कुलेखानीलाई चौबीसै घण्टा चाप



हेटौंडा । देशभर मनसुन प्रवेशमा भएको ढिलाइको असर कुलेखानीलाई प्रत्यक्षरुपमा परेको छ । जलाधार क्षेत्रमा वर्षा नहुँदा कुलेखानी जलासयको पानी भरिन नपाएको बेला बढ्दो गर्मीले दिनभर पनि विद्युत् चाप बढेकोले कुलेखानी दिनभर सञ्चालनमा रहने गरेको हो ।

अन्य बेला दिनभर आराम गर्न पाएका कुलेखानीका मेसिनहरु पछिल्लो समय चौबीसै घण्टा घुम्न बाध्य छन् । बिहीबार त्यहाँका दुवै मेसिन चौबीसै घण्टा सञ्चालनमा आएका थिए । मेसिनले ६० मध्ये ४० मेगावाट् विद्युत् उत्पादन गरेको प्राविधिकले जानकारी दिए ।

वर्षा नभएकोले जलाधार क्षेत्रको पालुङ, किटेनी, चित्लाङ र फाखेललगायत खोलाबाट निकै कममात्र पानी जलासयमा आउने गरेको प्राविधिक बताउँछन् । कुलेखानी जलासयको सतह समुद्र सतहदेखि १ हजार ५ सय ३० मिटर रहेकोमा बिहीबार दिउँसो करिब ५ बजे १ हजार ५ सय ६ मिटर ६७ सेन्टिमिटर पुगेको छ । पानी नपरे पनि यो गत वर्षको यही समयको तुलनामा बढी हो । पानी पूर्ण हुँदाको अवस्थामा पानीको गहिराइ १ सय ७ मिटर हुन्छ ।

वर्षायाममा जम्मा गरेर हिउँदमा विद्युत् निकाल्न प्रयोग गरिने मुलुककै मानवनिर्मित एकमात्र जलासय भरिन करिब २४ मिटर बाँकी छ । ‘केही दिनअघिको वर्षाले पानीको सतह करिब २४ सेमि बढाएको थियो,’ एक प्राविधिकले भने–यसअघि सतह १ हजार ५ सय ७ मिटर पुगेको थियो । कुलेखानीको पानी समुद्र सतहदेखि १ हजार ५ सय ३० मिटरमा भरिन्छ । त्यसपछि ‘ओभर फ्लो’ हुने पानीलाई बाँधको माथि सिमेन्टका बोरा राखेर थप ३० सेन्टिमिटर संकलन गर्न सकिन्छ ।

सरोवरमा सञ्चित पानीबाट सुक्खा याममा विद्युत् उत्पादन गर्न सकिन्छ । कुलेखानी बाँधबाट ६ किमी सुरुङमार्फत् लगिएको पानीले धोर्सिङमा ६० मेगावाट् विद्युत् निकालिन्छ । आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत रहेको छ ।

माथिको मुल नफुटी कुलेखानी भरिँदैन, पानीले मुल नफुट्दा गत वर्षको वर्षामा पनि कुलेखानी भरिएन । कुलेखानी जलासय भरिँदा मुलुकमा ‘अघोषित लोडसेडिङ’ को सम्भावना कम हुन्छ ।

२०७२ को भुकम्पपछि कुलेखानी भरिएको छैन । २०७२ पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलव ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो । कुलेखानी जलविद्युत् आयोजना पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ गरी ९२ मेगावाट् विद्युत् उत्पादन हुँदै आएको छ । हेटौंडामा १४ मेगावाट् क्षमताको कुलेखानी तेस्रो निर्माणाधीन छ । कुलेखानी, नेपालकै विद्युत्को पावर ब्याकअप हो ।

प्रतिक्रिया दिनुहोस्