पाँच बर्ष भित्रमा उज्यालो जोरायल बनाईने



विमल विष्ट, डोटी ।
जोरायल गाउँपालिकाले आगामी पाँच बर्ष भित्रमा उज्यालो जोरायल बनाउने गरि गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले आज देखी रावतकट्टेमा शुरु भएको गाउँ सभाको बैठकमा विद्युतको पहँुच नभएका स्थानमा विद्युतको विस्तार, लघु जलविद्युत आयोजना लगायत वैकल्पिक उर्जाका कार्यक्रमहरुलाई प्रोत्साहान तथा अनुदानको व्यवस्था गरि उज्यालो गाउँपालिका घोषणाको पहल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पुरै गाउँपालिका पाँच वर्ष भित्रै उज्यालो गाउँपालिका बनाउने तरयामी छौँ,सबैको सहयोग चाहिने छ ।”

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षतामा सुरु भएको उक्त गाउँसभामा सिप बिकास तथा क्षमता अभिबृद्धि तालीम, कृषि तथा पशु व्यवसाय प्रवद्र्धन, कृषिलाई व्यवसायीकरण, महिला तथा वालवालिका, खानेपानी योजना, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृति जस्ता अधिकाँश पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा जोरायल गाउँपालिकालाई कृषिमा आत्म निर्भर बनाउन बिशेष अभियान थालिने उल्लेख गरिएको छ । अध्यक्ष विशेष कृषि विकास कार्यक्रमलाई थप सुधार गरि कार्यान्वयनमा ल्याईने र कृषि क्षेत्रलाई निर्वाहमुखिबाट व्यवसायमुखि बनाउदै यस क्षेत्रमा रोजगारीका अवसर सृजना गर्न प्रोत्साहित गरिने गाउँपालिकाले घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा जोरायल गाउँपालिकाको केन्द्र देखि ५ नंं. वडाको गडसेरासम्म सडक विस्तार गर्ने, अन्य सहायक सडकको स्तरोन्नती गर्ने, सबै वडामा स्वच्छ पिउने पानीको ब्यवस्था र गाउँपालिकामा पूर्ण सरसफाईको अभियान सञ्चालन गर्ने, आ.व. २०७६/०७७ मा समेत विद्यालयलाई पर्फमेन्स बेस्ड ग्रान्टस् को व्यवस्था गर्ने, आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्रोत्साहान गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने, विद्यालयलाई छात्रामैत्री बनाउन विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था गर्ने विषय समाबेश गरिएको छ ।

यसैगरि प्रत्येक वडामा सञ्चार तथा इन्टरनेटकको पहँुच, सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र सुशासनको प्रत्याभुति दिनका लागि पहिलो चरणमा वडा नं. २ का विभिन्न स्थानमा र जोरायल गाउँ कार्यपालिकाको कार्यालयमा सि.सि. टि.भी क्यामेरा जडान गर्ने, गरिवी न्यूनिकरणका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको साझेदारीमा जोड दिने, सामुहिक कृषि प्रणालीलाई प्रोत्साहान, पशुपालनमा आत्म निर्भर बनाउन बिशेष अभियान संचालन गरिने उपाध्यक्ष बोहराले बताउनु भयो ।

लैंगिक समानता, महिला सशक्तिकरण र समावेशीकरण गर्ने नीतिलाई प्रोत्साहन, स्थानीय कला संस्कृतिको संरक्षण र विकासमा जोड , भ्रष्टाचार विरुद्ध शुन्यसहनशीलताको नीति, कार्यालयले आफै र आफ्नो मातहतका कार्यालयहरुमार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुबाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सुचनाको हकको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरुमार्फत सुशासन अभिवृद्धि गर्ने खालका कार्यहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगिनेछ ।

स्थानिय, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सामुदायिक एवं गैरसरकारी संस्थाहरुलाई पारदर्शी बनाउदै विकास साझेदारको रुपमा परिचालन गरिने नीति गाउँपालिकाले लिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रमका आधारमा तयार गरिएको योजना तथा कार्यक्रमलाई छलफल गरि स्वीकृत गरिने बताईएको छ । आर्थिक बर्ष २०७६÷७७ को लागि जोरायल गाउँपालिकाले ३९ करोड ६९ लाख ५२ हजार बजेट प्रस्ताब गरेको जोरायल गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्