बोटमा ८१ लाखको बोधिचित्त, फेदमा द्वन्द्व



मोतीराम तिमल्सिना, काभ्रे
बोधिचित्तको कारोबार शुरू हुँदै गर्दा हरेक वर्षझैं यस वर्ष पनि एउटै रूखलाई पटक–पटक फरक–फरक व्यक्तिका नाममा बिक्री गरी रकम असुलेका कारण द्वन्द्व सिर्जना भएको छ।

‘अब त काटमार होलाजस्तो पो भयो, स्थानीयस्तरमा असुरक्षा बढ्यो।’ –रोशी गाउँपालिका–५का स्थानीय समाजसेवी टुल्कु लामाले बताउनुभयो। साविक सिसाखानी गाविस–३ हालको रोशी गाउँपालिका–५ मा रहेको ठकु तामाङको कित्ता नम्बर ४९६ बाट कित्ताकाट भई कायम भएको कित्ता नम्बर ९७९ को १३ रोपनी १४ आना क्षेत्रफलमा रहेको बोधिचित्तको ठूलो एक बोटमा फलेको फल २०७६ असार महिनामा टिप्न मिल्ने गरी एकमुष्ट ८१ लाख रुपियाँमा दुर्गालाल तामाङ समूहले खरिद गरी नगदै रकम भुक्तानी गरेको थियो।

२०७५ साल चैत ५ गते इन्भेस्टमेन्ट बैंकको चेकबाट १० लाख, हिमालयन बैंकको चेकबाट १० लाख र बाँकी ६१ लाख रुपियाँ नगदै ठकु तामाङले बुझेका थिए। चार महिनाअगावै नगद भुक्तानी गरेको दुर्गालाल तामाङ समूहले वडा कार्यालयको रोहबरमा सम्झौता गरी ८१ हजार राजस्वसमेत बुझाएको थियो। गाउँपालिकाले बिक्री मूल्यका आधारमा १ प्रतिशत राजस्व लिने निर्णय गरेको छ।
दुर्गालाल तामाङ र मानबहादुर तामाङले कानुनअनुसार सबै प्रक्रिया पूरा गरी नगदै भुक्तानी गरी राजस्वसमेत तिरेको अवस्थामा ठकु तामाङका छोरा नीरबहादुर तामाङले पुरानो मिति राखेर परिवारका कुनै सदस्यलाई खबर नै नगरी ५ लाख रुपियाँ बैना राखी ८० लाखमा बोधिचित्त बिक्री गर्ने सम्झौता गरे। उनको सम्झौतामा सोही जग्गाको कित्ता नम्बर ९७७ र ९७३ भित्र रहेको बोधिचित्तको बिक्री वितरण गर्ने अधिकार सत्यमान लामालाई दिइएको छ।

चार महिनाअगावै नगद भुक्तानी गरेको दुर्गालाल तामाङ समूहले वडा कार्यालयको रोहबरमा सम्झौता गरी ८१ हजार राजस्वसमेत बुझाएको थियो। गाउँपालिकाले बिक्री मूल्यका आधारमा १ प्रतिशत राजस्व लिने निर्णय गरेको छ।

उच्च अदालत पाटनमा परेको रिटमा आदेश सुनाउँदै अदालतले सत्यमान लामा समूहलाई दुई कित्ताभित्र भएको बोधिचित्त कारोबार गर्न आदेश दिएको छ भने ९७९ कित्ताको बोधिचित्तका दानाहरू संरक्षण गर्ने, टिपेर लग्ने, बिक्री वितरण गर्नेमा दुर्गालाल तामाङको समूहलाई कुनै बाधा व्यवधान नगर्न नगराउन भनी नीरबहादुर तामाङ समूहका नाममा आदेश जारी गरेको छ।

२०७६ असार ५ गते जिल्ला प्रशासन कार्यालय धुलिखेलसमेतका नाममा सो आदेश जारी भएको हो। यसअघि दुवै समूहबीच ठूलो रूखको बोधिचित्त आफ्नो भएको दाबी गर्दै दुवै समूहले बोधिचित्तको रूखमुनि राखिएका कुरुवा युवाहरूबीच द्वन्द्वको अवस्था निम्तिन खोजे पनि कानुनीरूपमा दुर्गालाल तामाङको समूहले अदालतबाट जितेपछि फैसला कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको ध्यानाकर्षण गराएको छ।
दुर्गालाल तामाङ समूहले राजस्व रकम बुझाए पनि अर्को समूहले बुझाएको थिएन। नगद ८१ लाख रकम उनै नीरबहादुरका छोरा सिरे तामाङ र श्रीमती सुक्रिमाया तामाङले समेत गनेर बुझेको भिडियो क्लिप्स अदालतमा बुझाइएको थियो।

नीरबहादुरले सम्झौता गर्दा वडा कार्यालयको रोहबर नभएको, राजस्व नतिरेको, परिवारका सदस्यहरूलाई साक्षी नराखी अन्य व्यक्तिलाई साक्षी राखेको र उधारोमा समेत बिक्री गरेको अदालतमा जवाफ दिइएको थियो। बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्न प्रयोग गरिने माला बनाउने प्रयोजनले खरिद गर्दछन्।

प्रतिक्रिया दिनुहोस्