अब फिल्मको पनि बीमा



फिल्म निर्माणका क्रममा कलाकार, प्राविधिक तथा प्रविधिमा भैपरी आउन सक्ने समस्याका लागि फिल्म प्रोजेक्ट बीमाको व्यवस्था गरिएको छ।
सोमबारबाट फिल्म प्रोजेक्ट बीमा औपचारिकरूपमा शुरू भएको छ। नेपाल चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्स्योरेन्सबीच सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यसको सम्झौतापत्रमा हस्ताक्षर भएपछि यो बीमा योजना शुरू भएको हो। सम्झौतापत्रमा निर्माता संघका अध्यक्ष आकाश अधिकारी र इन्स्योरेन्सका सीईओ एनपी प्रधानले हस्ताक्षर गरेका हुन्।
सम्झौताबमोजिम अब निर्माताले फिल्म रिलिजअघिसम्मका लागि फिल्मको इन्स्योरेन्स गरेपछि फिल्म निर्माणका क्रममा कुनै क्षति भए लुम्बिनी इन्स्योरेन्सले बेहोर्नेछ। ‘फिल्म निर्माणका क्रममा कलाकार, प्राविधिक तथा प्रविधिमा भैपरी आउने कुनै पनि समस्याका लागि फिल्म प्रोजेक्ट बीमा लागू गरिएको हो।’ –सम्झौतापत्रमा हस्ताक्षर गरेपछि निर्माता संघका अध्यक्ष अधिकारीले भने। उनले यो बीमा बाध्यकारी नभएको पनि प्रस्ट पारे। ‘यो नितान्त निजी र स्वैच्छिक बीमा हो। त्यसैले यसमा अनिवार्य भन्ने कुरा छैन। यदि कोही निर्माताले दुर्घटना बीमा मात्र गर्छु भनी संघमा आवेदन दिन्छ भने यो बीमासहित त्यसभित्रै दुर्घटना बीमा पनि हुन्छ।’ –उनले प्रस्ट पारे।

हाल फिल्म निर्माताले चलचित्र विकास बोर्डमा १३ हजार ५ सय रुपियाँ तिरेर बीमा समितिमा फिल्म छायांकनको अवधिभर तीन महिनाका लागि कलाकार र प्राविधिकको ५ लाखसम्मको दुर्घटना बीमा गराउँदै आएका छन्। फिल्म प्रोजेक्ट बीमा भने फिल्म रिलिज नहुँदासम्मका लागि भएको उनले जनाए।

सम्झौतामा उल्लेख भएको कागजपत्र र आवश्यक रकम बुझाएपछि बीमाअनुसारको क्षतिपूर्ति प्राप्त गर्न सकिने पनि अधिकारीले बताए। इन्स्योरेन्सका सीईओ प्रधानले यो बीमाले फिल्मकर्मीलाई राहत दिने बताए। ‘फिल्म छायांकनमा हुने हानिको इन्स्योरेन्स कम्पनीले एक महिनाभित्र भुक्तानी गर्नेछ। त्यसपछि ल्याबको कामको बीमा गरेको छ भने त्यो अवधिको क्षति पनि कम्पनीले बेहोर्नेछ।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्