प्रदेश पाँचको योजना आयोगको उपाध्यक्षमा डा. गौतम



दाङको लमहीमा प्रादेशिक ट्रमा सेन्टर बनाउने प्रदेश सरकारको निर्णय

 

यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचको योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. ईश्वर गौतम नियुक्ति हुनु भएको छ ।

प्रदेश पाँचको सोमबार बसेको मन्त्रीपरिषद बैठकले योजना आयोगको उपाध्यक्षमा गौतमलाई नियुक्ति गरेको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि गत जेठ १४ गते आफ्नो पदबाट राजिनामा दिनुभएको थियो ।

उहाँले दिनुभएको राजीनामा सोही मितिदेखि नै लागु हुनेगरी स्वीकृत गर्दै प्रदेश योजना आयोगको उपाध्यक्षमा आजको मिति ९ असार देखि लागु हुनेगरी बुटवल निवार्षी गौतमलाई नियुक्ति गरिएको प्रदेश सरकारका प्रवक्ता, भौतिक पूर्वाधार तथा बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी गराउनु भयो ।

त्यस्तै मन्त्री परिषद बैठकले दाङ्को लमही नगरपालिकामा प्रादेशिक ट्रमा सेन्टर निर्माण गर्ने निर्णय गरेको छ ।

लमही नगरपालिकाले उपलब्ध गराएको राजमार्ग छेवैको जग्गामा सरकारले प्रादेशिक ट्रमा सेन्टर निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश पाँचमा सबै भन्दा बढी दुर्घटना हुने क्षेत्र भएकाले लमहीलाई ट्रमा सेन्टर निर्माणको निर्णय गरिएको प्रवक्ता चौधरीले बताउनु भयो ।

मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्नकालागि सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेस गर्नकालागि निर्णय भएको समेत जानकारी गराउनु भयो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एक सुशासन व्यबस्थापन केन्द्र रहने र प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय, सरकारको पूर्ण वा आंसिक स्वामित्व भएका सार्वजनिक संस्थाहरुबाट सम्पादन हुनु पर्ने कामहरु नियमित र प्रभावकारी रुपमा सम्पादन भए नभएको बिषयमा सूचना संकलन गर्ने, नियमित र प्रभावकार नभएको पाईएमा त्यस्तालाई कारवाही गर्ने तथा राम्रो काम गर्नेलाई पुरस्कृत गरिने गरी उक्त विधेयक निर्माण गरिएको उहाँले जानकारी गराउनु भयो ।

विधेयक पारित भएपछि प्रदेशमा भ्रष्टाचार र अनियमितता नियन्त्रण, सेवा प्रवाह र सुशासन सुधारका विषयमा अपनाउनु पर्ने नीति तथा रणनीति र त्यससम्बन्धि कानुनमा सुधार गर्नुपर्ने कुराहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने छ ।

प्रदेश मातहत हुने सेवा प्रवाहमा ढिलासुस्ती अनियमितता तथा कार्यक्रम वा आयोजना सञ्चालनमा अनियमितता वा भ्रष्टाचार हुन सक्ने स्थानमा नियमित निगरानी, छड्के जाँचका कार्यहरु समेत गर्ने छ ।

त्यस्तै मन्त्रीपरिषदको बैठकले दाङ्को घोराही उपमहानगरपालिका र चिनको सिचुवान प्रान्तको यान नगरपालिका तथा बर्दियाको ठाकुरबाबा नगरपालिका र चिनको याननगरपालिका र चिनकै गुईझाउ प्रान्तको लिउ मानसुई नगरपालिकासंग भगिनी सम्बन्ध स्थापित गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

भगिनी सम्बन्ध स्थापित भएपछि दुई नगरपालिका बिच आपसमा बिकास तथा सांस्कृतिक अनुभव आदान प्रदान हुने प्रवक्ता चौधरीले जानकारी गराउनु भयो ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिकामा जेष्ठ नागरिक तथा अपांगता भएका नागरिककालागि ग्राम स्थापना गर्ने निर्णय भएको छ ।

त्यसकालागि नगरपालिका आफैले जग्गाको व्यबस्थापन गर्नुपर्ने र बजेटको व्यबस्थापन सामाजिक बिकास मन्त्रालयले गर्ने प्रवक्ता चौधरीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्