गाउँमै नागरिकता पाउँदा स्थानीय दंग



मोतिराम तिमल्सिना, काभ्रे ।
नागरिकता तथा राहदानीका लागि धुलिखेलसम्म आउनुपर्ने काभ्रेको विकट महाभारत गाउँपासलकाका स्थानीयबासीको बाध्यता अन्त्य भएको छ ।

जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा पहिलोपटक इलाका प्रशासन कार्यालय स्थापना भई सर्वसाधारणका लागि सेवा सुरु भएपछि स्थानीयबासीको बाध्यता अन्त्य भएको हो ।

महाभारत गाउँपालिका वडा नंवर ६ बनखुको देवीटारमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र काभ्रेका प्रमसख जिल्ला अधिकारी कृष्णवहादुर राउतले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

उनीहरुले वडा नंवर ६ का मकरवहादुर थिङकी बिस बर्षीया छोरी अनिता थिङलाई नागरिकताको प्रमाणपत्र दिएर सेवा शुभारम्भ गरेका थिए । थिङले दुई दिन लगाएर धुलिखेलसम्म आउनुपर्ने बाध्यताकै कारण नागरिकता नबनाई बसेकी थिइन् ।

इलाका प्रशासन कार्यालयबाट नागरिक,ा राहदानी र नाबालक बालबालिका परिचयपत्र वितरण हुनेछ । यस्तै इलाका प्रशासनले इलाकाभित्रका सबै सरकारी कर्मचारीको विवरण राख्ने, कुख्यात अपराधीहरुको सुची संकलन गरी कार्बाहीका लागि जिल्लामा पठाउने लगायतका काम गर्नेछ ।

हाल उक्त कार्यालयमा इलाका प्रशासन अधिकृत झपेन्द्र खरेलको नेतृत्वमा तीन जना कर्मचारी खटाइएको छ ।

इलाका प्रशासन कार्यालय स्थानासँगै स्थानीयबासीमा खुशीयाली छाएको छ । यसअघि २०६९ सालमा मंसिर ९ गते मन्त्रीपरिषद बैठकले डाँडापारिको घर्तिछापमा खानीखोला गाउँपालिकाका साविकका ३ गाविस र महाभारत गाउँपालिकाका सबै गाविसलाई हेर्ने गरी इलाका प्रशासन कार्यालय स्थापनाको निर्णय गरेको थियो ।

तर, कर्मचारी परिचालन नहुनुका साथै ठाउँसमेत अपायक भएपछि गत बैशाख २४ गते मन्त्रीपरिषदले महाभारतका लागि बनखुमा इलाका प्रशासन राख्ने निर्णय गरेको हो । गत माघ २६ गते बनखुमै आयोजित कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बनखुमै इलाका प्रशासन राखिने आश्वासन दिएका थिए ।

अहिले इलाका प्रशासन, गाउँपालिका र अस्थायी प्रहरी चौकीका लागि बनखुको देवीटारमै १६ रोपनी जग्गा उपलव्ध भएर काम सुरु भइसकेको छ । काभ्रे २ का सांसद गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बनेपछि गाउँपालिका, सबै वडा कार्यालय र विद्यालयमा निःशुल्क वाइफाईको व्यवस्थासमेत भइसकेको छ ।

इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, गाउँपालिका अध्यक्ष कान्छालाल थिङ, र उपाध्यक्ष चेतकुमारी माझीले मन्तव्य राखेका थिए ।

अध्यक्ष थिङले यसअघिका सिडिओले नचाहेकाले इलाका प्रशासन आउन नसकेको बताए । उनले अहिले पनि इलाका प्रशासन कार्यालय तथा गाउँपालिका कार्यालय टहरामै राख्नुपरेको, वडा सचिव नभएकाले जनप्रतिनिधिले नै कर्मचारीको काम गर्नुपरेको, कृषि तथा पशु लगायतका कार्यालयका कर्मचारी नआएको, इन्जिनियर नभएको लगायतका गुनासो गरे ।

जिल्लाबाट कर्मचारी पठाएको बताए पनि हाजिर हुन नआएकाले सेवा दिन असहज भएको पनि उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्