तारजाली बुनेर मनग्य आम्दानी



धनवीर दाहाल,रुकुम ।
नेपाली मात्र कामको लागी भारत तथा अन्य खाडी मुलुकमा गइरहेको हामी पाउँछौं । तर अन्य मुलुकबाट पनि नेपालमा काम गर्न आएको देखेपनि नदेखेको जस्तै गरिन्छ । त्यतिमात्र होइन त्यस्ता खवरहरु सार्जजनिक भएको पाइँदैन ।

रुकुमको दुर्गम गाँउमा भारतबाट आएर काम गरेको हामीले भेट्यौं । भारतको विहार स्थित सुपोलबाट रुकुम पूर्वको तकसेरामा पुगेर दुई जना व्यक्तिले मनग्य आम्दानी गर्नुभएको छ । भारतबाट आएर तारजाली बुन्ने कामबाट दुईजना व्यक्तिहरुले राम्रो आम्दानी गर्नुभएको हो । ५० वर्षीय हवि र ४५ वर्षीय अबदुल हायले दिनको घाम र रातको निन्द्रा नभनी काम गरेर दैनिक प्रतिव्यक्ति दुईहजार पाँचसय रुपियाँ आम्दानी गर्ने गरेको बताउनुभयो ।

तुलसीपुर भू–संरक्षण कार्यालयले यहाँका लागि आवश्यक पर्ने तारजाली स्थानीय स्तरमै तयार गर्ने भन्दै आफूहरुलाई यता पठाएको हविले जानकारी दिनुभयो । दिउँसोमा तारको स–साना गुछी बनाउने र रातिमा त्यसबाट जाली बुन्ने गरेको उहाँले बताउनुभयो ।

‘दिउँसोमा गर्मी हुन्छ, बुन्न सकिँदैन ।’ उहाँले भन्नुभयो, ‘राति २ बजे देखि विहान ७ बजेसम्म बुन्ने काम गर्छौँ ।’ काम गर्ने स्थानमै सानो पाल टाँगेर बसेको र आफैँले खाना पकाएर खाने हुँदा पैसाको राम्रै बचत हुने गरेको हविको भनाई छ । दुईजनाले दिनमा करिब एकसय वर्गमिटर जाली बुन्ने गरेको र प्रतिवर्गमिटर आफूहरुले ५० रुपैयाँ रकम पाउने गरी सम्झौता भएको अबदुलले बताउनुभयो । यस स्थानमा एकसय ३ वटा तारजाली बुन्ने र त्यसपछि अर्को स्थानमा गएर काम गर्ने बताइको छ । आफूहरुको एउटा समूह रहेको र विभिन्न कार्यालय र आयोजनासँग यस्तो कामको खोजी गर्न नाइके तोकिएको उहाँहरुको भनाई छ ।

आवश्यकता पर्दा ५० जनासम्म व्यक्तिहरु परिचालन भएर काम गर्ने गरिएको छ । अहिले आफूहरुको रमजान चलिरहेकोले दिनभर खाली पेटमै काम गर्नुपर्ने बाध्यता समेत उहाँहरुले सुनाउनुभयो । ‘बिहान ३ बजे नै केही पकाएर खान्छौँ ।’ अबदुलले भन्नुभयो,‘त्यसपछि बेलुका ७ बजेमात्र खाना खान मिल्छ ।’ दिनभर पानी, चुरोट बिंडी समेत खान नमिल्ने भएकोले धर्म मानेर भएपनि जोखिम मोलेरै काम गरेको उहाँहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्