महानिरीक्षक खनालको घरलाई धर्मशाला बनाउन समिति गठन



अनिल खत्री, गुल्मी ।
सशस्त्र प्रहरी बल प्रमुख सैलेन्द्र खनालले आफ्नो पू्ख्र्याली घर लाई धर्मसाला बनाउने प्रक्रिया अगाडी बढाएका छन् । गुल्मी जिल्लाको रुरु गाउँपालिका स्थित रिडी स्थित आफ्नो पुख्र्याली घरलाई स्व पिता डा टिकाराम खनालको स्मृतिमा धर्मसाला बनाउने गरि निर्माण समिति गठन भएको छ ।

गृह जिल्ला पुग्नु भएका महानिरिक्षक खनालले एक कार्यक्रमको आयोजना गरेर आफ्नो घरलाई धर्मशाला बनाउन समिति गठन गर्नु भएको हो । धर्मशाला बनाउनको लागि शंकर भट्टराईको अध्यक्षमा १५ सदस्य निर्माण कमिटी गठन गरिएको छ ।

खनालले गत वर्षको अशोजमा आफ्ना पिताको सम्झनामा घरलाई धर्मशाला निर्माण गर्न इन्जिनियर सहितको टोली लगेर अध्ययन गरिएको थियो । पुरानो संरचनामा बनेको २ तले घरलाई भत्काएर नयाँ डिजाइनमा धर्मशाला बनाउने खनालले बताउनु भयो ।

तिन जिल्लाको संगमन स्थल रहेको रुरु स्थित रिडीमा आफ्ना पिताको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको महानिरिक्षक खनालको भनाई छ ।

समितिले बिहिवारदेखिनै काम सुरु गर्ने भट्टराईले बताउनु भयो । समितिले तत्कालै पुरानो घरलाई भत्काउने र नयाँ साढे दुई तलाको पक्की भुकम्प प्रतिरोधी घर निर्माणको लागि सुरु गर्ने भएको छ । धर्मशाल निर्माणको लागि असारको दोस्रो साता तिर शिलान्या गरिने पनि समितिले जनाएको छ ।

कार्यक्रममा प्रहरी महानिरिक्षक खनालले रिडीलाई केन्द्र बिन्दु बनाएर सानो भएपनी शसस्त्र प्रहरीको बिट राख्ने बताउनु भयो । खनालको रुरु स्थित रिडीमा पुख्र्याली घर रहेको थियो । धेरै वर्ष देखि खनाल परिवारले बस्न छोडेकाले घर बन्द अबस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्