आयुष्मान र शिल्पाको प्रेमले भरिएको सानो मन



आगामी असार २० गते अल नेपाल रिलिज हुने फिल्म सानो मनको ट्रेलर सार्वजनिक गरिएको छ।
यसको ट्रेलर निर्माण समूहको आप्mनै युट्युब च्यानल हाई टेक इन्टरटेन्मेन्टबाट रिलिज गरिएको हो। ट्रेलर हेर्दा फिल्म प्रेम कथामा आधारित रहेको थाहा हुन्छ। प्रेम र रोमान्सले भरिएको ट्रेलरमा नायक आयुष्मान देशराज जोशी श्रेष्ठ र नायिकाको शिल्पा मास्केबीचको प्रेममा आउने उचारचढाव देखिन्छ। यसअघि सार्वजनिक सानो मनमा समावेश रानु कम्मर बोलको गीतले चर्चा पाएको थियो।

आयुष्मान र शिल्पाका साथमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारले अभिनय गरेको फिल्म सुयोग गुरुङको डेब्यु निर्देशनमा निर्माण भएको हो। फिल्मलाई लिएर निर्देशक गुरुङसँगै आयुष्मान र शिल्पा निकै उत्साहित छन्।

फिल्मको एक गीत थाइल्यान्डको पतायाको समुद्री किनारमा खिचिएको छ। काठमाडौं, भैरहवालगायतका स्थानमा छायांकन गरिएको फिल्म ओपीजी फिल्म्स्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेका हुन्। समीर सुनवार र निर्देशक गुरुङद्वारा लिखित म्युजिकल लभस्टोरी जनराको फिल्ममा आलोक शुक्लाको छायांकन तथा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्