चुनावी माहोलले ताते कलाकार



नेपाल चलचित्र कलाकार संघको भोलि शनिबार राजधानीमा हुने नयाँ कार्यसमिति निर्वाचनका अध्यक्ष उम्मेदवार अभिनेता रवीन्द्र खड्काले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।

उनले आफ्नो प्रतिबद्धतामा कलाकारको वर्गीय हकहित र सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गरेका छन्। साथै कलाकार सदस्यहरूको जीवनबीमा गराउने, सरकारले भर्खरै घोषणा गरेको सामाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने, फान अवार्डलाई निरन्तरता दिने, संघको भवन निर्माण र चलचित्र नीति २०७१ लाई कार्यान्यवन गराउने प्रतिबद्वतता जनाएका छन्। कार्यक्रमा बोल्दै खड्काले आफू पनौती नगरपालीकाको मेयर भइसके पनि कालकारहरूको हकहितका लागि अध्यक्षमा उठेको बताए।

‘कलाकारितामा लागेको ४२ वर्षमा मैले कहिल्यै पनि पैसाका लागि काम गरिनँ। जति काम गरें, घर परिवारलाई दिनुपर्ने समय पनि कला क्षेत्रको भलाइका लागि खर्च गरें’, कार्यक्रममा खड्काले भने– ‘म नेकपाको सक्रिय सदस्य हँु, तर संघलाई कुनै पनि संगठनको छाता ओढाउन पाइँदैन। म पनि संघलाई दलको छाता ओढाउँदिन, अरुले पनि नओढाऊन्। कलाकार संघ भनेको कलाकारको मन्दिर हो।

यो लँडाइ, झगडा गर्ने र एकले अर्कालाई मुद्दा हाल्ने ठाउँ होइन।’ कसैको नाम नलिई उनले आरोप लगाए– ‘कसैले सदस्यता रिन्यु गर्नका लागि ७÷८ लाख खर्च गरेको पनि सुनियो। तर, मलाई पहिले नै थाहा भएको भए म चुनावमा उठ्दिन थिएँ। त्यो पैसा भवन निर्माणका लागि कोषमा राख्न लगाउँथे। ओत लाग्ने ठाउँ छैन, भोट माग्न नानाथरि नाटक? हुन त मसँग पैसा छैन। तर, पनि संघको आफ्नै भवन निर्माण गर्छु भनिरहेको छु। मानिससँग मेहनत र इमानदारिता भयो भने जे पनि गर्न सकिन्छ, त्यो कुरा धुर्मस सुन्तलीले देखाइसके।’

रवीन्द्रले भावुक हुँदै सम्झे– ‘पूर्वअध्यक्ष स्व. रामकेशर बोगटीले अब अर्को एक कार्यकाल अध्यक्ष हुन्छु र जसरी पनि संघको भवन निर्मँण गर्छु भन्नुभएको थियो। उहाँ जहिले पनि मेरो दुई वटा सपना छन्, एउटा तिम्रो घर भएको हेर्ने र अर्को संघको भवन बनाउने भन्नुहुन्थ्यो।

भवन निर्माणका लागि उहाँले केही पैसा पनि जम्मा गर्नुभएको छ। मैले जितें भने उहाँको सपना पूरा गर्छु, रवीन्द्रले आफ्नी प्रतिद्वन्द्वी अध्यक्षकी अर्की उम्मेदवार अभिनेतृ सरिता लामिछानेको प्रसंग निकाल्दै भने– ‘हामी महिलालाई सम्मान गर्छौं। त्यसैले नै संघको स्थापनाकालमा शान्ति मास्के, त्यसपछि वसुन्धरा भुषाल दिदीलाई अध्यक्ष बनाएका थियौं। सरिता मेरो प्रिय बहिनी हुन्। उनले टेलिभिजनमा लोकप्रियता कमाएकी छिन्। तर, अहिले चलचित्र कलाकारको चुनाव हँुदै छ। त्यसैले चलचित्र कलाकार नै आएको राम्रो।’ सरिताले केही दिनअगाडि पत्रकार सम्मेलन गरेर उम्मेदवारी दिएपश्चात् असुरक्षाको महसुस गरेको सन्दर्भ जोड्दै रवीन्द्रले भने– ‘उनले सुरक्षाको खतरा भयो भनेर रुँदै हिँडेको सुन्छु, तर मलाई भनेकी छैनिन्। यदि मलाई भनेको भए गृहमन्त्रीको टेबल ठटाएर सुरक्षा माग्थें।’

कार्यक्रममा बोल्दै संघको नयाँ कार्यसमितिका लागि कोषाध्यक्ष पदमा निर्विरोध भएका पूर्वसहकोषाध्यक्ष सुनील कटवालले फेरि कलाकार संघमा काम गर्ने मौका पाएकामा खुसी व्यक्त गरे। ‘मैले कोषाध्यक्षको पद आफैंले मागेको होइन। सबैजनाले आह्वान गर्नुभएको हो। कोषको एक रुपियाँ पनि दुरुपयोग हुन दिन्नँ। जग्गा मिलेको खण्डमा ६ महिनामा कलाकार संघको भवनको जग हालिनेछ’ –कटुवालले भने।

रवीन्द्रले संघको निर्वाचनका लागि प्यानलकै घोषणा गरेका छन्। उनको प्यानलमा प्रायः पूर्वकार्यसमितिका पदाधिकारी छन्। प्यानलमा अभिनेतृ रेजिना उप्रेती र अभिनेता विनोद भट्टराई उपाध्यक्ष, चेतबहादुर सिंह महासचिव, पनाह अधिकारी सचिव र पवित्रा आचार्य सहकोषाध्यक्षको उम्मेदवार रहेका छन्। उनको प्यानलबाट श्याम कृष्ण श्रेष्ठ, धनराम केसी ‘मुस्कान’, जीवन थापा, लक्ष्मण चौलागार्इं, पवनप्रसाद खतिवडा, जय किशन बस्नेत, उद्धवप्रसाद भट्टराई, राजेन्द्रकुमार विसुराल, शारदा नेपाल ‘गीता’, माधव पौडेल, गोपाल ढकाल ‘छन्दे’ र किशोर भण्डारीले उम्मेदवारी दिएका छन्।

अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी अभिनेतृ सरिता लामिछानेले पनि केही दिनअघि एक पत्रकार सम्मेलनको आयोजना गरी आफूमाथि ज्यादती भएको बताएकी थिइन्। उनले २० वर्षभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागे पनि आफूलाई गैरकलाकारको आरोप लगाइएको भन्दै कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि आफूले धेरै किसिमका धाकधम्की र बेइज्जती सहिरहनुपरेको आरोप लगाइन्। ‘विभिन्न घटनाक्रमले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु।

मेरो गाडी नम्बर टिप्ने, घरअगाडि आएर घर देखाउने, घर नम्बर टिप्नेजस्ता कार्य भइरहेको छ’, उनको आरोपसहितको प्रश्न थियो– ‘म के हैसियतले ३ वर्ष महासचिव भएँ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ?’ उनले चुनावमा हार वा जित हुने भन्दै प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउनेमा समेत जोड दिएकी थिइन्।

एजेन्डा सार्वजनिक गर्दै सरिताले चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने बताइन्। मलाई भोलिका दिनमा काम नै गर्न दिइएन भने म पत्रकारहरूको अगाडि नै आएर माफी माग्नेछु। तर, काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ। फिल्म क्षेत्रमा नयाँ र पुराना कलाकारलाई मिलाएर एक ढिक्का बनाउने जनाउँदै कलारलाई पेन्सनको पहल गर्ने उनले कार्यक्रममा बताएकी थिइन्।

उनको पत्रकार सम्मेलनमा गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उनीसँगै सहभागी भएका थिए। तीनै जनाले महिला नेतृलाई साथ दिन आग्रह गर्दै सही व्यक्तिलाई नेतृत्वमा ल्याउन आग्रह गरेका थिए। सरिताको प्यानलबाट उनीसहित ३ जनाले उम्मेदवारी दिएका छन्। जसअनुसार कविता गेलाल (शर्मा) ले सचिव र धनबहादुर डीबी बमजनले सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

यसबाहेक उपाध्यक्ष पदका लागि मनोज केसी र सानुकुमार ताम्रकारले नाम दर्ता गराएका छन्। कलाकार संघको कार्यसमितिमा २ उपाध्यक्ष रहने प्रावधान रहेको छ। त्यसै गरी महासचिवमा सञ्जय खतिवडा तथा सदस्यमा शितल केसी, जीके श्रेष्ठ, सुदर्शनप्रसाद आचार्य, धर्मानान्द आचार्य धमेन्द्र र रोहित रुम्बा तामाङले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्