जी–२० शिखर सम्मेलनमा ट्रम्पले सी र पुटिनसँग वार्ता गर्ने



वासिंगटन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानमा हुन गइरहेको जी–२० शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका कयौं प्रमुख नेताहरुसँग भेटघाट गर्ने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, जर्मन चान्सलर एन्जिला मर्केल, टर्कीका राष्ट्रपति रेसेप तयैव एर्दोगान, जापानी प्रधानमन्त्री सिन्जो आबे र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनसँग भेटवार्ता गर्ने बताइएको छ। ट्रम्पले साउदी अरेबियाका युवराज वली अहद मोहम्मद बिन सलमानसँग पनि वार्ता गर्ने जनाइएको छ।

विश्वका नेताहरुसँग ट्रम्पको यो बाक्लो भेटघाट अमेरिका र इरानबीच तनाव बढिरहेको समयमा हुन गइरहेको छ। यसैबीच इरानका राष्ट्रपति हसन रुहानीले राष्ट्रपति ट्रम्पको वार्ताको प्रस्ताव झुठो भएको प्रतिक्रिया दिएका छन्। हालैको बढ्दो तनावकाबीच इरानले अमेरिकाको एक ड्रोनलाई आफ्नो सिमामा खसालेको थियो। यस घटनापछि लगातार दुई देशबीचको तनाव झन् बढेको र युद्धको स्थितिमा पुगेको अनुमान गर्न थालिएको छ। वार्ताको प्रस्तावमा वासिंगटनले झुठो बोलिरहेको देखाएको इरानी विदेशमन्त्री जावद जरिफले पनि आरोप लगाएको छ।

चिनियाँ राष्ट्रपतिसँग ट्रम्पको बैठक सम्मेलनको दोस्रो दिन शनिबार ओसाकामा हुने अनुमान गरिएको छ। राष्ट्रपति सी र ट्रम्पबीच ओसाका शिखर सम्मेलनमा हुने वार्ताले दुई देशबीचको व्यापार युद्ध अन्त्य हुने आसा बेइजिङले गरेको चिनियाँ अधिकारीहरुले बताएका छन्।

जी–२० शिखर सम्मेलनपछि ट्रम्प दक्षिण कोरियाका लागि प्रस्थान गर्नेछ। एसिया यात्राका क्रममा ट्रम्पको उत्तर कोरियाली नेता किम जोंग उनसँग भेटवार्ता गर्ने कुनै योजना नभएको जनाइएको छ। हालै मात्र उत्तर कोरियाले शक्तिशाली बम परीक्षण गरेको अनुमान गरिएको लगत्तै चिनियाँ राष्ट्रपति सीले प्योङयाङको भ्रमण गरेका थिए। उक्त परीक्षण परमाणु हतियारको हो वा होइन भन्ने विषयमा खुलाइएको छैन। यस घटनालाई लिएर सोलले चिन्ता व्यक्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्