सौर्य ऊर्जाबाट नगरपालिकामा पानी



नेपाल समाचारपत्र, रुकुम
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बर्षाैंदेखीको खानेपानी समस्या खेप्दै आएका चौरजहारीबासीले खानेपानी पाउने भएका छन् । चौरजहारी नगरपालिकाले खानेपानी नभएका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टींग सिस्टमबाट पानी पुर्याउन सुरु गरेपछि खानेपानीको समस्या हल हुने भएको हो ।

सौर्य ऊर्जाबाट ठुलीभेरीको नदी लिफ्टींग गरी एक घर एक धाराको अवधारणा नगरपालिकाले अगाडी सारेको छ । चौरजहारी नगरपालिकाको वडा नं १,२,३ मा आगामी मंसिर भित्रै खानेपानी घरघरमा पुर्याउने लक्ष्य अनुसार काम भइरहेको नगरपालिकाले जनाएको छ ।

यसै गरी वडा नं ६,९,१०,११ १२,१३ र १४ का अत्यन्तै उचाईमा रहेका खानेपानीबाट बञ्चीत क्षेत्रमा खानेपानी पुगी सकेको छ । चौरजहारी नगरपालिकाकै अन्यन्तै सुख्खाग्रस्त क्षेत्र मानिएको अम्बाचौरमा पनि खानीपानी पुगेपछि स्थानीयले खुसी मनाएका छन् ।

घरघरमा पानी पुगेपछि भेरी नदीको पानी बोक्नुपर्ने बाध्यता अव नभएको स्थानीय शारदा चन्दले बताउनुभयो । चौरजहारीबासीको सबै भन्दा ठुलो समस्या खानेपानी भएकोले नगरपालिकाले सुरुमै खानेपानी समस्या हल गरेपछि आफुहरुलाई सहज भएको स्थानीय देवबहादुर बटालाको भनाई छ ।

नगरपालिकाले साना ठुला गरी १३ वटा खानेपानीका योजना सम्पन्न गरेको नगरप्रमुख बिशाल शर्माले जानकारी दिनुभयो । नगरप्रमुख शर्माका अनुसार ३००० घरधुरी प्रत्यक्ष लाभाम्बीत हुने छन् । स्थानीयबासीलाई बर्षौंदेखी पिरोल्दै आएको खानेपानी समस्या हल हुन थालेपछि यस क्षेत्रका बासिन्दाले सिंचाई एवं बिभिन्न करेसाबारी निर्माण तर्फ पनि जोड दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्