गुठी संस्थानसँग ६ लाख रोपनी बढी जग्गा



ईश्वरराज ढकाल, काठमाडौं
गुठी संस्थानसँग देशभर ६ लाख २८ हजार ३ सय २० रोपनी जग्गा भए पनि उसको आफ्नै स्वामित्वमा भने केही हजार रोपनी मात्रै रहेको पाइएको छ । संस्थानको स्वामित्वमा मठमन्दिर, पाटीपौवा, सत्तल बगँैचा र खाली जग्गा गरी पहाड र उपत्यकामा ३ हजार रोपनी र तराईमा २ हजार बिगाहा रहेको छ ।
गुठी संस्थानको जग्गासमेत भूमाफियाले कब्जा गरेको जानकारी आउन थालेपछि जग्गाको विवरण तयार गरिएको उक्त संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाले बताउनुभयो ।

संस्थानका अनुसार सबैभन्दा बढी तराईको जनकपुर, महोत्तरी तथा उपत्यकामा गुठीको जग्गा बढी अतिक्रमण भएको छ । उपप्रशासक एवं प्रवक्ता थपलियाले क्लब, विभिन्न संघसंस्था र राजनीतिक पहुँचको आधारमा दर्जनौ रोपनी जग्गा अतिक्रमित भएको बताउनुभयो ।

अतिक्रमणको चपेटामा रहेको जग्गा संरक्षण गर्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘हालै हामीले जनकपुरका करिब १ दर्जन पोखरीको किनारमा अतिक्रमण गरी बसेका २ सय ५० परिवारलाई हटायौँ । महन्तको आदेशमा बस्दै आएकालाई हटाएपछि जनकपुरमा गुठीको जग्गा संरक्षण हुन थालेको छ, अब उपत्यकामा पनि जग्गा संरक्षण गर्ने तयारी गरेका छौँ ।’

जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन, स्थानीय निकायको सहयोग भए गुठीको जग्गा संरक्षण गर्न सकिने धारणा राख्दै उपप्रशासक एवं प्रवक्ता थपलियाले त्यसका लागि सबै निकायको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

आफ्नै स्वामित्वमा ५ हजार रोपनी मात्रै

तथ्याङ्कअनुसार उपत्यका र पहाडमा ५ लाख ६१ हजार ९ सय ९० रोपनी र तराईमा ६६ हजार ३ सय ३० रोपनी जग्गा रहेको छ । त्यसमध्ये पहाड र उपत्यकामा मोही लागेको जग्गा २ लाख ४२ हजार ६ सय ७ रोपनी र तराईमा यस्तो जग्गा २ हजार १ सय ९६ रोपनी रहेको छ ।

प्रवक्ता थपलियाले जग्गाको विषयमा अध्ययन थालिने जानकारी दिँदै भन्नुभयो– ‘कहाँ कति जग्गा रहेको छ भन्ने विषयमा तथ्याङ्क भएपछि ती जग्गा कस्तो अवस्थामा छ भन्ने विषयमा संस्थानलाई जानकारी छैन । ६९ जिल्लामा गुठीका सम्पत्ति छन । तर ७ जिल्लामा मात्रै कार्यालय रहेको अवस्थामा अन्य जिल्लाका जग्गाके अवस्थाबारे जानकारी लिन सकिएको छैन ।’

प्रवक्ता थपलियाले शाखा कार्यालय नभएको जिल्लामा मालपोत कार्यालयको सहयोगमा संरक्षण गर्ने काम भइरहेको बताउनुभयो । उहाँले आफ्नो स्वामित्वमा रहेको जग्गाको विषयमा थप अध्ययन गर्ने जानकारी दिँदै भन्नुभयो– ‘गुठीसँग लाखाँै रोपनी र बिगाहा जग्गा छन् त्यसलाई व्यवस्थित गर्ने योजना बनाएका छौं ।’ संस्थाले आफ्नो जग्गा कब्जा गरेको विषयमा समेत अनुसन्धान थाल्ने तयारी गरेको छ ।

प्रवक्ता थपलियाका अनुसार कुत र मालपोतबापत करिब ९ करोड र ठेक्काबापत करिब ३ करोड रुपियाँ आम्दानी हुने हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्