व्यावसायिक मिडियाका भीष्म पितामह




पुष्करलाल श्रेष्ठले शुरू गरेको मिडियाको व्यावसायीकरणलाई केही उद्यमीले निरन्तरता दिएका छन्। त्यसैले मिडिया क्षेत्र व्यावसायिक बन्दै गएको छ।

चिरञ्जीवी मास्के
नेपालको पत्रकारिताको क्षेत्रमा पनि श्रेष्ठले जुन भूमिका खेले त्यसले मिडियालाई व्यावसायिक बनाउन, निष्पक्ष बनाउन र पत्रकारलाई यो पेसामा निरन्तर लाग्न ठूलो प्रेरणा मिलेको छ। त्यसैले उनी नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक पत्रकारिताका भीष्म पितामह बन्न सकेका छन्।

२०४४ सालको चैत महिना मेरो जीवनका लागि उत्साह, अवसर, अपेक्षा र आशाको महिना र≈यो। २०४४ सालको माघ महिनामा एसएलसी परीक्षा दिएर बसेका बेला मैले फिल्मी म्यागजिन ‘कामना’ पढ्ने अवसर पाएको थिएँ र उक्त पत्रिकाको लागि एउटा सवाल पठाएको थिएँ।

कामनाको नियमित स्तम्भ ‘जसको उत्तर, उसकै हस्ताक्षर’ का लागि नायिका नवीना श्रेष्ठलाई मैले ‘तपाईंमा केटाकेटीपन अझै गएको छैन भन्छन् निरु’ भन्ने सवाल पठाएको थिएँ। जसको जवाफ नायिका श्रेष्ठले आफ्नै हस्ताक्षरमा ‘म कान्छी छोरी, त्यस्तो हुन पनि सक्छ’ भनेर दिएकी थिइन् २०४४ साल चैत महिनामा प्रकाशित वर्ष ४, अंक ४ को कामना फिल्मी पत्रिकामा।

नायिका नवीना श्रेष्ठलाई सोधेको सवाल र कामना पत्रिकामार्फत मैले पाएको त्यो जवाफ नै पत्रकारिता क्षेत्रमा मेरो प्रवेशद्वार थियो। कामना फिल्मी पत्रिकालाई त्यतिबेला नै व्यावसायिक ढंगले प्रकाशन गर्ने साहस गरेका थिए पुष्करलाल श्रेष्ठले।

अचम्मको संयोग के भयो भने कामना प्रकाशन समूहको कामनामा प्रकाशन भएको एउटा जवाफले मलाई पत्रकारितामा लाग्ने हुटहुटी लगाएको थियो। कामना प्रकाशन समूहकै आजको समाचारपत्र दैनिक ९हालको नेपाल समाचारपत्र दैनिक० बाट मैले व्यावसायिकरूपमै पत्रकारिता शुरू गरेको थिएँ २०५२ सालको माघ महिनाबाट। त्यसअघि गोरखापत्र दैनिक, जनमञ्च साप्ताहिकलगायतका केही पत्रिकामा सम्पादकलाई चिठी लेख्दै २०४६÷४७ सालतिर प्रकाशन भएको त्रिचन्द्र श्रेष्ठ प्रतिक्षाको मुक्ति मासिकबाट मैले पत्रकारिताको शुरूआत गरेको थिए।

२०७५ साल सकिएर २०७६ साल लागिसक्दा पनि, समाज विकासले, प्रविधि विकासले यति धेरै फड्को मारिसक्दा पनि मिडियालाई व्यावसायिकरूपमा अघि बढाउन ठूलै चुनौती रहेको छ, तर पुष्करलाल श्रेष्ठले आजभन्दा झन्डै ३५ वर्षअगाडि २०४१ सालतिरै कामना प्रकाशन समूहको स्थापना गरेर मिडियालाई व्यवसायसँग जोड्दै कामना फिल्मी पत्रिका प्रकाशन गर्ने आँट गरे। काठमाडौंको घरानिया परिवारका छोरा पुष्करलालले एउटा पत्रिकामा खेलकुद स्तम्भ लेख्दालेख्दै मिडियालाई व्यावसायिकरूपमा सञ्चालन गर्ने सोच बनाई कामना प्रकाशन समूह बनाएर र देशकै पहिलो व्यावसायिक पत्रिका कामनाको प्रकाशन आरम्भ गरे।

महाभारतको लडाइँमा भीष्म पितामहको सबैभन्दा धेरै चर्चा हुने गर्छ। भलै महाभारतमा कृष्ण, अर्जुन, युधिष्ठिर, दुर्योधन, कुन्ती आदिका भूमिका समेत अहम् थियो। भीष्म पितामहले महाभारतमा जुन भूमिका निर्वाह गरे त्यसले सत्यलाई स्थापित गर्न र युद्धलाई मर्यादित बनाउन सक्यो। नेपालको पत्रकारिताको क्षेत्रमा पनि श्रेष्ठले जुन भूमिका खेले त्यसले मिडियालाई व्यावसायिक बनाउन, निष्पक्ष बनाउन र पत्रकारलाई यो पेसामा निरन्तर लाग्न ठूलो प्रेरणा मिलेको छ। त्यसैले उनी नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक पत्रकारिताका भीष्म पितामह बन्न सकेका छन्।

मैले पत्रकारितालाई व्यावसायिकरूपमा शुरू गर्दै आजको समाचारपत्र दैनिक ९हालको नेपाल समाचारपत्र दैनिक०मा प्रवेश गरेको शुरू–शुरूका दिन सम्झन्छु। पुष्करलाल सरले मेरो लेखाइ, मेरो समर्पण र प्रतिबद्धतालाई सधैं प्रशंसा गरे। मेरो निरन्तरको लेखाइकै कारण उनको सिफारिसमा मैले २०५२÷२०५३ सालतिर पनि मासिक ६÷७ हजार पारिश्रमिक बुझेको छु। उनको प्रेरणा, सहयोग र सुझावकै कारण मलाई व्यावसायिकरूपमा २३ वर्षसम्म निरन्तर पत्रकारिता क्षेत्रमा लाग्ने जाँगर र उत्साह मिलेको छ।
मेरो मात्र कुरा हैन नेपालको पत्रकारिता क्षेत्र र पत्रकारलाई व्यावसायिक बनाउन श्रेष्ठको सोच तथा निर्णयको अहम् भूमिका रहेको छ। आजभन्दा ३५ वर्षअघि उनले मिडियाको व्यावसायिक शुरूआत नगरेको भए सायद अझै पनि यो क्षेत्रमा लगानी गर्ने अवस्था यो तहसम्म पुग्न सक्ने थिएन र पत्रकारले पत्रकारिता क्षेत्रलाई पेसागत र व्यावसायिक बनाउन सक्ने थिएनन्। बुबा भरतलाल श्रेष्ठबाट पाँच हजार रुपियाँ लिएर श्रेष्ठले शुरू गरेको मिडियाको व्यावसायिक यात्रालाई अहिले विभिन्न उद्यमीले करोडौं अर्बांैको लगानी गर्ने तहसम्म विकास गरेका छन्। यो मिडियामा लगानी गर्न चाहने उद्यमीका लागि मात्र सुखद अवस्था होइनm पत्रकारिता पेसालाई व्यावसायिकरूपमा अगाडि बढाइरहेका र व्यावसायिकरूपमा अगाडि बढाउन चाहने पत्रकारका लागि समेत सुअवसर हो।

पुष्करलाल श्रेष्ठले शुरू गरेको मिडियाको व्यावसायीकरणलाई केही उद्यमीले निरन्तरता दिएका छन्। त्यसैले मिडिया क्षेत्र व्यावसायिक बन्दै गएको छ। मिडियाको व्यावसायीकरणलाई सुरक्षित र विश्वासिलो बनाउन सरकारको भूमिका रहनुपर्छ। मिडियाको विकासले मुलुकको सभ्यताको परिचय दिन्छ। त्यसैले मिडियालाई व्यावसायिक ढंगले सञ्चालन गर्ने जिम्मेवारी केवल उद्यमीको मात्र हैन, सरकारको पनि हो। सरकारले मिडियामा लगानी गर्ने वातावरण बनाउनुपर्छ, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्छ। मूलतः सरकारले यो दुईवटा जिम्मेवारी पूरा ग¥यो भने उनले शुरू गरेको मिडियाको व्यावसायीकरणको जग मजबुद हुनेछ, श्रेष्ठको सपना पूरा हुनेछ र मुलुकको सभ्यता सगरमाथाको उचाइ जसरी नै चुलिनेछ।

पुष्करलाल श्रेष्ठले मिडियालाई व्यावसायिकरूपमा शुरू मात्र गरेनन्, मिडिया व्यवसायको सफलताको लागि आवश्यक पर्ने सूत्र निष्पक्षता, निडरता र निरन्तरतालाई अवलम्बनसमेत गर्न सके। नेपालबाट प्रकाशन÷प्रसारण हुने हरेक मिडियालाई कुनै न कुनै राजनीतिक वादको आरोप लाग्ने गरेको छ, तर कामना प्रकाशन समूह र त्यसको प्रकाशन नेपाल समाचारपत्र दैनिक करिब–करिब वादको आरोपबाट मुक्त रहेको देखिन्छ। राजनीतिक समाचारलाई निष्पक्ष बनाउने, राजनीतिक या कुनै लाभदायी विषयलाई नभई खोज, अनुसन्धान र सकारात्मकतालाई मिसन बनाउने श्रेष्ठको अभियानकै कारण कामना प्रकाशन समूह र नेपाल समाचारपत्र दैनिक निष्पक्ष बन्न सकेको हो।

अहिले केही मिडियाले मिसन पत्रकारिता गरेको देखिन्छ, तर त्यो मिसन मुलुक परिवर्तनका लागि, मुलुकको विकासका लागि र समग्रताको स्थायित्वका लागि नभई आफ्नो स्वार्थको लागि मात्र हुने गरेको छ। यस्तो मिसनले मिडिया उद्योगको प्रवद्र्धनमा होइन मिडिया उद्योगको ह्रासमा मात्र सहयोग पुग्न सक्छ। त्यसैले क्षणिक सफलता र वाहवाहीमा रमाउने व्यक्तिगत मिसनधारी मिडियाले पुष्करलाल श्रेष्ठको मिडियाको व्यावसायिक शुरूआत र मिडिया व्यवसायलाई स्थापित गर्ने सूत्रलाई अवलम्बन गर्नु जरुरी छ। श्रेष्ठको पत्रकारिता र मिडिया व्यवसाय सफल र≈यो र निरन्तर र≈यो। न चर्को प्रशंसा न चर्को विरोध। कछुवा र खरायोको दौडमा कछुवा बनेको जस्तो। कामना प्रकाशन समूहले मिडियाको व्यावसायिक शुरूआत गरेपछि खरायो दौडमा केही मिडिया निस्किए, तर कामना प्रकाशन समूहले सधै आफ्नो दौडलाई कछुवा गतिमै अगाडि बढायो। व्यावसायिक धर्म र निष्पक्षताको कर्ममा खरायो दौडका मिडियालाई निक्कै पछि पार्दै कछुवा दौडको कामना प्रकाशन समूहले बाजी मार्न सकेको छ। यो नतिजा आउनुमा पुष्करलाल श्रेष्ठको समर्पण र शालीनता नै मुख्य कारक हो। कम बोल्ने, अरूलाई उत्साह दिइरहने र काम अर्थात् कर्ममा विश्वास गर्ने शालीन व्यक्तित्वका धनी श्रेष्ठबाट मिडिया उद्योग तथा मिडियाकर्मीले धेरै कुरा सिक्न सक्छन्, सिक्नुपर्ने हुन्छ।

मिडियाको व्यावसायीकरण मात्र हैन फिल्म उद्योगलाई व्यावसायिक बनाउन र दर्शकसम्मको पुलको काम गर्नसमेत कामना प्रकाशन समूह र कामना फिल्मी म्यागजिनको भूमिका उल्लेखनीय रहेको छ। मुस्किलले वर्षमा एक÷दुईवटा फिल्म बन्ने त्यो समयमा पनि फिल्मी म्यागजिनबाट मिडियाको व्यावसायीकरण गर्ने पुष्करलाल श्रेष्ठको साहसले मिडिया व्यवसायसँगै नेपाली फिल्मको व्यवसायलाई समेत स्थापित गर्न सकेको देखिन्छ।

व्यावसायिक पत्रकारिताका भीष्म पितामह वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न हरेक पत्रकारले निष्पक्षता, निडरता र निरन्तरतालाई आत्मसाथ गर्नु जरुरी छ। हरेक मिडिया उद्योगले सकारात्मक खोजलाई मिसन बनाउनु जरुरी छ र सरकारले प्रेस स्वतन्त्रता तथा सुरक्षाको ग्यारेन्टी गर्नु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्