आखिर सरकार जनताका लागि कि आफ्नै लागि ?



गंगा बराल
केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १५ महिना भएको छ । यो सरकारप्रति जनताको धेरै ठूलो विश्वास थियो र अझै पनि छ तर शुरुवाती लक्षण हेर्दा भने जनताले पत्याउन छोडिसकेका छन् । सरकार सधैँ अस्थिर भयो, सरकारले आफ्नो सोचअनुसार काम गर्न पाएन र जनताको पक्षमा केही देखिने गरी काम गर्न पाइएन भन्ने राजनीतिक दलहरुले भन्दै आएका थिए । तर आज कसले छेक्यो र सरकारले पिटिक्कै काम गर्न सकेन अनि मानिसले सेवा–सुविधा पाएनन् ? अहिले यो विषय गम्भीररुपमा उठेको छ ।

सरकार बनेपछि सबैले आफ्नो जीवनमा केही परिवर्तन होस् भन्ने अपेक्षा गरेको हुन्छ, यो अस्वाभाविक पनि होइन । तर अहिलेसम्म पनि जनताको जीवनमा प्रत्यक्षरुपमा फाइदा हुने काम नगर्नु सरकारको कमजोरी नै हो । हिजोका दिनमा राणाले दिएनन्, राजाले काम गर्न दिएनन् भनेर भनिदिन सजिलो थियो । आज भने आफूसँग यति धेरै जनमत र संसद्मा सिट हुँदा पनि अनुभूति हुने गरी काम नगर्नुले अबको बिकल्प नै के ? भन्ने प्रश्न पनि उब्जेको छ । आजभोलि सडकमा हिँड्दा होस् वा अन्त कतै जाँदा होस्, मानिसहरु सधैँ सरकारको आलोचना गरिरहेका हुन्छन् । आलोचना गर्दा मनमा शान्ति मिल्छ होला त्यो एउटा विषय हो, मुख्य कुरा भनेको सरकारले जनताको गुनासो सुनेर उनीहरुको भावनाको सम्बोधन हुने गरी केही गरेर देखाउनु जरुरी छ । सरकारको नेतृत्व आफैं गर्ने अनि उसले र त्यसले दिएन भन्नुको कुनै अर्थ रहँदैन । आफू कमजोर भएपछि त्यो ढाकछोप गर्न अरुलाई आरोप लगाउने चलन पनि नयाँ होइन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काम गर्न दिएन, हरेक निर्णयमा असहमति जनायो, जासुसी गरेर सरकारलाई असफल बनाउन आफ्नो शक्तिको दुरुपयोग ग¥यो भन्न सरकारलाई सजिलो छ तर पनि त्यसको पुष्टि गर्न उनीहरु सक्दैनन् । सरकार त कमजोर नै भयो, तर सँगसँगै पार्टीमा देखिएको अन्यौलताले पार्टी पनि संकटमा पुगेको छ । सरकारको नेतृत्व केपी शर्मा ओलीले गरेका छन्, सँगै ड्राइभिङ गर्दै हात र खुट्टा घुमाउन प्रचण्डले पनि सघाएका छन् तर पनि गाडी अघि बढ्न सकेको छैन । गतवर्ष जेठ ३ गते पार्टी एकता गर्दा पार्टीलाई जेट विमानसँग तुुलना गर्ने ओली प्रमुख पाइलटका रुपमा देखा परेका छन् ।

अनावश्यक भाषण र आदर्शका कुरा गर्नुभन्दा जनताको जीवन छुने गरी काम गर्दै आगामी निर्वाचनमा पनि पार्टी ठूलो बनाउने गरी काम गर्ने हो भने नेकपालाई फाइदै हुन्छ तर निर्वाचनका बेला साना कुरा गरेर जनतासँग झुक्ने अनि सरकार बनेपछि अहंता प्रदर्शन गर्ने स्वभाव र व्यवहार कसैका लागि पनि फलदायी हुँदैन ।

नजान्नेलाई सवारी दियो भने दुर्घटना हुन्छ, गम्भीर प्रकृतिको घटना नै भए चालकको मृत्यु हुन सक्छ तर साधनले अरुलाई ठोक्कायो भने त अरु पनि घाइते हुन्छन् । यसतर्फ भने कसैले सोच्न सकेका छैनन् । नेकपाकै मानिसहरु पनि सरकारबाट त्यति धेरै सन्तुष्ट छैनन्, यो सत्य हो । तर पनि बोल्ने आँट गरेका छैनन् । सजिलो हुँदा बोलिरहने र अलिकति अप्ठ्यारो परेपछि यो राजनीतिक सिस्टम नै यस्तै हो, ‘धेरै कुरा गर्न र बोल्न पनि हुँदैन’ भन्छन् । पार्टीका कसैले बोल्न नपाउने र खुशी तथा दुःख साट्न नपाउने हो भने पार्टीमा बस्नुको अर्थ नै छैन । हो, जुनसुकै पार्टीमा पनि एक–दुईजना प्रमुख नेताले निर्णय गर्छन्, अरु थपना नै हुन् । सबैले बोल्ने आँट पनि गर्दैनन्, यदि बोलिहाले पनि सुनुवाइ हुँदैन बरु उल्टै ती नेतासँग दुश्मनी बढेर जान्छ । त्यसैले मनमा जति पीर परे पनि कोही पनि नेता पार्टीका शीर्ष नेताको गलत कार्यशैलीको बारेमा बोल्दैनन्, पार्टी र नेता बिगार्ने सबैभन्दा खराब तत्व नै यही हो ।

अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार बनेको छ । प्रधानमन्त्री ओलीप्रतिको आशा क्रमशः कमजोर हुँदै गएको छ । २०७२ सालमै पहिलोपटक प्रधानमन्त्री भएर बालुवाटारमा डेरा सार्न सफल ओली त्यति बेलाको राष्ट्रको पक्षमा बोलेजस्तो लाग्ने केही शब्दको ब्याज खान उनी सफल भए । भारतले लगाएको भनिएको नाकाबन्दीको विरोधमा बोलेको, राष्ट्रियताको पक्षमा अडान लिएको र कुनै पनि देशसँग नझुकेको भनियो, यो त एउटा पाटो छँदै छ तर त्यतिले मात्र पुग्दैन । उनको त्यो साहस र हिम्मतबाट फेरि पनि जनताले प्रतक्ष्यरुपमा के अनुभूति गर्न पाए भन्ने प्रश्न नै आउँछ । कोही नेताले अरु कोहीसँग बसेर तस्वीर खिचाउँदैमा, सँगै बसेर एक–दुई छाक लन्च र डिनर गर्दैमा खुशी भइहाल्नुपर्ने अवस्था छैन, खोजेको भनेको परिणाम नै हो ।

भारतलाई ओलीले गाली गरेर नाकाबन्दीको विरोधमा बोले तर पनि जनताले चार–पाँच महिनासम्म त दुःख नै भोगे, यदि सरकारले जनताका आवश्यकता पूरा गरिदिएर ठूलो कुरा गरेको भए झन् राम्रो हु्ने थियो । नेपालको राजनीतिमा आफूले भनेजस्तो सधैँ र सजिलो हुँदैन भन्छन् नेताहरु । अरुलाई मात्र सजिलो र फाइदा पुग्ने गरी सरकार चलाउने हो भने पक्कै पनि भोलिका दिनमा अर्को तत्वले बढी पाए हुन्थ्यो भनेर आशा गर्नु पनि अस्वाभाविक होइन । हाम्रा नेताहरु शब्दको व्यापार गर्न खप्पिस छन् । त्यति बेला नेपाली कांग्रेसले सबैले नाकाबन्दी भनिरहेका बेला अवरोध, छेकबार, रोकावट भनेजस्ता सामान्य शब्द प्रयोग ग¥यो । यो जनतालाई मन परेन, त्यही परिणाम भोग्यो गतवर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ।

सरकार २ तिहाइको छ भनिन्छ तर जनतालाई कति तिहाइ भन्नेतिर ध्यान छैन, छ त केवल मैले के पाएँ ? हिजोका दिनमा कांग्रेसका शेरबहादुर देउवा, त्यति बेला एमालेकै तर्फबाट प्रधानमन्त्री भएका झलनाथ खनाल, माधवकुमार नेपाल, माओवादीमै रहँदा प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनताले आलोचना नगर्ने अनि अहिले आएर ओलीको मात्र विरोध गर्नुको एउटै कारण भनेको जनतामा बाँडेको आश्वासन हो । यदि हिजो निर्वाचनमा जाँदा यी सबै काम क्षणभरमै गर्छु नभनेको भए कसैले आश गर्ने पनि थिएन तर गर्छु र दिन्छु भनेपछि होला भन्नु अस्वाभाविक होइन । सरकार नेकपाको भन्दा पनि ओलीको गुटको मात्र भएको भनेर टिप्पणी गरिएको छ । सरकारमा बसेर राज्यकोषको दोहन गर्न नपाएकाहरु रिसाएका छन्, जसलाई सम्हाल्न न त ओलीले नै सकेका छन्, न त प्रचण्डले । प्रचण्ड, नेपाल र खनाल सरकारको विषयमा बोलिरहेका छन् तर शक्तिको घमण्डमा रहेका ओलीले उनीहरुको कुरा सुनेका छैनन् । त्यसैले पार्टी हो कि क्लब भन्ने प्रश्न पनि आएको छ ।

अरुसँग छलफल नगरे पनि कमसेकम ओलीले प्रचण्डसँग आवश्यक सल्लाह लिन्छन् कि भन्ने लाग्न सक्छ तर त्यो पनि असम्भव छ । अहिले प्रचण्डलाई बोल्न पनि अप्ठ्यारो छ, सरकारको पक्षमा बोलौं भने केही पनि काम भएको छैन, नबोलौं भने पटक–पटक ओलीको प्रेसर । बेलामौका ओलीकै आग्रहमा प्रचण्डले बोलेजस्तो गरेको भन्ने पनि सुनिएको छ । हुन त सरसर्ती हेर्दा ओली सफल होऊन् भन्ने प्रचण्ड पनि चाहँदैनन् । किनभने ओलीको व्यक्तित्व बढेपछि त्यसको प्रत्यक्ष असर प्रचण्डलाई नै पर्छ । प्रचण्डले भने यो सरकारको नेतृत्वकर्ता ओली जति बद्नाम भए त्यति नै बढी फाइदा लिन सक्छन् । पहिलो कार्यकाल सुखद नभएको र त्यसबाट केही सिकेर, भोगेर दोस्रो प्रधानमन्त्रीत्व काल सफल भएको भनेर प्रचण्ड आफैं भन्दै आएका छन् । जताततै हस्तक्षेप गर्ने र कानुन मिचेर मैले जे गरे पनि भइहाल्छ भन्ने गलत मनसायले अघि बढ्दा प्रचण्ड त्यति बेला आलोचित भएकै हुन् ।

सरकार बन्दा ओलीको पक्षमा सघाउनु प्रचण्डलाई पनि बाध्यता थियो । संसद्को बैठक नै नबसी वा आवश्यक प्रक्रिया नै नपु¥याई हतारमा ओलीले सांसदको हस्ताक्षर गराई प्रधानमन्त्री हुन पाऊँ भनेर राष्ट्रपतिलाई बुझाए । प्रचण्डले अब नयाँ बाटोतिर लाग्न सकिन्छ भनेपछि ओली अत्तालिएका थिए, नभए दुई–चार दिन ढिलो प्रधानमन्त्री हुँदैमा बिग्रिइहाल्ने केही थिएन । अब राजनीतिमा बढी चल्ने शब्द हो भद्र सहमति । ओली र प्रचण्डबीच पनि भद्र सहमति भएर सरकार बनेको हो भनिएको छ तर त्यो के हो भन्ने कसैलाई थाहा छैन । साँच्चै उनीहरुले देश र जनताको लागि राम्रो कांम गरेको हो भन्ने दाबी गर्छन् भने सबैलाई सहमतिको फोटोकपी गरेर बाँडे हुन्छ । तर केवल आफ्नो राजनीतिक जागिर बचाउन र सधैँ सत्तामा आशक्ति छु भनेर देखाउनलाई भद्र सहमति हो भने भन्नु केही छैन । संविधान बनेपछि पहिलोपटक बनेको ओलीको सरकार किन पाखा लाग्नुप¥यो भन्ने धेरैलाई थाहा छ । त्यति बेला गरिएको भद्र सहमति अन्तिममा आएर अभद्र असहमतिको रुपमा परिणत भयो अनि भयो प्रचण्ड र ओलीबीचको कडा द्वन्द्व, यतिसम्म कि ओलीले प्रचण्डलाई राँची लानुपर्छ समेत भन्न भ्याए ।

एकले अर्कालाई देखी सहेनन्, आलोचनाको मात्र वर्षा भयो । र, अन्तिममा प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य भए र नयाँ राजनीतिक समीकरण अघि बढ्यो । यदि त्यति बेला नै बुद्धि पु¥याएर ठूलो छाती पारी ओलीले नैतिकता प्रदर्शन गर्न सकेका भए उनीहरुको सम्बन्ध झन् दिगो र बलियो बन्ने थियो, अरु कसैले पार्टी मिल भनेर सन्देश पठाउनुपर्ने आवश्यकता नै थिएन । अर्को खतराका रुपमा अब त्यही भद्र सहमति नै देखा परेको छ । समयसम्म त प्रचण्डले पर्खेलान् तर सीमा नाघेपछि प्रचण्ड पनि चुपचाप लागेर मलाई पार्टीको एक अध्यक्षमात्र भए पुगिहाल्यो, सरकारको झन्झट बेहोर्दिन भन्ने पक्षमा पक्कै जाँदैनन्, त्यति बेलाको अवस्था पनि अलिक गम्भीर नै हुनसक्छ । पार्टी मिलेको हो, एक भएको हो तर प्रचण्ड प्रधानमन्त्री हुनु भनेको ओली हुनु होइन र ओली हुनु भनेको प्रचण्ड हुनु होइन ।

समग्रमा भन्नुपर्दा सरकारले जनताको भावनामाथि प्रहार गरेकै हो । सरकार ५ वर्षको हो, सबै व्यवस्था मिलाउँदै छौं, त्यति बेलासम्म जे पनि हुन्छ चिन्ता नमान्नुस् भनेर सधैँ झुक्याइरहन अब भने सम्भव छैन । सरकारको कार्यकाल सकिन एक महिना बाँकी हुँदा पनि अझै यत्रो समय छ भन्नुको कुनै अर्थ रहँदैन । जनताले बरु ९÷१० महिने सरकार नै ठीक रहेछ, केही न केही काम गरेरै जान्थ्यो भन्न पनि थालेका छन् । त्यसैले अनावश्यक भाषण र आदर्शका कुरा गर्नुभन्दा जनताको जीवन छुने गरी काम गर्दै आगामी निर्वाचनमा पनि पार्टी ठूलो बनाउने गरी काम गर्ने हो भने नेकपालाई फाइदै हुन्छ तर निर्वाचनका बेला साना कुरा गरेर जनतासँग झुक्ने अनि सरकार बनेपछि अहंता प्रदर्शन गर्ने स्वभाव र व्यवहार कसैका लागि पनि फलदायी हुँदैन ।

प्रतिक्रिया दिनुहोस्