दलाल पुँजीवादकै प्रोत्साहन किन ?




समाजवादी यात्राका अभियन्ताहरू नै दलाल पुँजीवादलाई प्रोत्साहित गरिरहेका छन्। कम्युनिस्ट पार्टीको सामान्य कार्यकर्ता पनि निजी सम्पत्तिको मोहबाट मुक्त हुनुपर्छ भनिन्छ। तर, हामीकहाँ नेतृत्व तहमै रहेका नेताहरू निजी सम्पत्तिप्रति कति आशक्त छन् भन्ने कुरा विभिन्न घटना र सन्दर्भहरूले बताइरहेका छन्। सामाजवाद निर्माणको मुख्य आधार भनेको सहकारितामा आधारित अर्थ व्यवस्था, समुदाय केन्द्रित विकास, निर्माण हो।

शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता जनताका आधारभूत आवश्यकता नै परिपूर्ति नभएको स्थिति एकातिर छ भने यी आधारभूत आवश्यकतामाथि व्यापारीकरणको चरम प्रभाव छ। आधारभूत विषयहरू नै सामाज केन्द्रित छैनन्, सामाजिक स्वामित्वमा ती विषय छैनन् भने यही स्थितिमा टेकेर भोलि–पर्सि नेपालमा समाजवाद आउँछ भन्ने कुरा कि हाँस्नका लागि, कि रुनका लागि मात्रै काम लाग्ने विषय हो। कार्यान्वयन जटिल छ।

एकातिर सरकार नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने कुरालाई सहज बनाउने भनेर लागिपरेको छ, अर्कातिर स्वदेशमै रोजगारी सिर्जना गरेर विदेश पलायन हुने जनशक्तिलाई यतै रोक्ने नीतिमा पनि छ। यो दुनियाँमा मर्ने र बाँच्ने दुबै नीति उत्तिकै प्रभावकारीरूपमा अवलम्बन गरिएको कहीँ छैन, नेपालबाहेक। युवालाई विदेश जाने बाटो सजिलो पनि यही सरकारले बनाउन खोज्दै छ, यतै रोजगारी सिर्जना गर्न पनि सरकार उत्तिकै तल्लिन छ भनिँदै छ।

तर, सरकारको नीति के हो रु युवालाई विदेश हैन, यतै रोजगारी दिइन्छ भनिएको हो भने वैदेशिक रोजगारीमा अझ कडाइ हुनुपर्ने हो। हैन, यहाँ रोजगारीको सम्भावना छैन भनेर विदेश नै पठाउने गरी अझ जोडतोडले लाग्नुपर्ने हो।

यस्तो अन्यौलग्रस्त कार्यशैलीले समाजवाद आउँछ भनेर पत्याउन गाह्रो छ। फेरि, युवा जनशक्ति देशबाट पलायन भएर आउने समाजवाद कस्तो हुन्छ रु यो पनि गम्भीर प्रश्न हो। देश निर्माणमा युवाको सहभागिता हुँदैन, भोलि खाने बेलामा आएर बसिदिए पुग्नेखालको समाजवाद ल्याउन लागिएको हो भने त्यस्तो समाजवादचाहिँ नआएकै राम्रो हुन्छ।
– भरोसा सुवेदी, हाल अमेरिका।

प्रतिक्रिया दिनुहोस्