‘सार्वजनिक कुलो’ प्लटिङ्ग पछि विक्री



मोतीराम तिमल्सिना, काभ्रे ।
भू–माफियाहरुले सार्वजनिक कुलो प्लटिङ्ग गरेको खुलासा भएको छ । पनौती नगरपालिका वडा नम्वर ५ मा सर्वसाधारणको उजुरी पछि प्लटिङ्गमा राजकुुलो घुसाईएको फेला परेको हो ।

पनौती नगरपालिका वडा नम्वर ५ साविक छालाकारखाना चौकोट सुब्बागाउँ ६ नम्वर वडामा रहेको २१ कित्ता प्लटिङ्ग अनियमित र बदनियत पूर्वक राजकुलो सहित घुसाई प्लटिङ्ग गरी विक्री वितरण गरिएको छ । ‘बाबु बाजेहरुको पाला देखि गाउँभरीको पानी बग्ने ७ फिटे कुलो प्लटिङ्गमा पारी विक्री भईसकेको रहेछ’–वडा अध्यक्ष श्रीधर कुँईकेलले भन्नुभयो–‘उजुरी र जानकारी दुबै प्राप्त भयो, तत्कालै नापि कार्यालयमा फिल्ड उतारका लागि पत्र लेखेर पुष्टी भए पछि सबै कित्ताहरु रोक्काका लागि नगरपालिका मार्फत मालपोत कार्यालयमा पत्र पठाईएको छ ।’

नगरपालिकाकै पत्रका आधारमा २०७६ जेष्ठ ९ गते उक्त प्लटिङ्गमा पर्ने २१ वटा कित्ता रोक्का गरिएको मालपोत कार्यालय काभ्रेका सूचना अधिकारी एवं मालपोत अधिकृत जयन्त भट्टराईले जानकारी दिनुभयो । स्थानीय हरि सुवालले जुगौ देखि रहेको कुलो मासेर प्लटिङ्ग गरिएकोमा पटक पटक आपत्ति जनाउँदा पनि अटेर गरिरहेको बताउनु भयो ।

साविकका कित्ता नम्वर १, २, ४ र १३३ भित्र बाटो जनाईएको कुलो र सिमाना राखिएको आधारमा पनि उक्त प्लटिङ्गमा सार्वजनिक जग्गा ब्यक्तिका नाममा हुनु हुँदैन भन्ने वडा अध्यक्षको भनाई छ । नगरपालिकाले जग्गा रोक्का राखे पछि प्लटिङ्गवालाहरुले ३ फिटको बाटो छाडिदिने बताउँदै कतै उजुरी नगर्न र कसैले सोध्यो भने मिलिसक्यो भनिदिनु भनेको वडा अध्यक्ष कुईकेलले बताउनु भयो । स्थानीयहरुले सार्वजनिक जग्गा अतिक्रमण गरी विक्री गर्ने गिरोहलाई कारवाही गर्नु पर्ने माग गरेका छन् । कारवाहीका लागि ४५ जना स्थानीयहरुले वडा कार्यालयमा हस्ताक्षर सहितको उजुरी गरेका छन् ।

नापी कार्यालय काभ्रेका सूचना अधिकारी एवं नापी अधिकृत सुरेश मानन्धरले साविकका कित्ता नम्वर १, २, ४ र १३३ मा बाटो भन्ने फिल्ड फुकमा उल्लेख भएको बताउनु भयो । ‘फिल्डमा उल्लेख बाटो सार्वजनिक भएकाले नीजि बनाउन पाईदैन’–उहाँले भन्नुभयो–‘सामान्य तय सिङ्गल लाईन भएको फिल्डमा बाटो उल्लेख भएको अवस्थामा ३ फिट बाटो कायम हुनु पर्छ ।’

८ कित्ता कुलोमा
साविकका कित्ताहरुबाट बनेको नयाँ कित्ताको १५१४ उमेश श्रेष्ठ, १५०५ जानुका कर्माचार्य, १५१३ शिव श्रेष्ठ, १५०४ विमलमाया श्रेष्ठ, १५१२ शुशिल कार्की, १५०३ रिता भुजेल र १५११, १५०२ कुमार श्रेष्ठको नाममा रहेको जग्गा कुलोमा परेको छ । ८ वटा कित्तामा झण्डै १ रोपनी जमिन सार्वजनिक छ भने जग्गाले प्लटिङ्गका लागि तयारी गरेको सार्वजनिक कुलो २ रोपनी धेरै क्षेत्रफलमा पर्छ । प्लटिङ्गमा पर्ने १३१, १३५ कुमार श्रेष्ठ, १५०९,१५१० र १५०१ विनिता अधिकारी, ८२६ बालकाजी मानन्धर, १२९ सकुन्तला न्यौपाने, १३० सिक्किन अग्रवाल, १४९९ अष्टलक्ष्मी मानन्धर, १५०० राज्यलक्ष्मी श्रेष्ठ, १५०७ लक्ष्मी मानन्धर, १४९८ मोहनकाजी मानन्धर र १५०८ चित्रकुमारी तिवारीले खरिद गरेको जग्गा रोक्का राखिएको छ ।

सरकारले जग्गाको प्लटिङ्ग र कित्ताकाट रोकेको समयमा भू–माफियाहरुले विभिन्न कागजात तयार गरी हुैँदै नभएका अंशियारलाई अशिंयार बनाई जग्गा खरिद विक्री गरेका हुन् । अदालतको आदेशको आधारमा, एक वर्ष भित्र एक पटक मात्रै कित्ताकाट गर्न पाउने अवस्थामा र अंशियारको बण्डापत्रका आधारमा जग्गाको कित्ताकाट हुने गरेको थियो । त्यहि नियम भित्र पस्न हुँदै नभएका अंशियारलाई अंशियार देखाएर फर्जि कागजात तयार गरी जग्गा प्लटिङ्ग पछि सार्वजनिक कुलो सहित विक्री गरिएको हो । प्लटिङ्ग पछिको विक्रीमा राजनीतिक दलका केहि स्थानीय नेता र पटक पटक जग्गाबाट लाभ लिएका ब्यक्तिहरु छन् ।

यसरी बेचियो ‘कुलो’
साविक सुब्बागाउँ गाविसका विभिन्न वडामा रहेका विभिन्न कित्ता जग्गाहरु २०४५ साउन ११ गते र २०४५ भदौ ९ गते, २०५० साल साउन ३२ गते विभिन्न कित्ताबाट पशुपति सिमेन्ट प्रा.ली त्रिपुरेश्वर काठमाडौका नाममा सिक्कीम अग्रवालले ७७ कित्ता जमिन खरिद गरे । १५ रोपनी भन्दा धेरै जमिन खरिद गरेको उक्त सिमेन्ट प्रालीले २०६५ साल पुष ११ गते सिराहा जिल्ल लहान नगरपालिका वडा नम्वर ७ घर भएकी श्रद्दा मुरारकाका नाममा पास गरिदिए । अझै श्रद्धाका नाममा मालपोत कार्यालय काभ्रेमा कित्ता नम्वर ४ मा ३ रोपनी ३ आना १ पैसा १ दाम र कित्ता नम्वर ५ मा १ रोपनी, १ आना ३ पैसा जमिन बाँकी छ । बाँकी कित्ता श्रद्धा मुरारकाले राजन श्रेष्ठ भरतपुर नगरपालिका १ चितवन, तारानाथ ढकाल, गुल्मी, गोविन्दप्रसाद शर्माका नाममा विक्री गरिन् ।

त्यतिबेलासम्म उक्त कुलो नमासिएको वडा अध्यक्ष कुईकेलले बताउनु भयो ।
प्लटिङ्ग गरी जमिन विक्री गर्ने क्रममा तारानाथ ढकालको समुहले सार्वजनिक कुलो विक्री गरेको हो । ढकालले श्रीमती सिता पौड्याल र गोविन्दप्रसाद शर्माले छोरा सुमित ज्ञवालीका नाममा समेत जग्गा पास गरिदिएर प्लटिङ्ग शुरु गरेका थिए । उनिहरुले २०७५ असार ३१ गते राजिनामा पास गरे लगत्तै २०७५ भदौ २६ गते अंश भरपाईमा अनिता मानन्धर हुँदै कुमार श्रेष्ठलाई चार कित्ता विक्री गरे । यस्तै थुप्रै ब्यक्तिहरु खडा गरी २१ कित्ता जग्गा ढकाल समुहले पास ग¥यो । सोहि प्लटिङ्गको जग्गामा भएको विवाद, अदालतको उजुरी र बैकको ऋणका कारण एक ब्यक्तिले आत्महत्या समेत गरेको श्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्