सिर्जनशील मित्र रामप्रसाद दाहाल



मोहन दुवाल

म्बन्ध हुनासाथ मनको चौघेराभित्र कसैलाई मन पराएर प्रेममय साइनोले बाँधिनु भनेको चानचुने कुरो होइन। धेरैजसोसँग सम्बन्ध हुन्छ तर मन टाढिएर जान्छ। तर रामप्रसाद दाहालसँगको मेरो सम्बन्ध त्यसरी टुटेर गएन। अझ भनौं, परिचय भएदेखि नै भनौं मेरो मनको मझेरीमा उनी थपक्क बसेको बस्यै छन्।

रामप्रसाद दाहालको नाम त मैले धेरै पहिलेदेखि नै सुन्दै आएको नाम भए तापनि औपचारिक रूपमा एउटा पुस्तकमार्फत यिनीसँग मेरो आत्मीय सम्बन्ध कायम भएको हो। पुस्तक सङ्ग्रह गर्ने मेरो बाल्यकालदेखिको रहर भएकै कारणले मेरो मनले उचित ठहर्याइएका पुस्तकहरू किनेर पनि सङ्ग्रह गर्ने बानी थियो। यही रहरकै क्रममा मैले बटुलें ‘सिङ्गो नेपाली भाषा, साहित्यको इतिहास र साहित्यकारहरूको परिचय’को पुस्तक। लेखक रामप्रसाद दाहालले उक्त पुस्तकमा मेरो बारे यसरी मूल्याङ्कन गरेर आफ्नो विचार पोखेका छन्– ‘बनेपामा जन्मन पुगेका मोहन दुवाल नेपाली साहित्यका चर्चित प्रतिभा हुन्।

शिक्षा र शिक्षक पेसामा संलग्न रहेर पनि प्रगतिशील सहित्यिक फाँटमा यिनले दिएको योगदान अविस्मरणीय रहेको छ। प्रत्येकजसो पत्रपत्रिकामा छाइरहने मोहन दुवालको नेवारी भाषामा पनि उत्तिकै योगदान रहेको छ। साहित्यिक ‘जनमत’ पत्रिकाका सम्पादक दुवालले बनेपा क्षेत्रको साहित्यिक उत्थानमा निकै योगदान पुर्याएका छन्।’ यस्तै–यस्तै भावना पोखेर उक्त ग्रन्थमा मेरो मूल्याङ्कन र विश्लेषण पोखे यिनले २०५४ सालमा नै। म उनीप्रति त्यसै क्रममा त्यसै बेलादेखि परिचितरूपले नभए पनि भावनात्मक परिचित थिएँ भन्नुपर्यो।

केही वर्षपछि उनीसँग मेरो भेटघाट भयो प्राइभेट क्याम्पसको सङ्गठनको क्रममा। कन्या क्याम्पस डिल्लीबजारका क्याम्पस प्रमुख, फूर्तिला जीउडालका व्यक्तित्व, कुराकानीमा कूटनीति रहनुका साथै शिष्टता प्रकट गर्न सिपालु व्यक्तित्व रामप्रसाद दाहालसँग दशौं वर्षअगाडि नै मेरो सम्बन्ध भयो तर हामीबीचको सम्बन्ध टुटेन अर्थात् सम्बन्धमा चिसोपन आएन।

उनी प्राइभेट क्याम्पसको नेतृत्वकारी प्राधिकार हुँदा पनि उनको व्यवहार र कार्यकौशलताले मलाई पछ्याइरह्यो। राष्ट्रिय सम्मेलन हुँदाताका उनले खेलेको भूमिका अझ मेरो मनमा रहिरहेको छ। मलाई लाग्छ, उनी एकजना शैक्षिक क्षेत्रमा देखा परेका थुपै्र नामहरूका पङ्क्तिमा एकजना राष्ट्रमा देखा परेका सक्षम र सबल नाम हुन्।

काठमाडौं उपत्यकाका थुपै्र क्याम्पसहरूमा नेतृत्वकारी भूमिका खेलेर शिक्षाजगत्मा आफ्नोपन र गतिशीलता देखाइसकेका यिनले प्राइभेट क्याम्पसको सङ्गठन निर्माणमा पनि आफ्नो साङ्गठनिक चातुर्यता प्रदर्शन गरेको सबैमा विदितै भएको कुरो हो। एकताका बनेपामा हुन लागेको राष्ट्रिय सम्मेलनमा मलाई बोल्नै पर्ने वक्तामा पारेर उद्घाटन समारोहमा मन्तव्य दिन लगाइएको क्षण मैले बिर्सिदिनु गाह्रो हुन्छ। नम्र, शिष्ट, फूर्तिला यिनको बानी–व्यहोरा मलाई निकै मन परेको कार्यकुशलता हो। शिक्षणसेवाका साथै साहित्य लेखनमा यिनले पुर्याएको योगदान उल्लेखयोग्य अर्को सुन्दर पक्ष हो। यिनी जहाँ–जहाँ शिक्षणसेवाका लागि पुगे त्यहाँ–त्यहाँ साहित्यिक क्रियाशीलता फुकाउन रुचाए। पाटनमा रहँदा होस्, कन्यामा नेतृत्व गर्दा होस्, या किष्ट कलेजका नेतृत्वमा पुग्दा होस्, साहित्यका लागि यिनले केही गर्न खोजिरहे।

रामप्रसाद दाहाल अविस्मृत नाम हुन् मेरा लागि। किनभने उनको क्षेत्र र मेरो क्षेत्र एउटै भएकोले धेरै कोण र दृष्टिबाट यिनलाई मैले छाम्न पाएँ। त्यही छमाइबाट मेरो मनमा उक्त ठम्याइ भएको हो। लागेको क्षेत्रमा लागिरहने। सङ्कटसँग जुधिरहने। सङ्घर्ष आइदिँदा मुकाबिला गर्न रुचाउने। दृढ निश्चयी भावका साथ आफ्नो कार्यमा लागिरहने। देखे, भोगेका अनुभूतिलाई टिप्दै साहित्यिक हरफहरू कोरिरहने एकजना जाँगरिला व्यक्तित्व हुन् रामप्रसाद दाहाल।

टाढाबाट मैले उनलाई हेरेको छु, नजिकबाट पनि मैले देखेको छु। त्यसैले उनीप्रति भन्नुपर्दा भन्न सकिन्छ उनी कर्मबाट उठ्दै, जुट्दै र भिर्दै आफूलाई सक्षम तुल्याउन सक्दाको नाम हो– रामप्रसाद दाहाल। सांस्कृतिक मूल्य र मान्यतालाई उच्च राख्दै, शैक्षिक क्षेत्रमा विस्तारित हुँदै राष्ट्रमा आफ्नो छवि देखाउन सक्षम व्यक्तित्व हुन्– रामप्रसाद दाहाल। उनीसँग धेरै कुराहरूमा सामीप्यता रहेजस्तै प्राइभेट क्याम्पसको सङ्गठनिक कार्यमा कहिल्यै उनीसँग मतभेद भएन।

अझ भनौं, थुपै्र पटकको राष्ट्रिय सम्मेलनहरूमा, सङ्गोष्ठीहरूमा यिनीसँगको मेरो सामीप्यता र मित्रता गाढा रहिरह्यो। काभ्रे बहुमुखी क्याम्पसको संस्थापन भएदेखि नै क्रियाशील रहेकै कारणले तत्कालीन क्याम्पस प्रमुख केदारनाथ प्रधान र प्रकाश शाक्यसँगसँगै पछिल्लोचोटि २०५६ सालदेखि रामप्रसाद दाहालसँग हाम्रो सम्बन्ध मित्रता र भाइचारामा परिणत भएको थियो।

यसरी भएको सम्बन्धमा हामीले एकले अर्कोलाई चिन्दै र चिनाउँदै आयौं। ‘ज्ञानगुनका कुरा’को २०५८ मा प्रकाशित मेरो विशेषाङ्कमा यिनले पुनः मेरोबारे यसरी लेखेर मेरो विश्लेषण गरे– ‘कठोर परिश्रमी, दृढ निश्चयी भावका धनी, शान्त, स्पष्ट व्यक्तित्व दुवालजीको क्षेत्र जन–उद्धार, जन–साहित्यमा केन्द्रित देखिन्छ। जनताकै हकहित र बनेपावासीकै सांस्कृतिक, नैतिक मूल्यलाई उच्च गरी शिक्षा र साहित्यको केन्द्रै बनाउन तम्सने ‘सुनकोशी साहित्य प्रतिष्ठान’का पनि उनी क्रियाशील व्यक्तित्व हुन्।

जनताका निमित्त लेख्ने यिनको लेखनको दृष्टिकोण, सोचाइ, यथार्थताको धरातल र परिवेशमा हुर्किएको हुन्छ। त्यो हुर्काइ, भोगाइ र सोचाइ जनहितमै केन्द्रित हुने साहित्यकार हुन् दुवाल, समाजसेवी हुन् दुवाल।’

माथि उल्लेख भएका टिप्पणीहरू उनले मप्रति पोखेका सद्दृष्टिका उद्गारहरू हुन्। राष्ट्रमा एक–अर्काको सत्–कार्यमा उचित मूल्याङ्कन र विश्लेषण भइदिएका खण्डमा नेपालीहरू कहिल्यै खुम्चिएर, दास मानसिकता बोकेर, कर्मलाई दोष दिएर, एक–अर्कालाई धिक्कारेर बाँच्नुपर्ने बाध्यता हुने थिएन तर आफ्नै बानी र कर्मकै कारणले हामी बिटुलिंँदै गएका हौं भन्नुपर्दा हामीलाई लज्जा लाग्नुपर्ने हो तर हामी लज्जा मानिरहेको छैनौं।

यस्तै थुपै्र कुराहरूमा र साहित्यिक मर्महरूमा हामी एक–अर्कामा मन साट्दै आएकै कारणले हाम्रा मनहरूमा कहिल्यै काला बादल लागेर हामीमाझ उदाएको घाम छेक्न दिएनौं।

जीवनलाई निरन्तर बगिरहने प्रक्रिया सम्झेर यात्रामा कुदिरहन रुचाउने यात्रीहरू भएकै कारणले हामी यात्रामा कुदिरह्यौं। सबैलाई बिउँझाउने मर्मस्पर्शी स्रोतका रूपमा साहित्य लेख्न रुचाउने इच्छाले समेटिएर हामी साहित्यिक पथमा पनि सँगसँगै देखा पर्दै आइरह्यौं। रामप्रसाद सरका अाँखामा ‘दुवाल सर’ र मेरो आँखामा ‘रामप्रसाद सर’ पर्यायवाची नामहरू भइरह्यौं। मलाई लाग्छ, शिक्षामा मात्र होइन साहित्यमा पनि निरन्तर देखा पर्दै आएको नाम भएकै कारणले मलाई रामप्रसाद दाहाल प्रिय सरका रूपमा र प्रिय साहित्यकारका रूपमा मनमा अल्झिरह्यो।

काठमाडौंमा रहेर निरन्तर शिक्षा र साहित्यमा आफ्नो दायित्व निर्वाह गर्दै आफूलाई सक्षम व्यक्तित्वका रूपमा देखाइरहन सक्नु यिनको रहर उदाहरणीय छ। लेखनमा आफ्नै पन र शैली बोकेर निरन्तर जाँगरिला बनिरहनु यिनको विशिष्टता बन्दनीय छ। राम्रो क्षेत्रमा दृष्टि फिँजाइरहन र असल हुने सङ्घर्षमा लागिरहन खोज्नु यिनको चरित्र उल्लेखयोग्य छ। टाढाबाट, नजिकबाट आफूले देखेअनुसारको दृष्टिबाट मैले रामप्रसाद सरलाई नियाल्न पाएको छु।
एकजना नेपाली साहित्यका ज्ञाता, अन्वेषक, लेखकका रूपमा चिरपरिचित दाहाल नेपालका एक उल्लेखयोग्य प्राध्यापक र शिक्षासेवी पनि हुन्। प्राइभेट क्याम्पस सङ्गठन निर्माण गर्ने सङ्घर्षमा पनि जुटेका यिनी शिक्षा क्षेत्रका एक उल्लेख गर्नलायकका व्यक्तित्व पनि हुन्। अर्काको कुरा सुनेर आफ्नो कुरा राख्न सक्ने व्यक्तित्व र धैर्यशील भएकै कारणले यिनले आफ्नो दायित्व सबै क्षेत्रमा सक्षम ढङ्गले निर्वाह गरे। अहिले पनि यिनी शिक्षा र साहित्य जगत्मा आफ्नो रेखाङ्कनहरू कोर्दै छन्। रामप्रसाद दाहाल आफ्नो उद्देश्यलाई पूर्ति गराउन र गर्न निरन्तर यात्रामा लागिरहेछन्, हामी देखिरहेछौं– यिनी यात्रामा फूर्तिले लाग्न खोजिरहेछन्। यात्रामा अझ स्फूर्ति बढोस्, विजय अवश्यम्भावी छ।

समाजका लागि आफ्नो बुद्धि र वर्कतले भ्याएअनुसारका शिक्षा एवम् साहित्यका माध्यमबाट ऊर्जाशीलता थप्दै र गर्दै जाने चाहना बोकेर जीवनका धेरै क्षणहरू खर्चिसकेका रामप्रसाद दाहालजस्ता कर्मठकर्मीले अझ निःस्वार्थ, प्रौढ ढङ्गले कार्य र कर्म गर्दै अनि अनुभूति पोख्दै देशका सक्षम व्यक्तित्व बन्न सकून्। म स्वरमा स्वर थप्न रुचाइरहेछु। यिनका शिक्षण सेवाका उत्सर्ग मन र पनहरू, साहित्य सिर्जना र अभियानमा देखाउँदै आएका कर्मठताहरू ऊर्जाशील छन्। राष्ट्रकै लागि समर्पित अनुहारका रूपमा राखेर म रामप्रसाद दाहाललाई आँखा र मनमा राख्न चाहिरहेँ।

प्रतिक्रिया दिनुहोस्