शिर निहुँरिएको नेतृत्व




जनार्दन घिमिरे
२०७१ साल मंसिरताका नेपालको एउटा राष्ट्रिय दैनिकमा दिल्लीबाट निस्कने ‘समकालीन तिसरी दुनिया’ मासिकका सम्पादक आनन्दस्वरूप वर्माको ‘मोदीकरणको नेपाली रूप’ शीर्षकमा लेख प्रकाशित भयो। निजी नै विचार भए पनि उक्त लेखमा उनले नेपालको वर्तमान अवस्थाको बारेमा विभिन्न घटनाक्रमहरूलाई जोडेर चिरफार गर्ने प्रयास गरेका छन्। २०४६ सालको निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि नेपालको राजनीतिमा पकड बढाउँदै गएको भारतले बाहिर जे–जे देखिए वा भनिए पनि त्यसपछिका हरेक सरकार बनाउन र गिराउन निर्णायक भूमिका खेल्दै आएको बुझ्न गाह्रो छैन।

 

भारतसँग मात्र नभई नेपालले अरु देशहरूसँग गर्ने सहमति वा सम्झौताहरू हुन् कि ठूला–ठूला आयोजनाका ठेक्काहरू यी सबै उसैले नचाहँदासम्म सम्भव देखिँदैन। साम्यवादी लक्ष्य देखाएर साम्राज्यवादी र विस्तारवादीविरुद्धको नारा घन्काउँदै सशस्त्र विद्रोह शुरु गरेको तत्कालीन माओवादीको नेतृत्व पनि कालान्तरमा उताबाट नै चलायमान हुन पुगेको जगजाहेर नै भइसकेको छ।

नेपालमा यस किसिमको प्रभुत्व जमाउँदै आएको मुलुकको एउटा पत्रकारले नेपालकै राष्ट्रिय पत्रिकामा नेपालका दलहरूको नेतृत्वको बारेमा दृढताका साथ जुन कुरा लेखे र त्यसबारेमा कुनै पनि दलका कुनै पनि नेताद्वारा चुइँक्कसमेत नबोलिनुले छिमेकीका सामु नेपालका नेताहरूको हैसियत त उजागर गरेको छ नै, तर त्यो भन्दा बढी मुलुकको नेतृत्व कस्ताको हातमा पुगेको छ भन्ने कुराले अनेक आशंका जन्माएको छ।

 

उनले लेखेका छन्, ‘अब भारतले नेपालमा सिक्किममा जसरी रातारात सेना पठाएर कुनै चोग्याललाई कैद गरिरहनुपर्ने आवश्यकता छैन। अब उसलाई कुनै एउटा लेण्डुप दोर्जे चाहिँदैन, किनभने सबैजसो पार्टीहरूमा उसले लेण्डुपहरूको जमात नै पाइसकेको छ। अब आवश्यकता शक्तिको होइन, कहिले उपदेश दिएर त कहिले आदेश दिँदै, कहिले मुसुक्क हाँसेर त कहिले आँखा कर्के पारेर उसले आफ्नो काम सम्पन्न गर्न सक्छ, जसका लागि अब हातहतियार या सैनिकहरू नै चाहिँदैन। यही नै हो, नयाँ अवतारसहितको सिक्किमीकरण, जसलाई तपाईं सुविधाका लागि मोदीकरण भन्न सक्नुहुन्छ।’

नेपालका नेताहरूको वास्तविकता र औकात नबुझेका भए न उनले यस्तो लेख्ने आँट गर्ने थिए, न त छाप्नेले नै। पूर्वराजा ज्ञानेन्द्र आफ्नो पारिवारिक जमघटमा नाच्दासमेत सार्वजनिकरूपमै होहल्ला मच्चाउने नेपालका टाउके भनिएका नेताहरूले पक्कै पनि उक्त लेख पढेनन् भन्ने होइन तर त्यसविरुद्ध बोल्ने आँट कुनै पनि दलका कुनै पनि नेताले नगर्नुले नेपालका प्रमुख दलहरूमा निर्णायक तह र संख्यामा यस्ता लेण्डुपहरूको जमात पुगिसकेको अब जोसुकैले बुझ्न सक्छ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ‘मुलुक सञ्चालनको साँचो अन्तै पो रहेछ’ भन्नुले पनि जुनसुकै खोल ओढेर सत्तामा पुगेको भए पनि यहाँका शासक प्रतिनिधि पात्र मात्र हुन् भन्ने कुरा थप उदांगिएको छ।

केही दिनअघि मात्र पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले समेत एउटा टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा भारतीय राजदूतले आफूसँग भनेको प्रसंग सम्झँदै भनेका थिए, ‘क्या कहे पोखरेल सर, आपके नेतालोग जो भी आते है प्रधानमन्त्री, मन्त्री बनादिजिए कहकर गिडगिडाते है, हम कितनेको मन्त्री, प्रधानमन्त्री वनाए।’

 

यति मात्र होइन, २०७२ सालमा भारतले नाकाबन्दी लगाएको बेलामा भारतको संसद्मा विपक्षी कांग्रेस आईले नाकाबन्दी लगाउनुको कारण माग गरेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विद्यादेवी भण्डारीको नामै लिएर उनीहरूले भारत आएर गरेका बाचाहरू पूरा नगरेको कारणले नाकाबन्दी लगाउनुपरेको प्रस्ट्याउँदासमेत ती नेता सम्बद्ध कुनै पनि पार्टीमा यस विषयमा छलफल त भएन नै, नेपालको संसद्मा समेत यस विषयमा प्रश्न उठाउने आँट कसैले नगर्नुले समेत पत्रकार बर्माको लेखाइको पुष्टि हुन्छ।

 

अझ नेपाली कांग्रेसले त उल्टो दमननाथ ढुंगानालगायतका लाई पत्रकार सम्मेलन गर्न लगाएर भारतले नाकाबन्दी गरेकै होइन भनी बोल्न लगाई २०४५ सालमा भारतले नै नाकाबन्दी लगाउँदा गरेकै भूमिका दोहोर्यायो। नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाएका प्रमुख दलका नेताहरू सत्तामा रहून् वा प्रतिपक्षमा विदेशीलाई नागरिकता दिलाउने सन्दर्भमा भने सबै एकजुट भई प्रपञ्च गर्नुले यिनीहरूको हैसियत, नियत अनि यिनका राष्ट्रप्रेम अझ छर्लंगिएको छ।

राष्ट्रकोे नेतृत्व गर्ने व्यक्ति स्वाभिमानी र राष्ट्रवादी चरित्रको छैन भने त्यसबाट मुलुक सम्मृद्धिको त कुरै छाडौं राष्ट्र र जनताले धोकाबाहेक केही पाउने छैनन्। केही महिनाअघि नेकपाका नेता भीम रावलले युनिभर्सल पिस फेडरेसनको कार्यक्रमका बारेमा र संसद्मा विचाराधीन रहेकै अवस्थामा कहिले गृह मन्त्रालय त कहिले अदालत लगाएर वंशजको नागरिकता वितरण गरेको सम्बन्धमा विरोध गर्दा उनकै पार्टीका प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले व्यङ्ग्यात्मक शैलीमा यो देश अहिलेसम्म कसले गरेर बाँचेको हो र अब बाँच्दैन भन्दै टुइट गरेका थिए। हो, यो देश अहिलेसम्म किन बाँच्न सक्यो भने शिर ठाडो भएका स्वाभिमानीहरूले देशको नेतृत्व गरेका थिए।

उनीहरूले मुलुकलाई समयानुकूल सम्बृद्धि त दिन सकेनन् तर नेपालीको शिर कहिल्यै निहुँरिन पनि दिएनन्। बेलायत त राजसंस्था भएको मुलुक मान्ने नै भयो तर सन् १९६७ मा राजा महेन्द्रले अमेरिका भ्रमण गर्दाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, त्यो हेर्दासमेत त्यो समयमा पनि नेपालले विश्वमञ्चमा कति महत्व राख्थ्यो भन्ने प्रस्ट हुन्छ। अमेरिकाको सडकहरूमा उनको स्वागतको लागि झुन्डयाइएका ब्यानरहरू, नेपाल र अमेरिकाको झन्डा हातमा लिएर सडकको दुवै छेउमा उभिएका अमेरिकी नागरिक, उनको स्वागतको लागि स्वयं उपस्थित राष्ट्रपति अनि उनले सिनेटमा गरेको सम्बोधन हेर्दा र सुन्दा आज पनि गौरवले मन ढक्क फुल्छ। तर आजका हाम्रा सरकारप्रमुख र राष्ट्रप्रमुखहरू तिनै देशका प्रधानमन्त्री वा राष्ट्रपतिसँग कसैले ४ मिनट समय पाएकोमा त कसैले उनीहरूसँग फोटो खिचाउन पाएकोमा नै गर्व गर्दछन्। अझ पछिल्लो समयमा त अन्य परका विकसित र शक्तिशाली राष्ट्रहरूको त कुरै छाडौं, छिमेकी मुलुकहरूको भ्रमणसमेत नेपालको सरकारप्रमुख वा राष्ट्रप्रमुखहरूले चाहेको समयमा हुन छोडिसक्यो, न त यताकाले बोलाउँदा नै उनीहरू आउँछन्। छिमेकीहरूले स्वार्थवश तिथिमिति तोकेर बोलाइदिँदा मात्र भ्रमण हुने हो, जसलाई स्वार्थअनुसार कहिले राजकीय त कहिले अन्य किसिमको भ्रमणको दर्जा दिने गरेको देखिन्छ।

आजका हाम्रा अधिकांश शासकहरूको विगत गौरवपूर्ण नभएकै कारण उनीहरू नैतिकरूपले कमजोर छन्, जसले गर्दा उनीहरू संलग्न दलमा बाहेक उनीहरूले बोलेका र गरेका कुराहरूमा आमजनताको विश्वास देखिँदैन। अरुको त कुरै छाडौं, २०४६ सालमा दलीय व्यवस्था पुनस्र्थापनापछि सबैभन्दा लामो समय पार्टीको नेतृत्व गर्दै शासन गरेका र नेपाली कांग्रेसले युगपुरुषको पगरी गुथाइदिएका स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आफ्नो संस्मरणमा प्रतिबन्धित कालमा विलासिताका आवश्यकताहरू पूरा गर्न आफूले नक्कली नोट छाप्ने गरेको बखान गरेका छन्। केही अघि मात्र श्रीमतीको उपचारको नाममा अमेरिका पुग्दा आफू फर्कन पाउँछु कि पाउँदिन भन्ने थियो तर धन्य फर्कन पाएँ भन्दै प्रचण्डले ठाउँ–ठाउँमा गुनासो गरेको सुनियो, जुन उनको विगतकै कारण थियो। मुलुकमा साँच्चै कानुनी राज्य हुने भए आपराधिक क्रियाकलाप र आर्थिक अनियमिततामा नपर्ने केही अपवादका बाहेक शायदै कुनै नेता बाँकी रहलान्।

आज शासनको नेतृत्व गरेकाहरूको यथार्थ यस्तो छ भने, भोलिका दिनमा मुलुकको नेतृत्व गर्ने भनिएका विद्यार्थी संगठन, मजदुर संगठन र कर्मचारी संगठनहरूको अवस्था पनि त्यो भन्दा फरक देखिँदैन। निजी स्कुल र कलेजहरूलाई धम्क्याउँदै चन्दा असुली गर्ने विद्यार्थी संगठन, उद्योगी व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गर्ने मजदुर संगठन अनि सरुवा गराइदिने भन्दै पैसा असुल्दै हिँड्ने कर्मचारी संगठनका नेतृत्वहरू भेलिका दिनमा मुलुक सञ्चालनको तहमा पुग्दा नैतिकरूपले कति बलिया होलान्। नेतृत्वको शिर निहुँरिएकै कारण आज नेपालमा कस्तो संविधान बनाउने, संविधानमा के–के संशोधन गर्ने, नेपालले के गर्न हुन्छ र के गर्न हुँदैन, कस्तो शिक्षा, कस्तो कृषि, कस्तो विकास सबै विदेशीले नै बोलिरहेका छन्। हाम्रा शासकहरूको काम तिनैले बोलेका कुरामा ताली बजाउने वा मौन समर्थन गर्नेबाहेक केही देखिँदैन।

आफू निहुँरिएकै कारण आज नेपालका शासकहरूलाई राष्ट्रप्रेमको कुरा गरेको मन पर्दैन। राष्ट्रिय पोशाक, राष्ट्रिय भाषा, राष्ट्रिय धर्म, संस्कृति र परम्पराको कुरा गर्नेलाई अपराधी देख्छन् उनीहरू। शिर निहुँरिएकाहरूको एउटा चरित्र हुन्छ कि उनीहरू आफ्नो अगाडि कसैले शिर ठाडो पारेको मन पराउँदैनन्। शिर निहुँरिएकाहरूको जमात देख्दा नै उनीहरू प्रफुल्लित हुने गर्दछन्, जसले गर्दा सबैजसो पार्टीमा विभिन्न तहमा नियुक्त हुन वा चुनावमा टिकट पाउन शीर्ष नेतृत्वको आशीर्वाद नभई नहुने परम्परा नै बसिसकेको छ। शीर्ष नेतृत्वले जे बोल्छन वा जे गर्छन् शिर निहुँराएर त्यसैमा स्वर मिलाउँदै उनीहरूको स्वागतमा माला लिएर लामबद्घ हुनुको विकल्प अरु तहका नेता तथा कार्यकर्ताको देखिँदैन।

आज मुलुकको हरेक संस्था चाहे त्यो संसद् होस् वा संसदीय समितिहरू, न्यायालय होस् कि संवैधानिक निकाय, कूटनीतिक क्षेत्र होस् कि प्रहरी प्रशासन, कतै पनि शिर उठेको नेतृत्व देखिँदैन। किनभने शिर ठाडो भएकालाई नेतृत्व तहमा पुग्नै दिइँदैन, जसले गर्दा मुलुक र आमजनता सबैतिरबाट पिल्सिएका छन्। वर्तमान सरकारकै मात्र कुरा गर्ने हो भने पनि गोरखा फुजेल काण्डका छविलाल पौडेलको आत्मसमर्पण र रिहाइ, बालकृष्ण ढुंगेलको रिहाइ, चिकित्सा शिक्षा विधेयक, संसद्मा विचाराधीन मुद्दामा गृहको परिपत्र र त्यसैको समर्थनमा न्यायालयको निर्णय, वाइडबडीमा लेखा समितिको निरीहता, निर्मला काण्ड, ठूला–ठूला भ्रष्टाचारको मुद्दामा चुँ नबोल्ने अख्तियारको प्रेम सञ्जेलसँगको बयानबाजी, संवैधानिक परिषद्ले गरेको न्यायाधीशहरूको सिफारिस आदिले समेत स्वायत्त संस्थाहरूको नेतृत्वमा कस्ता–कस्ता व्यक्ति छन् भन्ने प्रस्ट हुन्छ।

यसरी आज नेपालको सबै क्षेत्रमा बेथितिहरू मौलाउँदै जानुमा सम्बन्धित निकायहरूको नेतृत्व लिई बसेकाहरू नै पूर्णरूपमा जिम्मेवार छन्, चाहे त्यो मुलुक होस् वा मुलुक सञ्चालनमा क्रियाशील अन्य संघसंस्थाहरू। अतः नेतृत्वमा स्वाभिमानी, विवेकी तथा नैतिकवान् व्यक्ति पुगेको अवस्थामा मात्र मुलुकमा सुसंस्कृत राजनीतिको विकास भई मुलुक सुशासन तथा समृद्घिको यात्रामा अघि बढन सक्छ र असहमति अनि विद्रोहका स्वरहरू पनि आफैं कम भएर जानेछन्।

हाम्रा शासकहरूको काम तिनैले बोलेका कुरामा ताली बजाउने वा मौन समर्थन गर्नेबाहेक केही देखिँदैन। आफू निहुँरिएकै कारण आज नेपालका शासकहरूलाई राष्ट्रप्रेमको कुरा गरेको मन पर्दैन। राष्ट्रिय पोशाक, राष्ट्रिय भाषा, राष्ट्रिय धर्म, संस्कृति र परम्पराको कुरा गर्नेलाई अपराधी देख्छन् उनीहरू। शिर निहुँरिएकाहरूको एउटा चरित्र हुन्छ कि उनीहरू आफ्नो अगाडि कसैले शिर ठाडो पारेको मन पराउँदैनन्।

 

प्रतिक्रिया दिनुहोस्