जुलियोले लिए संन्यास



लन्डन, (एजेन्सी)
ब्राजिलका पूर्वमिडफिल्डर जुलियो बाप्टिस्टाले फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
स्पेनिस क्लब रियल मेड्रिड र इंग्लिस प्रिमियर लिग क्लब आर्सेनलका पूर्वमिडफिल्डर बाप्टिस्टाले बिहीबार राति सामाजिक सन्जाल ट्वीटरमार्फत संन्यासको घोषणा गरेका हुन्।

उनले संन्यासको घोषणा गर्दै अब विश्राम लिने बेला भएको र अब नयाँ जीवन बिताउने लेखेका छन्। ब्राजिली साओ पाउलोबाट सन् २००० मा व्यावसायिक फुटबल यात्रा शुरू गरेका बाप्टिस्टाले रियल मेड्रिड, आर्सेनल, सेभिया, मालागा र क्लजबाट खेलेका थिए।

रियलबाट लोनमा आर्सेनल पुगेका बाप्टिस्टाले ३५ खेलमा १० गोल गरेका थिए। ३७ वर्षीय बाप्टिस्टाले ब्राजिलका लागि दुई कोपा अमेरिका कप २००४, २००७ फिफा कन्फेडेरेसन कप २००५ र २००९ को उपाधि जितेका थिए। यस्तै बाप्टिस्टाले रियलबाट सन् २००८ मा स्पेनिस ला लिगा जितेका थिए। रियल र आर्सेनलमा रहँदा उनले चोटसँग निकै संघर्ष गर्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्