मूल्यवृद्धि नियन्त्रण गर



सरकारले बजेट सार्वजनिक गरेसँगै बजारमा मूल्यवृद्धिको आतंक मच्चिएको छ । केही व्यपारीले आफूखुशी मूल्य तोकेर उपभोक्तालाई बिक्री गरिरहेका छन् । उपभोक्ताहरु पनि चर्को मूल्य तिर्न बाध्य भएको गुनासो आउन थालेको छ । बजेट आएसँगै मूल्यवृद्धि भए पनि व्यपारीहरुले त्यो भन्दा बढी शुल्क उपभोक्ताबाट लिँदै आएका छन् । दैनिक उपभोग्य वस्तुको अभाव गराएर उपभोक्तालाई चर्को शुल्क लिएको गुनासो निरन्तर आइरहेको छ ।

सरकाले त्यस्ता व्यापारीलाई कार्वाही गर्ने बताए पनि अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका छन् । दैनिक उपभोग्य वस्तुमा नै बढी पैसा तिर्नुपर्दा उपभोक्ताहरुले चर्को आवाज उठाइरहेको अवस्था छ । बजार अनुगमनमा देखिएको कन्जुस्याइँले व्यापारीहरुलाई मूल्यवृद्धिको लागि थप प्रोत्साहित गरिरहेको छ । उपभोक्तको अधिकार संरक्षणका लागि कुनै निकायले गम्भीरताका साथ प्रश्न उठाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा उपभोक्ताको अधिकारको संरक्षण गर्दै जिम्मेवार निकायले आवाज उठाउनुपर्ने बेला आएको छ । देशमा कालोबजारी फस्टाउँदै गएको छ । तर पनि नियमनकारी निकाय कानमा तेल हालेर बसिरहेको अवस्था छ ।

तसर्थ, देशभर अनुगमनको आवश्यकता छ । बजेटको नाममा उपभोक्ता ठग्ने व्यापारीको पहिचान गरी कानुनी दायरामा ल्याउन जिम्मेवार पक्ष गम्भीर हुन जरुरी छ । बजार अनुगमनमा सम्बन्धित निकायले कन्जुस्याइँ गर्नुहुँदैन र उपभोक्ताको अधिकारको संरक्षणमा ध्यान दिन आवश्यक छ ।
– सन्तोष रेग्मी, पाल्पा ।

वायु प्रदूषण न्यूनीकरणमा किन उदासीन ?
विश्वमा बढिरहेको वायु प्रदूषण न्यूनीकरणमा ध्यान दिँदै यस वर्ष ‘स्वच्छ वायु ः स्वस्थ जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ । वातावरणीय र पर्यावरणीय मुद्दाबारे समाजमा आर्थिक, राजनीतिक र सामाजिक जागरण ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वान्मा सन् १९७३ जुन ५ तारिखदेखि विश्व वातावरण दिवस मनाउन शुरू गरिएको हो । हरेक वर्ष एउटा उद्देश्य र एजेन्डा प्रस्तुत गरी मानिस र प्रकृतिबीचको सम्बन्ध बुझाउन र विश्वभरका मानिसलाई वातावरण संरक्षणमा लगाउने उद्देश्यका साथ यो दिवस मनाइने गरिएको छ । मानिसको अस्तित्व प्रकृतिसँगै जोडिएको हुन्छ । प्रकृतिको विनाश हुनु अन्ततः मानवकै विनाश हुनु हो ।

विश्व एक्काइसौँ शताब्दीमा प्रवेश गर्न लाग्दा सबैभन्दा ठूलो चुनौती र समस्या नै जलवायु परिवर्तनका कारण भइरहेको छ । जलवायु परिवर्तनले वातावरणीय समस्या उत्पन्न भइरहेको छ । वातावरण संरक्षण गर्नु हामी आफैँका लागि हो भन्ने वास्तविकता बोध हुन नसक्दा विश्वमै वातावरण विनाशको संकट देखिन थालेको छ ।

कार्बन उत्सर्जनको उच्च वृद्धिसँगै जलवायु परिवर्तनको असर देखिएको छ । जलवायु परिवर्तनका कारणले नेपालका सबै हिमताल हराउने र पिउने पानीको समेत संकट हुने अनुमान गरिएको छ । मानवीय गतिविधिका कारण पछिल्लो समयमा जैविक विविधता तथा वातावरणमा नकारात्मक प्रभाव बढिरहेको छ । विश्वभर बढ्दै गरेको तापक्रमका कारण जलवायु परिवर्तन हुँदा बेमौसममै अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, भूक्षयजस्ता समस्या देखिएका छन् ।

नेपालको हिमाली क्षेत्रलगायत पहाड र तराईका वनजंगल, जललगायत प्राकृतिक स्रोत जोगाउन नेपालले पर्यावरणीय क्षेत्रमा ठूलो योगदान गरिरहेको छ । तर, केही दशकयता प्राकृतिक स्रोतको क्षयीकरण र विनाश बढ्दै गएको छ । उद्योग, कलकारखाना र औद्योगिकीकरणले कार्बन उत्सर्जन गरी ओजन तहलाई नै पातलो बनाउने काम गरेको छ । नेपालले हालसम्म वातावरण संरक्षणमा योगदान दिएर पर्यावरणीय सेवा प्रदान गरिरहेको छ । तर बढ्दो धूलो, धुवाँ र वायु प्रदूषण नियन्त्रणमा चुकिरहेका छौँ । बढ्दो वायु प्रदूषणका कारण विभिन्न रोगको प्रकोप बढ्दै गएको छ । वायु प्रदूषण न्यूनीकरणका लागि अहिलेदेखि नै सोच्नुपर्ने बेला आएको छ । यसका लागि सरकार उदासीन नबन ।
– त्रिलोचन खड्का, गैंडाकोट, नवलपरासी ।

प्रतिक्रिया दिनुहोस्