पाकिस्तानमाथि भारतको जित कायमै



लन्डन, (एजेन्सी)
आईसीसी क्रिकेट विश्वकपमा भारतले पाकिस्तानमाथि जितको लयलाई कायमै राखेको छ । आईतबार म्यानचेस्टरमा भएको खेलमा भारतले पाकिस्तानलाई ८९ रनले हराएको हो । योसँगै भारतले विश्वकपमा पाकिस्तानविरुद्ध खेलेको सातै खेलमा जित हात पार्न सफल भयो । उता पाकिस्तानले भने विश्वकपमा भारतमाथि जित हासिल गर्ने साइत अझै जुराउन सकेको छैन ।

सो खेलमा पहिले ब्याटिङ गरेर भारतले ३ सय ३७ रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाउँदा नै हार्ने पक्का भइसकेको थियो । यतिबेलै वर्षा भएपछि खेल केही बेर रोकियो । बर्षा रोकिएर खेल पुन सञ्चालन हुँदा पाकिस्तानलाई नयाँ लक्ष्य दिइयो ४० ओभरमा ३ सय २ रन बनाउनु पर्ने । फेरि खेल हुँदा पाकिस्तानले बाँकी १ सय ३६ रन ५ ओभर (३० बलमा) बनाउनु पर्ने कठिन लक्ष्य तेर्सियो । पाकिस्तान २ सय १२ रन सम्म पुगेर हार स्विकार गर्नु प¥यो ।

ब्रेनलेस कप्तान
यो हारमा पाकिस्तानकै पूर्व फास्ट बलर शोयब अख्तरले सरफराज अहमदको आलोचना गरे । उनले सरफराजलाई भने— ब्रेनलेस कप्तान ।

टस जितेर ब्याटिङ गर्न पाकिस्तानका प्रधानमन्त्री तथा पूर्व कप्तान इमरान खानले समेत ट्वीट गरेका थिए । तर सरफराजले टस जितेर फिल्डिङ गर्न निर्णय लिए । जसमा शोयबले ट्वीटरमा लेखेका थिए—यस्ता ब्रेनलेस कप्तान कोही कसरी हुन सक्छन् । सरफराजलाई यति पनि थाहा छैन कि उनको टिमको ब्याटिङ बलियो छैन । पाकिस्तानको बलियो आधार भनेको बलिङ हो । पुरै टिम ब्रेनलेस छ । मेनेजमेन्ट पनि त्यस्तै । बलर पनि मिसगाइड भएका थिए ।

उनले लेखेका थिए—मेरा कप्तानले निर्णय गरे कि दिमागको प्रयोग गर्नु छैन । बाबर आजमले विराट कोहलीका प्रशंसक भन्ने तर उनीबाट केही सिक्दैनन् । इमाम उल हकसँग कुनै प्रविधि नै छैन । उनी जसरी आउट भए त्यो लाजमर्दो थियो । पाकिस्तानी टिम कुन माइन्डसेटबाट खेल्छन् यो थाहा नै छैन । इमरान खानले ट्वीट त गरिदिए तर उनले सोच्नु पर्ने थियो कि ट्वीट उसको लागि गर्नु जससँग क्षमता छ ।

यसैगरी १९९२ मा विश्वकप जिताएका पाकिस्तानका पूर्व बलर वसीम अकरमले पनि पाकिस्तानको पराजयमा बताए । उनले भने—पछिल्ला कयौ वर्षमा भारतले फस्र्ट क्लास क्रिकेटमा धेरै निवेश गरेको छ । अर्को तर्फ पाकिस्तानले शायद केही गरेको छ । भारत हरेक वर्ष आफ्नो क्रिकेट परिवर्तन गरिरहेको छ । जबकी पाकिस्तानको फस्र्ट क्लास क्रिकेट केही पत्रकारहरुले चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्