आशलाग्दो खेलाडीको भविष्य कता अब ?



फिरोज राजोपाध्याय
नेपाली जुडोमा फुपु ल्हामु खत्रीको नाम एक राम्रो र उत्कृष्ट खेलाडीकोे रुपमा लिइन्छ । उनले नेपाललाई १२औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक दिलाएकी थिइन् । त्यस्तै रियो ओलम्पिक २०१६ मा चार मिनेट विपक्षीसँग टिकेका खेलाडी पनि हुृन् उनी । त्यसैले पनि उनलाई नेपालको उत्कृष्ट खेलाडीमध्ये एकमा गणना गरिन्छ । तर अहिले समयले अर्कै मोड लिएको छ । उनलाई निलम्बन गरिएको छ । त्यो पनि सन् २०२० सम्म ।

यस हिसाबले उनको लगातार दोस्रो पटक ओलम्पिकमा खेल्ने सपना टुहिएको छ । त्यति मात्र होइन, उनले आफ्नै देशमा हुने १३औं दक्षिण एशियाली खेलकुदमा समेत खेल्नबाट वञ्चित हुनु परेको छ । विगतमा सफल खेलाडीको छवि बनाइसकेका फुपू जस्ता खेलाडीको लागि यो निकै कठिन स्थिति हो । यसले फुपुको भविष्य कता जाने हो त्यो भविष्यकै गर्भमा रहेको छ । अहिलेको अवस्था हेर्दा भने फुपुले जुडोमा पुनरागमन गर्न निकै संघर्ष गर्नु पर्ने दृश्य छर्लङ देखिएको छ ।

फुपुलाई जापानमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गत् आइओसी सोलिडारिटी कोर्सका लागि छात्रवृति प्रदान गरिएको थियो । नेपाल ओलम्पिक कमिटी र नेपाल जुडो संघले उनको लागि यो अवसर जुराइदिएको थियो । गत अप्रिलमा उनी जापानको कोदोकान (जुडो खेलको जन्मथलो) मा प्रशिक्षणमा रहेकी थिइन् । तर उनी बीचैमा कोर्स छाडेर आएपछि जुडो संघले छलफलपछि उनलाई निलम्बन गरेको हो ।

जापानको कोदोेकानमा फुपुले गत अप्रिलदेखि प्रशिक्षण लिँदै आएकी थिइन् । त्यहाँ २०२० मा जापानमै हुने ओलम्पिककै लागि भनेर उनलाई प्रशिक्षणमा संघले पठाएको थियो । त्यहाँ ५ वटा स्टेकहोल्डर जापान ओलम्पिक कमिटी, कोदोकान, अल जापान जुडो महासंघ, युनिभर्सिटी अफ ल र कोचकै सहयोगमा फुपुसहित ५ जनालाई विशेष प्रशिक्षण दिइएको थियो । जसमा फुपुसहित अन्य चार जना जापानी खेलाडी थिए ।

फुपुले जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचमै प्रशिक्षण छाडेको र कार्यक्रम अवधिभर जापानमा प्रशिक्षण रहेको बेलाको प्रतिवेदनको आधारमा र जापान ओलम्पिक कमिटीले उक्त प्रशिक्षण बन्द गरेको पत्र र संघको स्वीकृति, उद्देश्य र हित विपरित कार्य गरेकोले उनलाई निलम्बन गरेको आधार संघले प्रस्तुत गरेको छ ।

संघका अध्यक्ष दिपकहर्ष वज्राचार्यको अुनसार त्यहाँबाट ४३ पानाको प्रतिवेदन र कोचको १३ पानाको प्रतिवेदन संघलाई प्राप्त भएको थियो । उनले बताए—‘यही प्रतिवेदनकै आधारमा हामीले कारवाही गरेका हौं । यसले गर्दा मनिता श्रेष्ठ प्रधानलाई त्यहाँ प्रशिक्षणका लागि पठाउन हामी अलमलमा परिरहेका छौ । उनको पनि जापानमा प्रशिक्षण लिने फुपुसँगै कुरा मिलेको थियो । तर उनी यहाँ १० कक्षामा पढिरहेकोले त्यतिबेला मिलेन । अहिले यो कार्यक्रम नै बन्द गरेको पत्र हामीलाई प्राप्त भएको छ । जे जस्तो भएपनि उनी आशलाग्दो खेलाडी हुन् । उनीबाट हामीलाई पदकको धेरै आशा थियो । तर के गर्नु मति बिग्रिएपछि ।

फुपुले सन् २०१३ मा चीनको नान्जिङमा भएको युथ एसियन गेम्समा सहभागिता जनाएकी थिइन् । त्यसपछि उनलाई हंगेरीमा प्रशिक्षण गर्न पठाइएको थियो । त्यहाँ उनले राम्रो प्रदर्शन गरेको र हंगेरीकै खेलाडीलाई हराएपछि उनलाई नेपाली जुडोमा उदीयमान खेलाडीको रुपमा स्थापित गरायो । उनले सावित पनि गरिन् १२औं सागमा । भारतीय खेलाडीलाई हराएर उनले आफ्नो तौलसमूहमा स्वर्ण जितिन् । तर उनले जापानमा लिएको प्रशिक्षणले भने गत वर्ष इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा उनलाई पदक दिलाउन सकेन ।

फुपुले भनिन्—“मैले यो क्षेत्रमा १३ वर्ष बिताइसकेकी छु । मैले कहिल्यै राष्ट्रलाई नराम्रो गर्न खोजेको छैन । मलाई त्यहाँ बस्ने वातावरण नै भएन भने कसरी प्रशिक्षण लिनु । मेरो भावना कसैले बुझिदिएन । मैले पटक पटक मेल गरेकै हु । हेरौं के हुन्छ भविष्यमा ।”

प्रतिक्रिया दिनुहोस्