महिलाको ‘म’ देख्ने बित्तिकै मेरा आँखा चनाखा हुन्छन्




अमृता लम्साल
काठमाडौंको चाबहिलमा जन्मी–हुर्की गरेकी अमृता लम्साल महिला अधिकारका क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्छ । खासगरी पत्रकारिताका माध्यमबाट लम्साल लैङ्गिक समानताको अभियानमा लाग्नुभएको छ । पछिल्लो समयमा पत्रकारिता मात्र नभएर उहाँको अभियानको माध्यम मिडिया भएको छ– सोसल मिडिया ।

फेसबुकमा स्टाटस लेखेकै आधारमा उहाँले साना–ठूला परिवर्तन गराउनुभएको छ । ‘हेलो सरकार’लाई उहाँले पठाएका उजुरी र जानकारीले सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा सुधार भएका थुप्रै उदाहरण छन् । १४ वर्ष लामो पाताल (अमेरिका) प्रवासपछि गत पाँच वर्षदेखि नेपालमै रहँदै आउनुभएकी लम्साल महिलामाथि हिंसा वा विभेद गर्ने जतिसुकै ठूलो समूहका लागि पनि ‘वन पर्सन आर्मी’ हुनुहुन्छ । प्रस्तुत छ, लम्सालसँगको अन्तर्वार्ता ।

तपाईंलाई महिला अधिकारका क्षेत्रमा लाग्न प्रेरित गर्ने पहिलो, दोस्रो र तेस्रो घटना उल्लेख गरिदिनुहुन्छ कि ?
प्रश्नमा सोधिए जस्तो महिला अधिकारको क्षेत्रमा लाग्न के र कुन घटनाले प्रेरित गरायो भनेर सोच्दा, मसँग यसको जवाफ नै रहेनछ ।

अहिले यसो सोचेर ल्याउँदा, एसएलसी दिंदाको पहिलो घटना झलझली याद आउँछ । मैले, चावहिलको पशुपति मित्र माविबाट एसएलसी दिएको हो । त्यो सहशिक्षाको स्कुल थियो । हाम्रो कक्षामा, एउटै परिवारको दिदी र भाइ पढ्न आउँथे । स्कुलबाट सेन्ट–अप परीक्षामा पास भैसकेपछि, एसएलसीको जाँच दिन फर्म भर्नुपथ्र्यो । मलाई मेरो अभिभावकले एक सय रुपियाँ दिएर फर्म भर्न पठाउनु भएको थियो । सायद, त्यसको लागि ३६ देखि ४८ रुपियाँ लाग्थ्यो । मैले फर्म भरिसकेपछि, त्यो परिवारको दिदीले पैसा सापट मागिन् । उनको घरबाट, उनको भाइलाई फर्म बर्न पैसा दिइएछ तर उनलाई दिइएनछ ।

त्यो दिन फर्म नभरेको भए, उनले त्यस वर्ष एसएलसी दिनै पाउँदैन थिइन् । मैले उनलाई सापटी दिएँ । पैसा अहिलेजस्तो सस्तो थिएन, घर फर्किएपछि, त्यो पैसा सापटी दिएको कस्तो परिणाम भोग्नुपथ्र्यो भन्ने जानेरै पनि दिएँ । किनकि, मैले उनको आँखाको आँसु देख्न सकिनँ । अर्को कुरा उनको परिवारसँग पनि रिस उठ्यो । उनलाई किन पैसा नदिएको होला ! भाइलाई दिने तर उनलाई नदिने ! तर कुनै महिला अधिकार जानेर होइन, अन्याय गरेको देखेर । त्यतिबेला म १३ वर्षकी थिएँ । उमेर बढाएर एसएलसी दिएको । त्यतिबेला, अहिलेको जस्तो उमेर ठीक लेख्ने चलन पनि थिएन ।

म, छोरीमात्रै भएको घरमा जन्मिएकी, विभेद खासै थाहा भएन । भैरहेको विभेदलाई विश्लेषण गर्ने शिक्षा र योग्यता दुबै थिएन । बुवाको आमाले सँधै, ‘माइला बाबुलाई सम्पत्ति किन चाहियो र ? उनका सन्तान छैनन् ।’ भन्नुहुन्थ्यो । त्यसले पनि मेरो चित्त दुस्ख्दैन थियो । एक त, म, हजुरआमालाई मायाँ गर्थें । अर्को, हामी हुर्किएको परिवेश समयले छोरीलाई सन्तान मान्दैनथ्यो । त्यसैले ठूलो कुरै लाग्दैनथ्यो । एउटा काँचको सिसी माझ्दै गर्दा फुट्यो भने पनि ‘उसलाई के भयो र ! उसको आफ्नो होइन, अर्काको घरमा जानेलाई के माया !’ भनेको सुन्दै हुर्किएको, ती सबै कुराहरू मन र मस्तिष्कमा दाल–भात खाए जसरी जरा गाडेर बसेका थिए ।

जन्म घर पनि कडा नै हो तर ‘कर्म घर’ गएपछि, हरेक कुरामा बुहारी भनेको केवल घरको काम गर्न र सबैको सेवा गर्न भित्र्याइएका घरको नयाँ सदस्य मात्र रहेछन् भन्ने बुझ्दै गइयो । त्यहाँ पनि आवाज निकाल्न हुँदैनथ्यो । खान पनि सबैले खाइसकेपछि मात्रै खान पाइन्थ्यो । हिँड्दा, भ¥याङमा चप्पलको आवाज आउँदा पनि गाली खाने डरले विस्तारै हिँड्नुपथ्र्याे। तर डरैडरमा सकेसम्म ‘लयालु बुहारी’ बन्ने कोशिसमै लागियो । अनि एक दिन नेपाल राष्ट्र बैँकमा जागिर खाएँ । घर बाहिरको संसार देखें । त्यसपछि बोली अलिकति उँचो हुँदै गयो ।

त्यसैक्रममा २०४८ सालमा नेपाल प्रेस इन्सटिच्युट पढ्न गएँ । त्यहाँबाट लेख्ने र रिपोर्टिङ गर्ने सिलसिलामा महिला आन्दोलनकी अग्रणी नेता आदरणीय दुर्गा घिमिरेसँग भेट भयो । उहाँले बिभिन्न कार्यक्रमहरूमा बोलाउन लाग्नुभयो । बल्ल विभेदका कुरा छुट्याउन सक्ने आँखा खोलिँदै गए । अनि पो लाग्यो, मैले अन्याय ठानेका घटनाहरू त महिला अधिकारकै कुरो रहेछन् भने र ! थाहै नपाई यो क्षेत्रमा लागिएछ ।

महिला अधिकार पुरुषका लागि पनि हो, लैङ्गिक समानतायुक्त समाजका पुरुष आजको असन्तुलित समाजमा भन्दा बढी लाभमा हुन्छन् भनिन्छ ।कसरी लैङ्गिक समानतायुक्त समाजमा पुरुषले बढी लाभ पाउँछन् ?

यसलाई पुरुषले कसरी बढी लाभ लिन्छन् भनेर प्रश्न गर्नुभन्दा पनि पूरै परिवार र समाजलाई कसरी लाभ हुन्छ भन्ने कोणबाट हेर्दा ठीक होला कि !

एउटा उदाहरण लिन चाहन्छु, भर्खरै, स्विडेनको एउटा रिसर्च रिपोर्टबारे आएको समाचार पढ्दा, त्यहाँ भनिएको रहेछ, ‘महिलाको बच्चा जन्मिदा, उनको पति या पार्टनरलाई दिइने ३० दिनको छुट्टीले, महिलाको स्वास्थ्यमा एकदमै सुधार भयो रे ! स्विडेनले सन् २०१२ मा एउटा कानुन ल्याएको थियो, जसअनुसार, नयाँ जन्मिएको बच्चाको बाबुले चाहेमा, ३० दिनको बिदा लिन पाउनेछन् । त्यो बिदा, आमाको बिदा काटेर वा विकल्पमा होइन ।

त्यसले गर्दा, बच्चा जन्माउने आमालाई, ६ महिनाभित्र हुनसक्ने ‘पोष्टपार्टम’ को बिरामीमा २६% ले कटौती भएछ । आमा भैसकेपछि विभिन्न कारणले हुने बिरामीबाट अस्पताल भर्ना हुने संख्यामा १४% ले ह्रास आएछ र एन्टिबायोटिकको प्रेस्क्रिप्सनमा एक सय १% ले कमी आएछ । अनुसन्धानकर्ता माया रोसिन स्लेटरले गरेकी यो अनुसन्धानको रिपोर्ट ५ जुन २०१९ को न्युयोर्क पोष्टको समाचारमा पढेकी हुँ । योबाहेक, त्यो ३० दिनको छुट्टीले घरभित्रका कामहरू र बच्चाको स्याहार, बच्चाले बाबुबाट पाउने अन्तरंग समय आदिमा कति सकारात्मक भूमिका खेल्यो होला त ?

देख्दा त त्यो जम्मा ३० दिने छुट्टीको मात्रै कुरा थियो नि ! प्रभाव कता–कता पुग्दोरहेछ त !
पुरुषको सहयोग र संलग्नताले यसरी नजाँनिंदो तवरबाट सकारात्मक प्रभाव छाडिरहेको हुन्छ । त्यसबाहेक, जब उनीहरू घर र बच्चासँग नजिक हुन्छन्, तब उनीहरूको आफ्नै व्यक्तिगत सम्बन्धहरूमा पनि न्यानोपन आउँछ । घरका कामहरू बाँडिएपछि, महिलाले पनि आफ्नो व्यक्तित्व विकासको लागि समय पाउँछिन् । बच्चाले पनि बाबुबाट सिक्छ, त्यो भनेको आफूपछिको पुस्तालाई सिकाउनु पनि हो ।

घर–परिवारमा ‘मैले भनेको नै अन्तिम सत्य हो’ भन्ने मानसिकताबाट पुरुष पनि मुक्त हुन्छन् । सल्लाहले पारिवारिक हितका कामहरू गर्न सकिन्छ । घर–परिवारमा आर्थिक स्थायित्व बनाउन मद्दत पुग्छ । ‘मालिक र दास’ भन्नेजस्तो सोच परिवर्तन गराउन मानसिक दवाव हुन्छ । पुरुषको पनि अरूको कुरा सुनेर निर्णय गर्ने बानी बस्छ । समग्रमा, यसको प्रभाव वर्तमान पुस्तालाई मात्रै नभई भविष्यका पुस्तासमेतलाई पुगेको हुन्छ ।

के यस प्रकारको चेतनायुक्त पुरुषको संख्या बढेको हो ?
होइन, भन्न पनि मिल्दैन । हो, भनेर गर्व गर्ने स्थिति पनि छैन । समाज खुल्ला हुँदै गएको कारणले, एकल पारिवारिक बाध्यताले, अनेक खालका जेन्डरका तालिम, जागिर खाने ठाउँहरूमा विस्तारै परिवर्तन भएको नीति तथा नियमले बाध्य बनाएको हो, चेतनायुक्त हुनलाई । मन भित्रबाट आत्मसात् गरेर आउने संख्या अजै पनि न्यून नै छ ।

कारण, एउटा बच्चाले जति कुरा सिकिसक्नु पर्ने हो, त्यो ७ वर्षको उमेरसम्म सिकिसक्छ भनिन्छ । तर हाम्रो शिक्षाको पाठ्यक्रम कस्तो छ भने, बच्चालाई अझै पनि ‘बा घरबाहिर काममा जानुहुन्छ, आमा घरको काम गर्नुहुन्छ’ भन्ने खालको शिक्षा दिइन्छ अनि त्यही विउ हालेर परिपक्व भएको युवालाई चार दिने जेन्डर तालिम दिएर परिवर्तन भएन भनेर गुनासो गरिन्छ । कता मिल्छ यो सोच ? कसरी आउँछ परिवर्तन ? तर पनि पूरै नकारात्मक हुन हुँदैन, अहिलेका पुस्ताले छोरा र छोरीलाई बराबर हुन् भन्ने शिक्षा दिएर हुर्काउन थालेका छन् । युवा बाबुहरू पनि घरको काममा हात बटाउँछन्, देखेर खुसी लाग्छ ।

तपाई कति पत्रकार र कति अधिकारकर्मी ? महिला अधिकारका मुद्दाबाहेक अरु विषयमा पनि कलम चलाऊँजस्तो लाग्दैन ?
खै, म कति पत्रकार, कति अधिकारकर्मी, म, आफैंलाई थाहा छैन। तालिम लिएको त पत्रकार नै बन्न हो । सुरु पनि त्यही हो । पत्तै नपाई अधिकारकर्मी भैएछ । अझ, बनाइदिएछन् भन्छु म त !

मैले आजसम्म जेन्डरसम्बन्धी किताब पढेकी छैन, भर्जिनिया उल्फ र सिमोन डि बुआ पनि पढेकी छैन । जे लेख्छु, मेरो भोगाइ र अनुभव हो । लेख्न थाल्नुभन्दा अगाडि र लेख्न थालेपछि, मैले घरेलु हिंसा र सामाजिक हिंसाबाट ज्यान गुमाएका दुइटा लास आफ्नो आँखा अगाडि देखें । उनीहरूलाई बचाउन नसक्दा विछिप्त भएँ । आँसु बगाएँ । त्यस्तै कुराले मलाई यो बिषयमा कठोर बनाएको होला !

कतिपटक सोच्छु, ‘आ… खानु न पिउनुसँग महिलाका मुद्दा उठाएर किन रातदिन गाली खानू ! अब यो बिषय, हेर्दिनँ, बोल्दिनँ र लेख्दिनँ ।’ तर जब एउटी महिलामाथि अन्याय देख्छु, पीडा देख्छु अनायासै यही विषय समातिन्छ । किनकि, यो बिषयमा कलम चलाउने, अझै निर्मम भएर कलम चलाउने मानिसहरू धेरै छैनन् ।

राजनीतिक मुद्दा लेखेर केन्द्रविन्दुमा पर्नु, साहित्यिक कुरा लेखेर गाली नखाई बस्नु पनि गर्न सकिन्थ्यो होला । जुनसुकै कुरा पनि प्राक्टिस त हो नि ! अनवरत रुपमा लगन लागेर सिक्यो भने त्यति गर्नसक्ने क्षमता त ममा पनि पक्कै होला ! तर जब ‘प्यासन’ भन्ने शव्द आउँछ, मेरो प्यासन यही भयो ।
आजकाल त म सोसियल मिडियामा पनि हेर्छु, कहिलेकाहीं सोच्छु पनि, ‘किन महिलाको ‘म’ देख्ने बित्तिकै मेरा आँखा चनाखा हुने ? अरूले जस्तै, नसुनेको जस्तो नदेखेको जस्तो गर्न नसक्ने ! अब म पनि, त्यसै गर्छु’ भन्ठान्छु तर महिलाबारे लेखिएको नकारात्मक कुरा, उनीहरूमाथि भएको अन्यायको समाचार देखेपछि चुप लागेर बस्न सक्दिनँ । मेरो कमजोरी !

कानुनले पैत्रिक सम्पत्तिमा छोराछोरी बराबरी भनेको छ, तर व्यवहारमा न त बाबुआमाले छोरीलाई अंश दिइरहेका छन्, न त छोरीले पैत्रिक सम्पत्ति मागेका छन् । समाज तयारै नभई अधिकारकर्मीहरुको बलमा कानुन आएछ हो ?
यसबारे लामो कुरा भन्दिनँ । ‘कानुन’ एउटा टेक्ने बाटो हो, यसमा टेकेर अगाडि बढ्न खोज्नेलाई यसको ठूलो जरुरत हुन्छ । हैन, त्यताको बाटो जानु नै छैन भनेर सन्तोष गरेर बस्नेलाई त तपाईँले हिरा मोतीको थूप्रो नै अगाडि राखिदिए पनि काम छैन । कानुन चाहिन्थ्यो, आयो । यही कानुन भएरै ‘डर’ पनि छ । ‘आड’ पनि छ र ‘आधार’ पनि छ । सम्बन्ध राम्रो हुन्जेल, छोरीले पनि सहेर बस्लान्, सम्बन्ध नराम्रो भएको दिनमा उनीहरूले पनि कहाँ छाड्लान् र ?

केही दिनअघि, एकजना सक्षम महिलाले आफ्नो पैत्रिक सम्पत्ति लिन मुद्दा लड्नुप‍¥यो, कता राम्रो वकिल पाइन्छ भनेर खोज्दै गरेको सुनेकी थिएँ । सम्बन्ध राम्रो छउन्जेल त राम्ररी पढाइ लेखाइ गर्न सहयोग, सहायता गर्छन् । सम्पत्तिको आवश्यकै हुन्न नि ! त्यसैले ’कानून’ चाहिन्थ्यो, आयो भनेर खुसी मान्ने मान्छे परें ।

तपाईं लैङ्गिकमैत्री पिताकी सुयोग्य पुत्री हुनुहुन्छ । तर तपाईंले जीवनमा आफ्ना पिताजस्ता पुरुषहरु चाहिं कति पाउनुभयो ?
म, मेरो बाबुलाई सबैभन्दा लैंगिक–मैत्री व्यक्ति मानेर हुर्किएँ । भलै, त्यतिबेला यसरी बिश्लेषण गर्ने बुद्धि थिएन । अहिले हेर्दै र सोच्दै जाँदा त्यस्तो लाग्छ । त्यसको मतलव, उहाँमा छोराको चाहना नभएको वा उहाँ सर्वगुणसम्पन्न हुनुहुन्थ्यो पनि भन्दिनँ । तर उहाँ जत्तिकै पुरुष एकदम कम भेटेकी छु । मेरो काका पनि त्यस्तै हुनुहुन्छ । अहिले मेरो ज्वाईं (छोरीको श्रीमान्) देखेर आनन्द लाग्छ ।

सायद, त्यस्तै व्यक्तित्व नदेखेर पनि ’विभेद’ र ’लैंगिक समानता’को बारेमा तुलना गर्न पनि थालेछु कि ! त्यसैले पनि अधिकांशले गर्ने व्यवहारप्रति असन्तुष्ट र रुष्ट हुने रहेछु कि !

समाजमा महिलाहरु श्रीमान्बाट हुने घरेलु हिंसा सहेर पनि श्रीमान्सँगै आँसु पिएर बसेका छन्, उनीहरुलाई किन भिन्न भएर नबसेको, कडा कदम नचालेको भन्दा छोराछोरीहरुले बाबुआमामध्ये एकको मायाबाट वञ्चित हुनु नपरोस् भनेर भन्ने जबाफ दिन्छन् । यसमा तपाईं के भन्नुहुन्छ ?
उनीहरू आर्थिक रुपले सशक्त हुन्थे वा समाजले सजिलै बाँच्न दिन्थ्यो वा माइती घरको सपोर्ट हुन्थ्यो भने धेरै महिलाहरूले रोएर बाँच्नुपर्दैनथ्यो । म पनि आजभन्दा डेढ दशकअघिसम्म यति सशक्त भएर ‘वार कि पार’ भन्ने स्थितिमा बोल्न सक्दैनथिएँ । किनकि, मलाई, आफ्नो मानसिक सुखभन्दा, अर्काले के भन्छन्, अरूलाई कसरी सुखी र खुसी बनाऊँ भन्ने चिन्ताले बढी पिरोल्थ्यो । जबसम्म त्यो मानसिकता त्याग्न सकिन्न, रोएरै बस्नुपर्छ । किनकि, यो समाज अति नै निर्मम छ, यहाँ मर्नेलाई सजिलो छ, बाँच्नेलाई पाइला–पाइलामा समाजले ठोस्न चाड्दैन, भलै कसैको तीन र तेह्रको नाता नहोस् !

नेपालमा महिला हिंसाविरुद्धको अभियानलाई अझ सबल बनाउन के के गर्नुपर्छ ? प्राथमिकताका आधारमा पाँच बुँदा उल्लेख गरिदिनुहुन्छ कि ?
पहिलो र नभइ नहुने भनेको हरेक महिला र छोरीलाई आर्थिक रुपले सशक्त बनाउनुपर्छ । आर्थिक सशक्तिकरण नभई कुनै कुरामा पनि अगाडि बढ्न सकिन्न । घरमा पिटाइ खाएकी महिलाले, घरबाट निस्कनै चाहेको खण्डमा पनि खाने, बस्ने ठाउँ नभई कता जाने ?

दोस्रो नम्बरमा शिक्षा वा तालीम त चाहियो नै चाहियो । शिक्षाले बोल्न, बुझ्न, लड्न, कमाउन सबैकुरो सिकाउँछ । आत्मनिर्भर बनाउँछ ।

तर शिक्षाको नाममा ‘आमा घरमा बस्नुहुन्छ बा घरबाहिर काममा जानुहुन्छ’ को पढाइ होइन । गुणस्तरीय र लैंगिक शिक्षा पूर्वप्राथमिक स्कलदेखि नै सिकाउनुपर्छ । त्यसो भयो भने, महिला, पुरुष भनेर छुट्टाछुट्टै रुपले तालिमको जरुरत नै पर्दैन ।

तेस्रो, न्यायमा महिलाको पहुँचलाई सशक्त तथा प्रभावकारी बनाउने । अहिले अधिकांश मुद्दाहरूमा ’प्रहरीको भूमिका’ माथि प्रश्न चिन्ह उठिरहेको देखिन्छ । हिंसा पीडित महिलालाई, मिलापत्रमा जोड दिएर फेरि हिंसा पीडित बनाउने कार्य रोकिनु पर्दछ र विद्यमान कानुनहरूलाई कार्यान्वयन गराउन, कार्यान्वयन भएको नभएकोमा पनि निगरानी गरिनुपर्दछ ।

चौथो लैँगिक समानता र महिलामाथि हुने हिंसासम्बन्धी बिषयलाई ‘क्रस कटिङ इस्यू’को रुपमा हरेक मन्त्रालय, विभाग, र सरकार तथा गैरसरकारी निकायको हरेक तप्कामा लागु गरिनु पर्दछ । यो, महिलाको मात्रै बिषय होइन, सामाजिक मुद्दा हो भनेर प्रत्येक व्यक्तिको मन–मस्तिष्कमा छिराउन सक्नुपर्छ। हिंसा भनेको चलिआएको रीत हो, विस्तारै सुध्रिन्छ भन्ने मानसिकता त्याग्नु पर्छ ।

पाँचौंमा, मानव अधिकारको पालना गराउनु राज्यको दायित्व हो । मानव अधिकार भनेकै महिला अधिकार पनि हो । राज्य भनेको, राजनीतिक दलहरूबाटै बनेको कार्यकारिणी निकाय हो । त्यसैले, राज्यले पालन गर्ने मानव अधिकारका कुराहरूलाई, दलबाट आएका व्यक्ति र कार्यकर्तालाई पनि पालना गर्न बाध्य पारिनुपर्छ । दलमा भएकै कारणले कसैलाई पीडित बनाएर दलको आडमा मुक्त होइने घृणित व्यवहारमाथि कडा कारबाही हुनुपर्छ ।

थप केही भन्नु छ ?
मलाई एउटा मात्रै कुरा के भन्नुछ भने, महिला अधिकारको कुरालाई ‘डलरवादीले उठाएको इस्यू’ भन्नेहरूको घरको निकटतम सदस्यमाथि नहुनुपर्ने हिंसा घटिरहेको देख्दादेख्दै ती महिला, मानसिक, शारीरिक रुपले विक्षिप्त हुँदासम्म कसैले सरोकार राखेन, उल्टै, त्यही घरको व्यक्ति वा नजिकका सदस्यको अनुहार नै अगाडि गएर ‘त्यो डलरवादी कुरो थियो, त्यसैले सहयोग गरिएन !’ भनेर कसैले भन्यो भने तपाईँ कस्तो महसुस गर्नुहुन्छ होला, अनुमान लगाउनुस् त !

हो, महिला अधिकारको क्षेत्रमा कार्यरत र आवाज उठाउनेहरूलाई पनि ‘डलरवादी’ भनेर वारम्वार आरोप लगाउँदा त्यही पीडा महसुस हुन्छ । किनकि, उनीहरू महिलाहरू नमरून् वा उनीहरूले विक्षिप्त भएर जीवन बिताउन नपरोस् भनेर सकेको सुधार गर्ने प्रयत्नमा लागेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्