समाजको सद्भाव नखलबल्याऊ




रामेछाप जिल्लामा आत्महत्याको प्रमुख कारण वैदेशिक रोजगारी पनि रहेको तथ्यांकले देखाएको छ । रामेछाप त एउटा उदाहरणमात्र हो, देशका अधिकांश जिल्लाहरुमा वैदेशिक रोजगारीले आत्महत्याजस्तै थुप्रै समस्याहरु पैदा गरेको छ । समाजमा श्रीमान्ले श्रीमतीको हत्या गरेको लगायत समाजिक सम्बन्ध, सद्भाव र शान्ति नै खलबल्याउने गतिविधि हुँदै आएको छ । वैदेशिक रोजगारीका कारण मानसिक समस्या पनि देखिँदै आएको छ । रोजगारीका लागि लाखौँको संख्यामा युवाहरु विदेशिएका छन् । देशले रेमिट्यान्स पाए पनि समाजमा भने वैदेशिक रोजगारको प्रभाव भयावह छ ।

समाजको सद्भाव र शान्ति नै खलबल्याउने गरी बारम्बार विभिन्न घटना सार्वजनिक हुँदै आएका छन्, जसको धेरैजसो कारण वैदेशिक रोजगारी नै हुने गरेको छ । विदेशबाट रेमिट्यान्स मात्रै नभएर शिशु पनि भित्रिँदै आएका छन् । वैदेशिक रोजगारीका लागि विदेशिएका महिलाहरुले बच्चा बोकेर आउने गरेको समाचारहरु पनि सार्वजनिक भएका छन् । यसरी विदेशमा समस्या परेपछि उनीहरु बाध्य भएर यस्ता समस्याको सिकारमा पर्ने गरेका छन् । समाजमा त्यस्ता घटनाहरु देखेपछि भेद्भावसमेत हुने गर्दछ । यसरी समाजमा समग्ररुपमा वैदेशिक रोजगारले नकारात्मक असर पु¥याइरहेको छ । वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेद, हत्या, हिंसामा पनि वृद्धि आउँदै गएको छ ।

तसर्थ, रेमिट्यान्समा मात्र लोभिएर वैदेशिक रोजगारीबाट समाजमा सिर्जित विकृति र विसंगतिलाई कुनै वास्ता नगर्ने हो भने घर बालेर कोइला बेचेसरह हुनेछ । अतः स्वदेशमै रोजगारीको व्यवस्था गर्दै समाजमा पर्ने नकारात्मक असरको बारेमा सम्बन्धित सबै पक्षले गम्भीरताका साथ मनन गर्न आवश्यक छ ।
– समीप न्यौपाने, पोखरा ।

मान्छे किन यस्तो बन्दै छ ?
पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा दुई परिवारका नौजनाको हत्या भयो । १२ वर्षीया बालिकाले भागेर ज्यान बचाइन् । हत्या आरोपी स्वयम् झुन्डिएको अवस्थामा फेला परे । पारिवाररिक रिसइबीका कारण आङ नै सिरिङ्ग बनाउने हत्याकाण्ड भएको प्रारम्भिक अनुमान छ । यो प्रतिनिधि घटना मात्रै हो, पछिल्लो समयमा देशका विभिन्न भागमा हत्या र हिंसाका घटना बढेका छन् । हत्या र हिंसाका घटना बढ्नुमा सामाजिक विग्रह कारकको रुपमा देखिएको छ ।

पछिल्ला केही वर्षमा नेपालीको जीवनस्तरमा परिवर्तन आएको छ । रेमिट्यान्सका कारण धेरै नेपालीको जीवनस्तर फेरिएको छ । मानव सूचकांकले नेपालीको जीवनस्तरमा सुधार आएको देखाएको छ । सूचनाको पहुँच बढेको छ । अधिकांश नेपालीको हातमा मोबाइल फोन पुगेको छ । धर्मदेखि डराउने नेपाली समाज उदत्त पनि बनेको छ । हिजोका सामाजिक मान्यताहरु धर्खराएका छन् । नयाँ मान्यता र संस्कारले जरो गाडेको छ । आधुनिकताको नाममा पुराना मान्यताहरु भत्किँदा त्यसले सामाजिक संरचनामा नै नकारात्मक असर पारेको छ । अपराध हिजो पनि हुन्थ्यो र आज पनि हुँदै छ । तर, अपराधीको मनोवृत्तिमा आएको परिवर्तन र मानिसमा देखिएको हिंश्रक प्रवृत्तिचाहिँ डरलाग्दो देखिएको छ ।

हिजोको हाम्रो समाज आस्था र सहअस्तित्वमा अडेको थियो । आधुनिकताले नछोएको समाज परिवर्तनको गति सुस्त थियो । तर, एकाएक सूचना प्रविधिको बढ्दो प्रयोगले समाजलाई छिटो अगाडि दौडायो । संसारको कुनै कुनामा भएको घटना तत्काल थाहा पाउने वा कहीँ–कतै उत्पादित वस्तुको तत्काल उपयोग गर्न पाउने सुविधा उपलब्ध भयो । हिजो भारतीय वा बेलायती सेनामा हुने भर्ती वा रोजगारीको लागि भारत पस्ने प्रवृत्ति फेरिएर संसारको जुनसुकै ठाउँमा पनि पुग्न सक्ने क्षमता विकास भयो । भाडदौडपूर्ण समाजमा रेमिट्यान्सले केही योगदान त दियो तर यसले उपभोक्तावादी संस्कृति बढाउने काम ग¥यो । सहअस्तित्वमा बाँधिएको पारिवारिक संरचनामा रेमिट्यान्सले नै परिवर्तन गरिदियो । वैदेशिक रोजगारीले पारेको सकारात्मक प्रभावसँगै यसको नकारात्मक पाटोले पारिवारिक विखण्डनको बीउ रोप्यो ।

आक्कलझुक्कल सुनिने सम्बन्ध विच्छेदका घटनाहरु बढ्न पुगे । वैदेशिक रोजगारले पु¥याएको यो नकारात्मक पाटोबारे अनुसन्धान त भएको छैन तर यसले दीर्घकालीन समस्या उत्पन्न गराउन सक्ने सम्भावना भने देखिएको छ । यसै गरी हिजोको पुराना मान्यताहरु भत्किँदा र अन्धाधुन्ध विदेशी संस्कृतिका नकारात्मक कुराहरु अनुशरण गर्दा समाजमा नकारात्मक मान्यताले बढी प्रश्रय पाएको देखिएको छ । हिजो धर्म वा समाजदेखि डराउने मान्छेहरु कानुनको डर देखाउँदा पनि नडराउने भएको छ । आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने एकात्मक सोचको विकास सभ्य समाजको लागि घातक हो । अहिले नेपालमा देखिएको एकात्मक सोचले कालान्तरमा ठूलो दुर्घटना निम्त्याउने खतरा देखिएको छ ।

आत्मपरक सोचले सामाजिक भावनाको विकास गराउँदैन । आत्मकेन्द्रित व्यक्ति हिंश्रक बन्ने सम्भावना बढी रहन्छ । बदलिएको सामाजिक संरचनाले आमनेपालीलाई आफ्नो हितबारे मात्र सोच्ने मेसिनमा परिवर्तन गर्दै छ । सामाजिक सद्भाव, माया, प्रेम र करुणाका भावहरु मानिसबाट हराउँदे जाने खतरा बढेको छ । यो रोग नेपालमा मात्र नभएर विकशित देशहरुमा पनि देखिएको छ । साँचो त के हो भने, आधुनिकताको नाममा मौलाएको व्यक्तिवादी सोचले नेपालजस्ता देशहरु बढी प्रभावित हुने गरेका छन् । अतः सरकारले विकाससँगै, आधुनिकतासँगै मानिसको मनोविज्ञानमा भएको परिवर्तनलाई पनि बुझ्ने कोशिश गर्नुपर्छ । मानिसको मनोभावमा भएको परिवर्तनलाई बुझेर सही मार्गमा लगाउन सकिएन भने त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । सरकारले भौतिक विकाससँगै मानिसको मनोभावनालाई सही मार्गमा ल्याउने काम पनि सँगसँगै थाल्नुपर्छ ।
– गीता चौहान, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्