गोल अमान्य हुँदा ब्राजिल बराबरीमा



लन्डन, (एजेन्सी)
कोपा अमेरिका फुटबलअन्तर्ग समूह ए को दोस्रो खेलमा घरेलु टोली ब्राजिलले भेनेजुएलासँग तीन गोल अमान्य हुँदा अंक बाँड्न बाध्य भएको छ ।

भिडियो असिस्टेन्ट रेफ्री भारको कारण ब्राजिलले घरेलु मैदानमै अंक बाँड्नु परेको हो । बुधवार बिहान भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलमा ब्राजिलले तीन पटक गोल गरेपनि भारका कारण तीनवटै गोलले मान्यता नपाएपछि ब्राजिल स्पष्ट तीन अंक जोड्न चुकेको हो ।

ब्राजिलले खेल अवधिभर बल पोजेसन र आक्रमणमा नियन्त्रण बनाएपनि गोल गर्न सकेन । ब्राजिलले तीन पटक बल पोस्टभित्र छिराएको थियो । पहिलो हाफको ३९ औं मिनेटमा कप्तान ड्यानी आल्भेसको क्रसमा फिर्मिनोले गोल गरेपनि त्यसक्रममा उनले डिफेन्डर भिलानुएभालाई फल गरेका थिए । सोही कारण उक्त गोललाई मान्यता दिइएन ।

दोस्रो हाफको ६० औं मिनेटमा ब्राजिलले गोल गरेको भन्दै खुसियाली पनि मनायो । फरवार्ड गाब्रियल जेसुसले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारलाई फिर्मिनोले रोक्दै रिबाउन्डमा जेससले नै गोल गरेका थिए । तर रेफ्रीले भारको सहायता लिँदै फिर्मिनो अफसाइड रहेको निर्णय दिए ।

खेलको तीन मिनेट बाँकी रहँदा काउटिन्होले गोल गरेपनि उक्त गोल पनि मान्य भएन । वैकल्पिक खेलाडी एभर्टनले बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै दिएको पासलाई फिर्मिनोलाई लाग्दै कोउटिन्होले गोलमा परिणत गरेपनि रेफ्रीले भारकै सहायता लिँदै गोललाई मान्यता दिएनन् । उक्त मुभमा फिर्मिनोले ह्यान्डबल गरेको भेनेजुएलाका खेलाडीहरुको अपिल थियो ।

बराबरीपछि समूह ए मा ब्राजिलको दुई खेलबाट ४ अंक भएको छ । यस्तै बुधवार बिहानै भएको यसै समूहको अर्को खेलमा बोलिभियालाई पराजित गरेको पेरुको पनि समान ४ अंक भएको छ । दुई बराबरीपछि भेनेजुएलाको २ अंक छ भने बोलिभिया अंकविहिन अवस्थामा रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्