शिक्षकले नै गरे विद्यालयमा तालाबन्दी



विनोद सिंह विष्ट, बैतडी ।
तलब नपाएको भन्दै बैतडीको पाटन नगरपालिका १० हतासमा रहेको ब्रह्म आधारभुत विद्यालयमा बुधवारदेखि अनिश्चितकालिन तालाबन्दी गरिएको छ । उक्त विद्यालयमा कार्यरत निजी श्रोतका ३ जना शिक्षकहरुले बिगत २ बर्षदेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन्। वि स २०७४ सालदेखि आफूहरुले तलब नपाएको निजी श्रोतका शिक्षक तेजराज पन्तले जानकारी दिनुभयो । वि स २०६६ सालदेखि आफू निजी श्रोतमा कार्यरत रहेको बताउदै शिक्षक पन्तले अनुदानको कोटामा निजी श्रोतका शिक्षकलाई राख्ने निर्णय समेत विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरेको उहाँको आरोप रहेको छ ।

विद्यालय व्यवस्थापन समितिले निजी श्रोतमा कार्यरत शिक्षकलाई राहत तथा अनुदान कोठा आए राख्ने निर्णय गरेपनि यसअघि आएको राहत कोटा पनि नदिएको उनीहरुको भनाई रहेको छ । हाल पनि अनुदान कोटा आएपनि खुल्ला विज्ञापन गरेर आफूहरुमाथि अन्याय गरेकोले विद्यालयमा तालबन्दी गर्न बाध्य भएका उनीहरुको भनाई रहेको छ ।

यता विद्यालयका प्रधानाध्यापक टिकाराम भट्टले विद्यालयसंग आर्थिक स्रोत नभएकोले उनीहरुलाई तलब दिन नसकिएको बताउनुभयो । विद्यालयले तलबका लागी आर्थिक श्रोत जुटाइरहेकोले यही असार मसान्तसम्म सबैको तलब उपलब्ध गराउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवदत्त भट्टले बताउनुभयो । निजी श्रोतका शिक्षकसंग कोटा आएपछी राख्ने सहमती भएपनि बिरोध भएकोले खुल्ला विज्ञापन आह्वान गरिएको उहाँले बताउनुभयो ।

वि स २०४९ सालमा स्थापना भएको उक्त विद्यालय २०६६ सालदेखि कक्षा ८ सम्मको पढाई हुदैं आएको छ । २०६६ सालमा कक्षा ८ सम्मको पढाई सुरु गरेसंगै रतन सिंह महरा, चन्द्रदेव भट्ट र तेजराज पन्तलाई निजीश्रोतवाट शिक्षक राखेको थियो ।
शिक्षकहरुले नै विद्यालयमा तालाबन्दी गरेपछी विद्यार्थीको पढाई समेतप्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्