पिच सडक विक्री गर्नेलाई धरौटी



Exif_JPEG_420

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिका वडा नम्वर ४ अरनिको राजमार्ग सँगै रहेको काठमाडौ विश्वविद्यालय मार्ग सडकको ३ आना जग्गा विक्री प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश अर्जुनप्रसाद अधिकारीको इजलाशसले पक्राउ परेका साविक धुलिखेल नगरपालिका वडा नम्वर ७ हाल धुलिखेल नगरपालिका वडा नम्वर ४ घर भएका लोकेन्द्र तोलाङ्गेलाई विगो अनुसारको २२ लाख ५० हजार धरौटी माग गरेको छ । त्यस्तै उनकै श्रीमती सोनु तोलाङ्गलाई एक लाख रुपैया धरौटी माग गरेको छ भने जग्गा विक्री गर्ने भक्तपुर घर भएकी मिला भैललाई १२ लाख रुपैया धरौटी माग गरेको छ । अर्का एक महाभारत गाउँपालिका ४ का ज्ञानबहादुर मोक्तान फरार छन् ।

फौजदारी संहिताको दफा २४९ को १ र २ को कसुर ३ को ग मा ठगी अयिभोगमा मुद्दा चलाईएका ब्यक्ति दोषि ठहर भएमा ७ वर्ष सम्म कैद र ७० हजार जरिवना तोक्न सक्ने ब्यवस्था उल्लेख गरिएको छ । सोहि कानुनको दफा २५४ मा विगो अनुसार असुलको गर्न प्रहरीले माग दावी पेश गर्न सक्ने ब्यवस्था छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ परेकाहरुलाई सोहि दफा अनुसार सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो । सामान्यतया फौजदारी संहितामा ३ वर्ष भन्दा माथी कैद सजायँ तोकिएका मुद्दाहरुको हकमा पक्राउ परेका ब्यक्तिलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गरिनेछ । फौजदारी संहितामा ३ वर्ष भन्दा कम सजायँ तोकिएको अभियोगमा पक्राउ परेका ब्यक्तिहरुलाई मात्रैै धरौटीमा छाड्न सकिनेछ । न्यायाधीश अधिकारीले यस अघि बाल यौन दुरुपयोग अभियोगमा पक्राउ परेका शिक्षकलाई धरौटीमा छाड्ने आदेश दिएका थिए भने ठगी मुद्दामा समेत धरौटीमा छाड्ने आदेश दिएका छन् ।

२०६२ साल भदौ ९ गते साविक कित्ता नम्वर ६३३ को १० आना ३ दाम क्षेत्रफलबाट मैया सार्किले कित्ताकाट गरी ६५१ कित्ताको ७ आना ३ दाम जग्गा रविन्द्र श्रेष्ठ यगोल धुलिखेललाई ६० हजार रुपैयामा विक्री गरेकी थिईन् । धुलिखेल नगरपालिकाका इन्जिनियर जैसिलाल मण्डलले उक्त जग्गामा घर बाटो केहि नभएको देखिन्छ भन्दै सिफारिस गरिदिएका छन् । २०४८ सालमा खुलेको काठमाडौ विश्वविद्यालय जाने सडक त्यतिबेला देखि नै संचालनमा छ । इन्जिनियर जैसिलाल मण्डलले किन सडक भएको जमिनलाई छैन भनेर सिफारिस गरे ? रहस्यको विषय बनेको छ । ६३३ कित्ताकै बाँकी ३ आना जग्गा ६५२ कित्तामा कायम भई मैया सार्किकै नाममा बाँकी रहेको थियो । प्रहरी अनुसन्धान र अदालतले मालपोत र नगरपालिकाका कर्मचारीलाई उन्मुक्ति दिएको छ ।

२०७१ असार १२ गते मैया सार्किले २ लाख ५० हजार रुपैयामा ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलाङ्गेलाई विक्री गरिन् । जतिबेला धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले २०७१ असार ११ गते कित्ता नम्वर ६५२ मा घर छैन तथा फिल्डमा पक्की मोटरबाटो सँग जोडिएको छ भन्ने ब्यहोराको घरबाटो प्रमाणित गरिदिए । त्यतिबेला पनि ६५२ नम्वर कित्ताका ३ आना जग्गा मुल सडकमै थियो । कार्यकारी अधिकृत नागिलालकोे उक्त सिफारिसमा कैफियत देखिएको छ ।

मैया सार्किले बेचेको उक्त जग्गा पुनः २०७३ साल बैशाख ७ गते लोकन्द्र विष्टले ज्ञानबहादुर मोक्तानको जिल्ला अदालतबाट अधिकृत वारेसनामा लिई एक्लै मिना भैललाई ६ लाख ५० हजार रुपैयामा विक्री गरेका थिए । २०७१ असार ११ गते प्रमाणित गरिएको घर बाटो सिफारिसकै आधारमा दोश्रो पटक जग्गा किनबेच भयो । मिना भैलले २०७५ असोज ५ गते कृष्णराम दुवाल र लक्ष्मीप्रसाद प्रजापतिलाई १२ लाख रुपैयामा विक्री गरेकी थिईन् । मालपोत कार्यालयले पुनः २०७१ असार ११ गते लिएको घरबाटो प्रमाणित सिफारिसका आधारमा जग्गा पास गरिदिएको छ । स्थानीय सरकारको अनिवार्य सिफारिस आवश्यक पर्ने भए पनि मालपोत कार्यालयले पिच सडकको राजश्व बुझाएका आधारमा पुरानै सिफारिसमा पास गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्