मनोत्पलभित्रका भावनाहरू



रामसुन्दर देउजा

नेपाली साहित्यिक फाँटमा दिनानुदिन नयाँ–नयाँ कृतिहरू प्रकाशन हुने क्रम बढ्दो छ। संख्यात्मकरूपमा कृतिहरू बढ्नुभन्दा गुणात्मकरूपमा त्यसले कति महत्व राख्छ भन्ने कुराचाहिँ अर्थपूर्ण हुन्छ।

यसै क्रममा काभ्रेपलाञ्चोक जिल्लाको पुरानो ऐतिहासिक शहर नालामा जन्मेका हरिदास श्रेष्ठले हालै ‘मनोत्पल’ नामक फोटो कवितासङ्ग्रह प्रकाशनमा ल्याएका छन्। यस कृतिमा ४५ वटा कविता सङ्ग्रहित छन्। र, प्रत्येक कविताको अग्रभागमा रंगीन फोटोहरू समावेश गरिएको छ। बहुआयामिक प्रतिभाका धनी हरिदास श्रेष्ठ फोटो पत्रकार पनि हुन्। तसर्थ उनले आफ्नो क्यामेराभित्र कैद गरेका विविध खालका काष्ठका आकृतिहरूको फोटोहरूलाई कवितासँग संयोजन गरी कृतिभित्र समेटेका छन्।
देशको वर्तमान अवस्थालाई उनको मन–मस्तिष्कले ‘मौनता’ शीर्षकभित्र यसरी प्रकट गरेको देखिन्छ–
आज देश रोइरहेको छ
मुटुमा कम्पन भइरहेको छ
छाती दुखिरहेछ
कता कता भित्रभित्रै चस्का परिरहेको छ
खोइ आज मलाई के भयो ?
त्यो मैले बुझ्न सकिरहेको छैन
जहाँ हेरे पनि जता हेरे पनि शून्य छ।
यस फोटो कवितासङ्ग्रहभित्र विविध खाले भावनाहरू पस्किन पुगेका छन् हरिदास श्रेष्ठले। कतै मायाप्रेमका कुरा, कतै देशप्रेमका कुरा त कतै जीवन यात्राका कुरा समेटिएका छन्। उनी चलचित्रमा अभिनय पनि गर्छन्। उनी नाटकहरू लेख्छन् र निर्देशन पनि गर्छन्। त्यस्तै लघु चलचित्र पनि निर्देशन गर्छन्। उनको समाजप्रतिको दृष्टिकोण आदर्शमयी छ। त्यही आदर्श समाजको निर्माणमा कुनै न कुनै माध्यमबाट आफ्ना भावनाहरू प्रकट गर्न पुग्छन्। जीवनलाई असल गोरेटोतिर अगाडि बढाउन हरक्षण प्रयत्नरत छन् र अन्य नागरिकहरू पनि आदर्श जीवन बाँचून् भन्ने चाहना राख्छन्। उनका कविताहरू कतै सडक बालक भएर देखा परेका छन्, कतै प्रेम दिवस (भ्यालेन्टाइन डे) भएर चियाएका छन् त कतै आन्दोलनको राँको भएर छताछुल्ल पोखिएका छन्।

कृतिको शीर्षक पनि सान्दर्भिक देखिन्छ ‘मनोत्पल’। मन र उत्पल मिलाएर शीर्षक रचना गरेका छन्। मन भनेको हृदय र उत्पल भनेको नीलकमल अर्थात् हिलोको बीचमा ढकमक्क फुल्ने मन हुनुपर्छ। यसलाई यसरी पनि अथ्र्याउन सकिन्छ– वरिपरि फोहोर विकृतिको बीचमा पनि स्वच्छ मन। जनमत प्रकाशनले प्रकाशित गरेको यो कृति सङ्ग्रहणीय छ। केही व्याकरणीय त्रुटि आकर्षक साजसज्जाको ओझेलमा पर्न गएको देखिन्छ। समाजलाई चेतना छर्ने काममा कृतिले थप टेवा पुर्याउँछ। आगामी दिनमा पनि सुन्दर कृतिहरू प्रकाशित हुँदै जाऊन्।

प्रतिक्रिया दिनुहोस्