ट्रम्पको बेलायत भ्रमण: पर्यावरण मुद्दामा चाल्र्सबाट ट्रम्प प्रभावित, मेयर सादिकसँग ‘ट्विट वार’



लन्डन, (एजेन्सी),

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसँग लड्ने विषयमा युवराज चाल्र्सको उत्साहलाई लिएर आश्चर्यचकित भएको बताए। युवराज चाल्र्सले भावी पुस्ताका लागि राम्रो विश्वको चाहना राखेकामा ट्रम्प विशेष प्रभावित भएको बताइएको छ।

ट्रम्पले सन् २०१६ मा राष्ट्रपति बनेपछि पर्यावरणसम्बन्धी विश्व सन्धीबाट अमेरिका फिर्ता भएको घोषणा गरेका थिए। उनले पर्यावरणसम्बन्धी सबै नियमलाई रद्द गरिसकेका छन्। यद्यपि बेलायत भ्रमणका क्रममा ट्रम्पले आफू पर्यावरणको हितप्रतिको कटिबद्धतालाई लिएर युवराज चाल्र्सबाट प्रभावित रहेको बताए।

राष्ट्रपति सोमबारदेखि ३ दिवसीय राजकीय यात्रामा लन्डन आएका छन्। उनले बकिंगम प्यालेसमा युवराज चाल्र्ससँग चिया लिने बेलामा कुराकानी गरेका थिए। ट्रम्पले बुधबार प्रसारित एक अन्तरवार्तामा आई टिभीलाई भने– ‘महारानी एलिजावेथ द्वितीयका छोरा युवराज चाल्र्सले जलवायु परिवर्तनको विषयमा राम्रोसँग कुरा गरे। हामी १५ मिनेट मात्र कुरा गर्ने कार्यक्रम थियो। तर, यो कुराकानी डेढ घन्टासम्म चल्यो र धेरैजसो समय उनले नै बोले। उनी जलवायु परिवर्तन विषयमा गम्भीर छन् र मलाई लाग्छ यो अत्यन्त राम्रो कुरा हो। यसको अर्थ मलाई यो मनपर्छ भन्ने नै हो।’

औषधिका कारण ट्रान्सजेन्डरमाथि प्रतिबन्ध

यसैबीच बेलायती टेलिभिजन आई टिभीलाई दिएको साक्षात्कारमा ट्रान्सजेन्डर अमेरिकीहरूका विषयमा पनि बोलेका थिए। ट्रान्सजेन्डर ‘धेरै औषधि सेवन’ गर्ने भएकाले अमेरिकी सेनामा उनीहरूलाई प्रतिबन्धित गरिएको उनले बताए। चिकित्सकको निर्देशनमा लिइने औषधिको प्रयोगलाई लिएर सेनामा कडा नियम रहेको ट्रम्पले प्रष्ट पारे। ट्रम्पले भने– ‘उनीहरू धेरै नै औषधि लिन्छन्, उनीहरूलाई लिनुपर्ने हुन्छ र सेनामा यसरी औषधि लिइरहन अनुमति छैन। तपाईंलाई कुनै पनि औषधि बिनाकारण सेवन गर्न अनुमति छैन। तर, उनीहरूलाई औषधि लिनु नै पर्ने हुन्छ, अपरेसन गरेपछि उनीहरूलाई औषधि आवश्यक हुन्छ, उनीहरूसँग कुनै विकल्प छैन।’

लामो कानुनी लडाइँपछि यो प्रतिबन्ध अप्रिलमा लगाइएको थियो। पेन्टागनले यसलाई पूर्ण प्रतिबन्ध नभएको जनाएको छ। तर, जसले आफूलाई ट्रान्सजेन्डरका रूपमा सूचीबद्ध गराउँछन्, उनीहरूमध्ये धेरैमाथि प्रतिबन्ध लाग्ने गर्छ। यो नीतिले वर्तमान सैनिकहरूमाथि पनि असर पर्ने सम्भावना रहेको छ। ट्रम्पको तीन दिवसीय बेलायत यात्रा बुधबार समाप्त भएको छ।

लन्डन मेयरसँग खटपट

मंगलबार बकिंगम प्यालेसमा ट्रम्पको स्वागतमा दिवा भोजको आयोजना गरिएको थियो। यसअघि ट्रम्पले लन्डनका मेयर सादिक खानको आलोचना गरेका थिए। ट्रम्प र सादिक खान यसअघि पनि एकआपसमा अप्रत्यक्ष विवादमा आइसकेका छन्। उनीहरूबीच प्रायः एकअर्काप्रति टीकाटिप्पणी हुने गरेको छ। ट्रम्प लन्डन पुगेलगत्तै उनीहरूबीच ‘ट्विटर वार’ देखिन थाल्यो।

ट्रम्पले सादिक खानका सम्बन्धमा ट्विट गरे– ‘सादिक खानले लन्डनको मेयरका रूपमा अत्यन्तै बेकार काम मात्र गरेका छन्। उनी अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणलाई लिएर धेरै समस्यामा छन्, जबकि बेलायत र अमेरिकाको निकट सम्बन्ध रहेको छ। उनलाई ममाथि ध्यान दिनुभन्दा लन्डनको अपराधमा ध्यान दिनु राम्रो हुन्छ।’

यसअघि सादिक खानले पनि ट्रम्पको स्वागतमा ‘रेड कार्पेट’ बिछ्याउन आवश्यक नभएको बताएका थिए। सादिक खानले ट्विटरमा एक भिडियो पोस्ट गरे, जसमा उनले डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै महिलासँग कसरी व्यवहार गर्नुपर्छ भनेका छन्।

प्रतिक्रिया दिनुहोस्