दुवै धूर्व दौडिएका बेई बिन



कविरस शर्मा
संसार चमत्कारले भरिएको छ । त्यसमाथि पनि मान्छेको साहस र दृढसंकल्पले त असम्भव शब्दलाई नै ओझेलमा पार्न थालिसकेको छ । हामी संसारमा भएका कयौ अनौठो क्रियाकलापको साक्षी बनिरहेका छौं । त्यस्तै गर्नेमध्येका एक साहसिक ब्यक्ति हुन् चीनको गुईझाओ प्रान्तका अल्ट्रा धावक बेई बिन ।

हुनत अल्ट्रा म्याराथनको कुरा गर्दा विश्वविख्यात नेपाली चेली मीरा राईलाई नसम्झिने शायदै कोही नेपाली खेलकूदप्रेमी होला । विश्वस्तरको अल्ट्रा म्याराथनमा स्वर्ण पदक जितेर नेपालको नाम विश्वमाझ फैलाएका उनको योगदान अतुलनीय छ । तर ध्रुवीय दौड पूरा गरेका छिमेकी राष्ट्र चीनका ४८ वर्षीय बिन पनि कुनै चमत्कारी भन्दा कम छैनन् । मीरा जस्तै बिन अन्तर्राष्ट्रिय पदकधारी खेलाडी भने होइनन् । तर उमेरले ५ दशक छुन लाग्दा पनि दौडेर नै उनले दक्षिणदेखि उत्तरी ध्रूर्वसम्मको दूरी पूरा गर्नुलाई कुनै चमत्कार नै भन्दा फरक नपर्ला ।

केही समय अघि चीनका धावक बिनले बनाएको यस्तो अनौठो कीर्तिमान विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमार्फत् प्रेषित भएपछि एकाएक चर्चा चुलिएको थियो । अझ चिनियां सञ्चारमाध्यमले त बिनको उक्त कार्यको खुलेरै प्रशंसा गर्न कुनै कञ्जुस्याई गरेन । बिनले उत्तरी ध्रुवदेखि दक्षिणी ध्रूव अर्थात् एन्टार्टिकादेखि आर्कटिकसम्मको दूरी दौडेर नै तय गरेको जनाइएको थियो । यस्तो गर्ने सामर्थ भएकाहरु विरलै मात्र भेटिन्छन् । यो एउटा अदम्य साहस र ढृढसंकल्पले भरिपूर्ण गाथा पनि हो । विभिन्न कठिन परिस्थितिका बावजूद चुनौतीलाई पन्छ्याउंदै अन्ततः ऐतिहासिक सफलता हासिल गर्ने उदाहरणीय ब्यक्ति बनेका छन् बिन ।

सन् २०१८ को फेब्रुअरी २५ मा बिनले एन्टार्टिकामा रहेको चीनको चाङचेंग अर्थात् ग्रेटवाल स्टेसनबाट दौड सुरु गरेका थिए । सो यात्रा कुल ४ सय ३३ दिनसम्म चल्यो । त्यसक्रममा बिनले २४ हजार १ सय १० किलोमीटरको दूरी पूरा गरे । अर्थात् हरेक दिन औसत ५६ किलोमीटर उनी दौडिएका थिए । २४ हजार १ सय १० किलोमीटरको दूरी तय गर्नु भनेको लगभग ५ सय ७४ वटा म्याराथन प्रतियोगिता बराबर हुन आउँछ । आधिकारिक रुपमा एउटा फुल म्याराथन प्रतियोगिताको दुरी ४२ किलोमीटर हुन्छ ।

त्यसक्रममा उनले उत्तर र दक्षिण अमेरिका महादेशमा अवस्थित १३ देशका ६५ सहर पार गरेका थिए । उनले अमेरिका, क्यानाडा, चिली, मेक्सिको, ग्वाटेमाला, कोस्टारिका, अर्जेन्टिना, पेरू, कोलम्बिया, होन्डुरस, निकारागुआ, पानामा र इक्वेडोरमा दौडेका थिए । हरेक दिन औसत ५६ किलोमीटर दौड्नेक्रममा बिनले कतिपय स्थानमा माइनस १० डिग्रीभन्दा माथि र कतै ४५ डिग्री सेल्सियसभन्दा माथिसम्मको उतारचढावपूर्ण तापक्रम छिचोलेका थिए ।
त्यसअघि आफ्नो लक्ष्य पूरा गर्न पूर्वअभ्यास स्वरुप सन् २०११ मा पनि बिन १० हजार किलोमीटर दौडेका थिए । त्यसक्रममा उनले ६ वटा देश पार गरेका थिए । ध्रुवीय यात्राको पूर्वअभ्यासको रुपमा रहेको उक्त दौड उनले १ सय ५० दिनमा तय गरेका थिए ।

आफ्नो लक्ष्य पूरा गरेपश्चात् उनले आफ्नो अनुभव सञ्चारमाध्यममा सुनाउने क्रममा दैनिक ६०÷७० किलोमीटर दौडिनु आफ्नो सफलताको सूत्र भएको खुलासा गरेका थिए । बिनले बताए,–“म करीब ३ वर्ष देखि यो चुनौतीका लागि तयारी गरिरहेको थिए । सन् २०११ मा पनि मैले यसरी नै एक पटक १० हजार किलोमीटर दूरी तय गरिसकेको छु । त्यसैले मलाई बिश्वास थियो, म एउटा ध्रुवदेखि अर्को ध्रुवसम्मको दूरी पार गर्न सक्छु भनेर । त्यसपछि ६० देखि ७० किलोमीटरको दौड मेरो दैनिक अभ्यासको तालिका बन्न थाल्यो ।

ध्रुवदेखि ध्रुवसम्मको परिस्थितिहरु विपरित रहने गर्छ । मौसम, तापमानको उतारचढावलाई सहजै स्वीकार्न सकंू भनेर मलाई खाली आफ्नो शरीरको सहनशक्ति राम्रो बनाउनु थियो । उक्त चुनौतीपूर्ण यात्राका दौरान म बिहान ५ बजेदेखि दौडिन शुरू गर्थे र बिस्तारै केही स्थानमा रोक्दै रातको ८ देखि ९ बजेसम्म दौडी नै रहन्थे । त्यसपछाड़ी डिनर र एक घन्टाको फिजिकल थेरापीपछि आराम र अर्को दिन फेरि उही तालिका ।”

दौडका क्रममा उनको रेखदेखका लागि एउटा टोलीले गाडीमा स्कर्टिङ पनि गर्थे । उनले भने,–“मेरो स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी मसँगै कारसहितको एउटा टिम पनि हिडिरहन्थ्यो । मध्य अमेरिकामा त यस्तो अवस्थासम्म आयो की दौडिन त परको कुरा, हिड्दा नै पसिना बगेर धेरै थकान महसूस हुन्थ्यो । डिहाइड्रेसनका कारण शरीर निकै कमजोर बनेको थियो । यसैगरी अर्जेन्टिनामा त मलाई करीब ४० दिनसम्म हावा चल्ने विपरीत दिशामा दौडिनु परेको थियो ।”

त्यस्तो अस्थिर परिस्थितिहरुबाट गुज्रेका उनी एक समय त नाजुक अवस्थामा समेत पुगेका थिए । उनलाई दौड नै परित्याग गरौ कि भन्ने पनि लागेको थियो । तर उनले आफूलाई सम्हाले अनि सम्झाए पनि । उनलाई आफ्नो स्तर त्यस्तो मुश्किलभन्दा पनि धेरै माथि हो भन्ने लाग्यो । अनि मनमनै प्रण गर्दै यो संसार नाप्न उठ्नु नै पर्छ भनेर फेरि यात्रालाई निरन्तरता दिए । लक्ष्य पूरा भएपश्चात् सञ्चारमाध्यमलाई आफ्नो अनुभव साट्ने क्रममा उनले यस्तो पनि भन्न भ्याए,–‘म चाहन्छु पुरै विश्वभर विशेषगरी अमेरिकीहरुमा, मलाई देखेर यस्तो सन्देश फैलियोस् कि चिनियांको क्षमता कस्तोसम्म हुन्छ भनेर । हामीसँग सुन्दरता छ अनि हिम्मत पनि ।“

प्रतिक्रिया दिनुहोस्