मकवानपुर संवाददातालाई चलचित्र पत्रकारिता पुरस्कार



हेटौंडा, (नेस)। चलचित्र पत्रकार संघ मकवानपुर मकवानपुर शाखाले संघको स्थापनाका दिन जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउने क्रममा यस वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुलीलाई पुरस्कृत गरेको छ।

पराजुलीलाई नगद ५ हजार र सम्मानपत्रबाट सम्मानित गरिएको हो। हेटौंडाबाट २०५२ सालदेखि कामना न्यूज पब्लिकेसन्स्का संवाददाता रहेका पराजुलीलाई मंगलबार हेटौंडामा सम्मान गरिएको हो। कार्यक्रममा चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई सम्मान गरिएको छ। उनलाई नगद ११ हजार १ सय ११ रुपियाँसहित सम्मान गरिएको हो।

संघको मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश–३ संसदीय दलका नेता तथा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, पँर्वमहासचिव पोषण केसी, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष प्रताप विष्ट, चलचित्र पत्रकार संघका केन्द्रीय पूर्वकोषाध्यक्ष निराजन भण्डारी, वान केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईं र पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि हुमागाईंलगायतले सम्मान र पुरस्कार प्रदान गरेका थिए। सोही अवसरमा द्वन्द्व निर्देशक तथा अभिनेता राजेन्द्र खड्गीलाई चलचित्रकर्मी सम्मानबाट सम्मान गर्ने निर्णय गरिए पनि खड्गी पारिवारिक समस्याले कार्यक्रममा उपस्थित हुन असमर्थ भए।

प्रतिक्रिया दिनुहोस्