमा वातावरणमैत्री वस्तुहरू प्रदान गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्