नेवाःहरुलाई निमिट्यान्नै पार्न खोजेको हो कि !



कृष्ण प्रजापति
नेवारहरु उपत्यकाका आदिवासी हुन् । त्यसमा पनि यहाँका कलाकृति, संस्कृति, साहित्य र सम्पदा निर्माणमा अद्वितीय स्थान नेवाःहरुकै छ । साथै यी नेपालका पहिचानको रुपमा रहेका नेपाल संस्कृति, नेपाल संवत, नेपाल धर्म, नेपाल लिपि, नेपालभाषा सबै सबै नेवार समुदायकै देन हुन् । यस्ता वैभवशाली सभ्यता एकैदिन वा एक–दुई दशकमा तयार भएको चीज भने होइन । यसको लागि युगौंयुगसम्म यहाँका नेवार समुदायले मेहनत गरे, अध्ययन गरे र विभिन्न गम्भीर अध्ययनपछि एक नमूना शहरको रुपमा यो स्थानलाई बस्नलायक बनाए ।

यहाँका व्यक्ति–व्यक्ति मिलेर गुथी, भजन खलः लगायत विभिन्न किसिमका विहार, बही र मन्दिर पाटीको संरक्षण समूह बनाएर गुठी स्थापना गरेका थिए । यो नेवार जातिभित्रको सयौं–हजारौं वर्षअगाडिदेखि चलिआएको परम्परा हो । परम्परा र संस्कृति सरकारको कानुनभन्दा ग्राह्य हुने गर्दछ । आज त्यही देशको गौरवको रुपमा रहेका कला, संस्कृति र विभिन्न खालका उन्नतिशील सभ्यतालाई बचाइराख्नका लागि बनाइराखेका गुठी, गुठीका जग्गा र गुठीसंग सम्वन्धित सम्पूर्ण सम्पत्तिसमेत सरकारको मतहतमा राख्ने भनी नयाँ गुठी विधेयक राष्ट्रिय सभामा पेश भएको छ । यो सही काम भने होइन ।

संसारकै उन्नतिशील जातिमध्ये एक नेवाः जाति पनि हो । त्यसमा पनि आजभन्दा अधाई सय वर्षअगाडि भक्तपुरको दरवार क्षेत्रमा रहेको उच्चस्तरको सफूकुथि वा पुस्तकालयमा रहेका असंख्य हस्तलिखित र तन्त्र–मन्त्रका अमूल्य पुस्तकहरु पृथ्वीनारायण शाहको पालामा तीन दिनसम्म दरवार क्षेत्रमा ल्याएर जलाए । त्यसमध्ये बाँकी रहेका च्यातेका र जलेर बाँकी बचेखुचेका तीन ट्रक पुस्तकहरु भारतमा बृटिस सरकारको राजदूत भएर आएका डा. हडसनले लगे ।

सुरुमा ती जलेर बाँकी रहेका सम्पूर्ण पुस्तक भारतको नयाँ दिल्लीमा लिएर गएका थिए भने पछि जहाँ–जहाँ बेलायतको साम्राज्य थियो, ती सम्पूर्ण देशका पुस्तकालयहरुमा ती पुस्तक बाँडिदिए । त्यसले गर्दा पनि नेवाः जातिको सभ्यता र संस्कृति विश्वभर प्रचार हुन पुगेको थियो । अहिले पनि विश्वभरका थुप्रै विद्वान्हरु नेवाः जाति र नेवाः सभ्यता–संस्कृतिको अध्ययनको लागि उपत्यका वा भक्तपुरमा आउने गरेको जगजाहेर छ । उनीहरु यहीँ बसेर नेवाः जातिको सभ्यता, संस्कृति, कला र नेपालभाषा सिकेर विद्यावारिधि गरी फर्कने गरेका छन् । ती विद्वान्हरुले आफ्नो देशमा भएका लाइब्रेरीका पुस्तक पढेर उत्सुक भै नेपाल आएर प्रत्यक्ष उच्च जाति नेवाःहरुसंग हेलमेल बढाएर अध्ययन पूरा गर्ने गरिरहेका छन् । नेवाः जाति विश्वकै उच्च र उन्नतिशील संस्कृति भएको सभ्य जाति भएर नै उनीहरु यो बाटोमा लागिरहेका हुन् ।

अहिले पनि विश्वभरका थुप्रै विद्वान्हरु नेवाः जाति र नेवाः सभ्यता–संस्कृतिको अध्ययनको लागि उपत्यका वा भक्तपुरमा आउने गरेको जगजाहेर छ । उनीहरु यहीँ बसेर नेवाः जातिको सभ्यता, संस्कृति, कला र नेपालभाषा सिकेर विद्यावारिधि गरी फर्कने गरेका छन् ।

यस्ता अत्यन्तै भब्य, सभ्य र उच्च जनजीवन जिउने नेवाः जातिविरुद्ध हाल संसारभरका प्रतिक्रियावादी शक्तिले षड्यन्त्र गर्न थालेको छ । यो समयमा गुठी विधेयक लागू गर्ने भनी राष्ट्रिय सभामा दर्ता गरी छलफल अगाडि बढाइरहेको स्थिति छ । यो समय यस्तो समय हो, जहाँ–जहाँ नेवाःहरु छन्, त्यस–त्यस स्थानमा सडक फराकिलो पार्ने नाममा वा नयाँ शहर बसाउने नाममा वा फाष्ट ट्रयाक बनाउने नाममा नेपालबाट सजिलै भारत पुग्ने द्रुत गतिको सडक निर्माण गर्ने नाममा किसानको जग्गा कब्जा गरिरहेको समय हो ।

यहाँका गुठी जग्गा, ज्यापु ज्यामि वा नेवारले गर्दै रहेका जग्गा वा उब्जनिशील जग्गा सबै सरकारले हडसरिहेको समय हो । यहाँका पाटीपौवा र ढुंगेधारा यहाँका सभ्यताका नमूनाहरु हुन् । यो समय ढुंगेधारा समाप्त भइरहेको अवस्था छ । इनार भएनन् भने पानी पनि खान नपाइने भइसकेको अवस्था छ । अझ पाटीपौवाजस्ता नेवाः संस्कृति सभ्यतालाई बचाइराख्नको लागि बनाइएका गुठीलाई सरकारले पूर्ण नियन्त्रण गरी नेवाः समुदायलाई निमिटयान्न नै पार्न गइरहेको अवस्था छ । सक्दो कला संस्कृति बचाएर नेवाः गौरवलाई अगाडि लाने तरखर गरेको देखेर नै उनीहरुलाई हाल टाउको फुट्ने गरी पिटिरहेको अवस्था छ ।

कोही पनि नेवाः बाहिर जाने बखत उनको भाषाले मात्रै ऊ नेवार हो भन्ने देखाउँछ । आज आफ्नै पहलमा नेपालभाषा सिकाउने भन्न पनि सरकारले स्वीकृति दिएर त्यसको प्रवद्र्धन गरिरहेको छैन । त्यसमा पनि आफ्नै पहलमा सञ्चालन भइरहेको कयौं स्कुलमा पनि नियन्त्रण गर्ने परिपाटी विकास भएको छ । नेपालभाषा नेपाल देशकै सबैभन्दा पुरानो भाषा हो । नेवाः संस्कृति नेपाल देशकै सबैभन्दा उच्च संस्कृति हो । त्यही सभ्यता, संस्कृति देखाएर आज सरकारले लाखौंलाख रुपियाँ कमाइरहेको छ । तर त्यसको उन्नति र विकास गर्नुपर्दछ, भजन सिकाउनुपर्दछ, भजन गाउने वातावरण बनाउनुपर्दछ, भजन पाटीलाई संरक्षण गर्नको लागि गुठी जग्गा संरक्षण गर्नुपर्दछ, त्यसको लागि नयाँ व्यवस्था गर्न सक्नुपर्दछ भन्ने धारणा छैन । आफै अग्रसर भएर गरेका कला, संस्कृतिको उन्नति गर्ने काम गर्दा पनि सरकारले बाधा दिइरहेको अवस्था छ ।

सके प्रतिवन्ध लगाउने काम सरकारले गरिरहेको छ । यहाँ धल्चा भजन सिकाउने काम गर्दा, बाजा सिकाउने काम गर्दा कुनै प्रोत्साहन दिइँदैन । साथै बाँसुरी गुरु, बाजा गुरु व भजन गुरुहरुको सम्मानमा भक्तपुर नगरपालिका अग्रसर भएर खर्च गरेको भए पनि त्यसलाई बेरुजु देखाउने काम महालेखा परीक्षकको कार्यले पनि सरकारको नीति नेवाः समुदायप्रति गलत भएको देखिन्छ ।

सरकारमा गएका राजनीतिक पार्टीका नेताहरु आफै सभ्य र सुसंस्कृत नहुने बखत नै नेपाली जनताले दुःख पाउने हुन् । माइतीघर मण्डलामा स्वयमस्फूर्तरुपमा सडकमा आएका नेवाः समुदायको टाउकोमा लाठी बजारेर सरकारले असभ्य स्वभाव देखाइदिएको छ । सयौं वर्षअगाडिदेखि आफूले खाई नखाई जम्मा गरेको पैसाले गुठीका लागि ती जग्गा जमीन व्यवस्था गरी राखेको सम्पत्ति सरकारले हडप्ने, नियन्त्रणमा लिने र कला, संस्कृति र यहाँको सभ्यताको संरक्षणको लागि खर्च गर्नबाट बञ्चित गर्ने काम अवश्य पनि सह्य हुन सक्दैन ।

यस गुठीसम्बन्धी नयाँ बिधेयकको विरोधमा निहत्था रुपमा सडकमा उत्रेका सभ्य नेवाः तथा गैर नेवाः समुदायमाथि सरकारले प्रहरी लगाएर पानीको फोहरा प्रयोग गर्ने र लाठी बजार्ने जुन काम भयो, यो कदापि सहेर बस्ने चीज होइन । गुठी जग्गाहरु रैतानीमा परिणत भएदेखि उपत्यकाका धेरै परम्परा र संस्कृतिहरु समाप्त हुँदै गएको अवस्था छ । पहिला विभिन्न देवी देवताको नाममा मोज्जा बनाएर देवताको लागि बाली तिरेर देवीको जात्रा गर्दै आएका थिए । चाँडपर्वमा भोजभतेर सञ्चालन हुँदै आएको थियो । अहिले आएर पैसा र बाली नभएका कारण त्यस खालका चाडपर्व एवम् कला–संस्कृतिहरु जोगाउन सक्ने अवस्था कायम रहन्छ र ?

एक समय गुठीलाई महत्व दिनुपर्दछ भनी सरकारले गुठी संस्थान स्थापना गरी काम गरेको थियो भने त्यसबाट सयौं गुठी गानाको उन्नति र प्रगतिको लागि काम गर्न नसकेपछि संस्थान नै भंग गर्नुपर्ने सुझाव आएको थियो । हाल आएर सरकारले गुठीसम्बन्धी विधेयक सदनमा ल्याएर सकेसम्म उपत्यकाका नेवाः समुदायलाई यस स्थानबाट निमिट्यान्नै पार्ने प्रयास गरिरहेको छ । त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफै पनि सदनमा उत्रिएको अवस्था छ । उनीहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए । यो समयमा भने प्रधानमन्त्रीले सदनमा आएर बोलेपछि केही हदसम्म भए पनि गुठी विधेयकबारे सुधारको अपेक्षा गर्न सकिन्छ । अहिले आएर दबाब समूह र गुठियारको आवाज सुनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्