धनकुटामा फाइबर टु द होम सेवा



नेपाल टेलिकमले टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच ९फाइबर टु द होम सेवा० सेवाको शुरुवात धनकुटामा पनि गरेको छ। धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गर्नुभएको थियो।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गर्नुभयो। उहाँले २०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउँदै प्रविधिको भरपुर उपयोग गरी जीवन सहज र समृद्ध बनाउन आह्वान पनि गर्नुभयो।

मुख्यमन्त्री राईसँगको कुराकानीमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटीटीएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत श्रव्यदृश्य समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोदकुमार परमारले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको बताउनुभयो।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्न धनकुटा नगरपालिकासमेत डिजिटलइज्ड प्रविधियुक्त भएकोमा खुशी व्यक्त गर्नुभयो। हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी ९फाइबर डिष्ट्रिब्युसन क्याबिनेट० मार्फत ७ सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने छ। नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ। यस अन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपियाँमा उपलब्ध छ। नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्