गुठी नमासौं भन्दा पानी छ्यापी-छ्यापी पिटे आन्टी !



प्रिय राधिका आन्टी
जोजोलपा !
युरोपको एक साता लामो भ्रमण सकेर आज आइतबार तपाईं घर फर्किंदै हुनुहुन्छ, वेलकम ब्याक होम भन्न चाहन्छु ! पौने पाँच घण्टाको समयको फरक र १२ घण्टा लामो उडान, केही थाक्नुभएको पनि होला, यस्तो बेला शुभचिन्तकको चिठी पढ्दा थकान मेटिन्छ भन्छन्, यस चिठीले हजुरको थकान मेट्छ कि बढाउँछ, म भन्न सक्तिनँ !

तपाईं प्रधानमन्त्रीज्यूसँग जब युरोपतिर लाग्नुभयो यता विधेयकको ओइरो बढ्यो । तर जति विधेयकहरु आए सबै भूमिगत शैलीमा तयार पारिएका– न कुनै सरोकारवालालाई भेटेर सुझाव मागेको छ, न शुभचिन्तकलाई साथ लिने अभ्यास गरेको छ । कति विधेयकको मस्यौदा त मन्त्रालयको सचिवले गर्ने, उपसचिवसम्मलाई जानकारी नदिई झ्याप्प संसदमा पेश गर्ने ! कस्तो भूमिगत लोकतन्त्र !

तपाईं देशमा नभएको मौकामा यस्तै एउटा विधेयक आयो गुठीलाई विस्थापन गरेर प्राधिकरण बनाउने भनेर । राजधानीबासीको पहिचान, परम्परा र संस्कृतिको धरोहर मेटिन लाग्यो भनेर स्थानीय बासिन्दा चिन्तित हुनु स्वाभाविकै थियो । फेरि विज्ञहरुले ‘विधेयक जस्ताको त्यस्तै पारित भए गुठीको लाखाैं रोपनी जग्गा भूमाफियाले हातपार्छन्’ भन्ने निष्कर्ष निकालेपछि हामी चिन्तित नहुने कुरै थिएन । यस विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भैरहेको तपाईंले युरोपमै पनि थाहा पाइसक्नुभएकै हुनुपर्छ ।

विद्वान केदारभक्त माथेमाले ‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्यायो, सबै राजधानीबासी एकजुट भएर यसलाई फिर्ता गराऔं’ भनेपछि आन्दोलनमा सिंगो काठमाडौं उत्रिनु स्वाभाविकै हो । प्रा.डा. माथेमाले मात्र होइन संस्कृतिविद् गोविन्द टण्डनले पनि विधेयकले गुठी संस्कृतिलाई सखाप पार्ने निष्कर्ष निकालेपछि हामी नराम्रोसँग झस्कियौं ।

आन्टी, म हजुरलाई एउटा सानो दृश्य बताउँछु । २६ जेठका दिन माइतीघरको शान्तिपूर्ण विरोध कार्यक्रममा पानीको फोहोरा हानी–हानी लाठी र बुट प्रहार गरियो। यसपछि दिनदिनै जुलुस र आमसभामा सहभागीहरू थपिँदै छन्।

आन्टीलाई थाहै छ, पछिल्लो समय मुलुकमा हिन्दु र बौद्ध धर्मावलम्वीहरुमाथि सांस्कृतिक आक्रमण बढेको छ, केही आईएनजीओ–एनजीओको माध्यमबाट खासगरी युरोपेली संघले खुला रुपमा इसाइकरण गर्दैआएको समाजशास्त्रीहरुको निष्कर्ष छ । यसका लागि काठमाडौं उपत्यकाको नेवार र स्थानीय अन्य समुदायकको सांस्कृतिक तथा धार्मिक अभ्यास गुठी प्रणालीमा आधारित भएको र यसलाई उखलेर फाल्न सके मात्र उनीहरुको उद्देश्य पूरा हुने अवस्था छ । यति ठूलो षड्यन्त्रमा सरकार किन मूकदर्शक बन्न पुग्यो ? यो त निकै गम्भीर विषय हो नि, हैन आन्टी ?

अमेरिका राष्ट्र बन्नुभन्दा पहिला नै सुन्दर काठमाडौं उपत्यका बनाउने राजधानीबासीलाई अवमूल्यन गर्नु कुनै पनि राजनीतिज्ञका लागि घातक छ । खासगरी केही दफामा परिमार्जन गराउनसक्नुभयो भने नेकपामाथि आउन लागेको संकट टर्नसक्छ । दफा २२ मा गुठी वा धार्मिक स्थलको स्थापना वा निर्माण गर्न स्वीकृति लिनुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाले नयाँ मठमन्दिर बनाउन झन्झट हुने विज्ञहरू बताउँछन् । यसलाई ‘पुराना मठमन्दिर मास्ने, नयाँ बनाउन नदिने षड्यन्त्र’ का रुपमा संस्कृतिविद् गोविन्द टण्डनले व्याख्या गर्नुभएको छ । दफा २३ मा गुठीको हक प्राधिकरणमा सर्ने उल्लेख छ ।

सम्पूर्ण हक प्राधिकरणमा सर्दा परम्परादेखि जात्रा–पर्व चलाउँदै आएका गुठियारलाई समस्या हुने र हाम्रा पर्व– पूजा लोप भएर जाने नरदेवी गुठीका नाइके मच्चाराजा डंगोलको भनाइ छ । दफा २४ मा गुठियारको अधिकार स्वतः समाप्त हुने व्यवस्था छ । गुठियारको हक अधिकार समाप्त भएपछि गुठी सञ्चालन गर्न बाहिरबाट मान्छे आउनेछन् । आफ्ना कार्यकर्ता भर्ती गर्ने मनसायले यस्तो प्रावधान ल्याइएको विज्ञहरु बताउँछन् ।

अब असार ३ गते मंगलबारका दिन माइतीघर मण्डलामा राजधानीका नेवारहरूकै अगुवाइमा एक लाख सहभागीहरू जुटाउने कार्यक्रम भइरहेको छ, के सरकारले त्यसको सामना गर्नसक्छ ?

सरकारले राम्रै मनशायले विधेयक ल्याएको होला तर २६ जेठका दिन माइतीघरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममाथिको दमन कसैले जायज भन्न सक्तैन । यसपछि हरेक दिन कोणसभा, जुलुस, आमसभा भइरहेका छन् । यी कार्यक्रममा नेवार मात्र होइन, बाहुन–छेत्री–तामाङ–मगर–दलितआदि सबै सक्रिय सहभागी भएका छन् । लिच्छविकालदेखि धर्म, संस्कृति र अन्य परोपकारको काम गुठीमार्फत सञ्चालन हुँदै आएको, करिब १५ सय वर्ष पुरानो सामाजिक परम्परालाई तोड्ने काम किन गरियो ?

दफा ५३ ले तैनाथी जग्गालाई घुमाउरो पारामा समाप्त पार्ने योजना रहेको छ । सो धारामा गुठी तैनाथी जग्गामा ऐन प्रारम्भ हुनुभन्दा अघि आफ्नै पूँजी र श्रम लगाएर बनाएको रहेछ भने प्राधिकरणले तोकेको समयभित्र सो जग्गा रजिष्टे«शन प्रयोजनको लागि निर्धारित न्यूनतम मूल्य लिएर रैतानीमा परिणत गरिदिनसक्ने व्यवस्था छ । यस्तो जग्गा तराई मधेशमा धेरै छ । विधेयकको यो प्रावधान जस्ताको तस्तै पारित भए न्यूनतम मूल्य तिरेर जोसुकैले गुठीको जग्गा किन्न बाटो खुल्ने पशुपति विकास कोषका पूर्व सदस्य सचिव टण्डनको भनाइ छ । यसबाट गुठीको स्वामित्वमा रहेको जग्गा–जमिन भू–माफियाका हातमा जाने सम्भावना बढ्दैन र आन्टी !

हजुरलाई थाहै छ, बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला २०६५ सालमा इन्द्रजात्राका लागि दिंदैआएको सरकारी सहयोग राेकियाे, तर इन्द्रचोक–असन–वसन्तपुर–न्यूरोड–मरु–टेकु–भीमसेनस्थान एकजुट भयो, जनताको एकताका अगाडि उहाँले झुक्नैप¥यो, सरकारी सहयोगले निरन्तरता पायो । त्यस बेला जब स्थानीय जनताको संस्कृतिको सबाल उठ्यो, हिसिला यमी आन्टीले भट्टराईलाई सम्झाउनु भयो । सायद यमीले भन्नुभएको हुनसक्छ, ‘राजधानीका आदिबासी एक आना जग्गा दुई भाग लगाएर धरहराजस्ता घर बनाएर गुजारा गर्छन्, परिवारभित्र झगडा गर्छन्, तर संस्कृति र परम्पराको कुरा आयो भने एकजुट हुन्छन्, तपाईं इन्द्रजात्राको सहयोग रोक्न सक्नुहुन्न !’ श्रीमती यमीलाई औधी माया गर्ने लैङ्गिक–मैत्री भट्टराईले सहमति जनाउनुभयो । अब पालो राधिका आन्टीको आयो है ! फेरि आन्टीलाई भट्टराई–यमीकी छोरी मानुषी पनि खुला रुपमा अहिलेको आन्दोलनलाई सघाइरहेकी छन् ।


आन्टी श्रीमान्को उखान–टुक्कामा हाँसिरहनु भएको छ कि उहाँको घोचपेचबाट रिसाइरहनुभएको छ, मलाई थाहा छैन ! तर, उहाँ मान्छे बुझकी हुनुहुन्छ भन्ने कुरामा भने मलाई कुनै आशंका छैन । राजधानीबासीलाई बिच्काउनु भयो भने युरोपियन युनियनका कूटनीतिज्ञले निर्वाचनमा भोट हाल्ने होइन क्यारे ! राजधानीमा रहेका मतदातामध्ये ८० प्रतिशत जनता कुनै न कुनै गुठीमा आवद्ध छन् । के एक पटकको दुईतिहाइको न्यानोले सधैंको जाडो जान्छ ! मलाई त छक्क लाग्छ आन्टी, राजधानीका बुझेका नेवार नेताहरु मजाले कानमा तेल हालेर बसेका देखिन्छन् । हुन त, बाहिर त्यस्ता देखिएका मात्र हुन्, भित्रभित्रै गुठीसम्बन्धी विधेयक सच्चिएन भने अब राजधानीको राजनीति सकियो भनेर आतंकित भइरहेका होलान् !


आन्टी, म हजुरलाई एउटा सानो दृश्य बताउँछु । २६ जेठका दिन माइतीघरको शान्तिपूर्ण विरोध कार्यक्रममा पानीको फोहोरा हानी–हानी लाठी र बुट प्रहार गरियाे । त्यसपछि दिनदिनै जुलुस र आमसभामा सहभागीहरु थपिंदै छन् । हिजो–अस्ति मात्र काठमाडौंको न्यूरोड र पाटनको मंगलबजारमा उपत्यकाका तीनै पुस्ताको ठूलो उपस्थिति भएको विशाल जुलुस र आमसभा आयोजना भयो ।

गजबको कुरा त के भने, त्यो सबै स्वतस्फूर्त थियो, कुनै स्थापित संस्थाको आयोजनामा भएको थिएन । मंगलबजारमा लोकप्रिय गायक योगेश अमात्यले प्रहरी अधिकारीलाई फूल दिए, सांकेतिक रुपमा हामी सद्भाव चाहन्छौं भनेर संकेत गरे । काठमाडौंमा युवाहरु दिउँसोको घाममा मैनवत्ती बालेर सांकेतिक रुपमा सरकारलाई उज्यालो देखाइरहेका थिए । तपाईंलाई थाहै छ, राजधानीमा जब–जब आन्दोलन स्वतस्फूर्त रुपमा हुनथाल्छ, यसको तागत अजेय भएर आउँछ । तर अब असार ३ गते मंगलबारका दिन माइतीघर मण्डलामा राजधानीका नेवारहरुकै अगुवाइमा एक लाख सहभागीहरु जुटाउने कार्यक्रम भइरहेको छ, के सरकारले त्यसको सामना गर्नसक्छ ?

नेवारहरू सोझा छन् भन्नेमा दुईमत छैन। तर सोझो मान्छेलाई रिस उठेपछि शान्त पार्न सजिलो हुनेछैन भन्ने पनि आन्टीलाई अवगत नै होला। मलाई लाग्छ, नेवार नै ससुराली भएका केपी अंकललाई संस्कृतिप्रति स्थानीय नेवारहरुको समर्पणका बारेमा त जानकारी हुनैपर्ने हो, कसैले पनि उहाँलाई परामर्श दिंदैनन् कि के हो ?

इतिहास साक्षी छ, राजधानी उठेपछि सत्ता परिवर्तन नगरी यो चुप लागेर बस्दैन त ? प्रमुख प्रतिपक्षी कांग्रेसलाई चाहिएकै आन्दोलन हो, उसले त यस आन्दोलनको आगोमा रोटी सेकेरै छोड्नेछ । सायद नेकपा प्रतिपक्षमा भएको भए पनि यसै गथ्र्यो, यो सरकारबाहिर उभिनेहरुको स्थायी स्वभाव हो ।

अन्त्यमा, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, उनका दाजु शहीद गंगालाल श्रेष्ठ, अन्य शहीदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द आदिको आत्माले आशीर्वाद देला त गुठी विस्थापित गर्ने यस विधेयकका निर्मातालाई ? आन्टी आफै जानिफकार हुनुहुन्छ, अनावश्यक रुपमा शान्त रहेको घरमा आगो नसल्कियोस् भनेर तपाईंले प्रयास गर्नु नै हुनेछ । ल है आन्टी, पालो तपाईंको !
छिगु यउम क्याचा
दिरेकलाल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्