इमोबाट चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई जना पक्राउ



विराटनगर ।
सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । गएको पुस १५ गते चिट्ठा परेको छ भनी ठगी गर्ने २ जनालाई पक्राउ बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो । पक्राउ पर्नेमा एकजना विराटनगर महानगरपालिका र एकजना धनपालथान गाउँपालिकाका रहेका छन् ।

इलामको माई नगरपालिका वडा नम्बर(८ बस्ने पासाङ शेर्पालाई एक अपरिचित व्यक्तिले इमो मार्फत म्यासेज पठाएर तपाइँलाई २५ लाख रुपैयाँ चिट्ठा परेको छ भनी फोन गरे । तर उनलाई त्यो रकम लिनको लागि ४५ हजार रुपैयाँ जम्मा गर्नु पर्ने शर्त राखिएको थियो । त्यस बापत लाग्ने रकम पासाङको ग्लोबल आईएमइ बैंकको खातामा पठाइ दिनु भनेपछि शेर्पाले रकम पठाइ दिए ।

ती अपरिचित व्यक्तिले करिब एक घण्टापछि फेरि फोन गरेर कम्प्युटरमा लक लागेको छ, अरु ७५ हजार पठाइदिन भनेपछि शेर्पाले त्यो रकम पनि पठाइदिए । उनले एकैदिन माग गरिए अनुसारको एकलाख २० हजार रुपैयाँ पठाएपछि चिट्ठा र्पयो भन्ने व्यक्ति सम्पर्क्विहीन भए । त्यसपछि शेर्पाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे ।

शेर्पाले दिएको उजुरीका आधारमा प्रहरीले ठगी गर्ने उद्देश्यले रकम पठाउन खाता नम्बर उपलब्ध गराउने विराटनगर महानगरपालिका ११ बस्ने वर्ष २३ को निरज मरिकलाई पक्राउ गर्यो । बुधवार पक्राउ परेका मरिकसँगको प्रारम्भिक अनुसन्धानको क्रममा मरिकको नाममा रहेको खाता नम्बरमा रकम पठाउन लगाउने व्यक्ति मोरङकै धनपालथान गाउँपालिका(६ बस्ने ३६ वर्षीय श्रवण मलहालाई बिहीबार नै पक्राउ गर्यो ।

पक्राउ परेका दुई जनाको साथबाट विभिन्न व्यक्तिको नागरिकता तथा व्यक्तिगत परिचय पत्रका प्रतिलिपीहरूसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । श्रवण मलाह गएको पुस २६ गते पनि इमोबाट ठगीको काण्डमा पक्राउ परेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका ७ हाटखोलाबाट इमो मार्फत ३० हजार रकम ठगी गरेको अभियोगमा पक्राउ गरी अनुसन्धानपछि मोरङ जिल्ला अदालतले गएको माघ २२ गते मलाहलाई दुईलाख धरौटीमा छाडेको थियो । पक्राउ परेका व्यक्तिको सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसूर अन्तर्गत अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्